बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २२ जना विद्यार्थी घाइते भएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी सवार बस धान बोकेको ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान परासीबाट विद्यार्थी लिएर भैरहवा हुँदै विद्यालयतर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेज र ११ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
बिहानको समयमा हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।
