बुटवलमा जसपा नेपालको निर्वाचन प्रचार कार्यालय सञ्चालन

मेचीकाली संवाददाता

२२ माघ २०८२, बुधबार
372 shares

मिलन गाहा

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा निर्वाचन प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ । प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जसपा नेपालकी केन्द्रीय सदस्य साबित्रा बिकले नेपालको वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र संविधानको पुनर्लेखन आवश्यक रहेको बताइन् । उनले जातीय पहिचानको आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने जसपा नेपालको प्रमुख माग रहेको उल्लेख गरिन ।

जातीय जनसंख्याको आधारमा राज्य पुनर्संरचना गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुका साथै मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति तथा पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित गर्नु आजको आवश्यकता भएको बिकको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू निलमकुमार यादव, बिजया खत्री केसी, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव तथा थरुहट–तराई प्रदेशका उपाध्यक्ष ब्यासमुनी चौधरीलगायतले मन्तव्य राख्दै राज्यका हरेक प्रकारका विभेद अन्त्य गर्न आवश्यक रहेको औँल्याए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट जसपा नेपालका उम्मेदवार दीपक गुरुङले आफ्नो उम्मेदवारी युवाहरूका रोजगारी, स्वास्थ्य, खेलकुद र शिक्षामा आम नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यका साथ अघि बढाइएको बताए । निर्वाचित भएमा भौतिक विकाससँगै मानव संसाधन विकासलाई प्राथमिकता दिने कानुन निर्माण गर्ने उनको प्रतिबद्धता थियो ।

युवाहरूका समस्या समाधानका लागि सक्रिय रूपमा लागिपर्ने र सुशासन तथा भ्रष्टाचारमुक्त समाज निर्माणमा काम गर्ने उनले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जसपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता भएको पार्टीले जनाएको छ ।