सैनामैनालाई सांस्कृतिक–पर्यावरणयुक्त सहरका रूपमा विकास गरिनेः पूर्वअर्थमन्त्री पौडेल

मेचीकाली संवाददाता

२५ माघ २०८२, शनिबार
16 shares

सैनामैना । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सैनामैनालाई सांस्कृतिक र पर्यावरणमैत्री सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । बुद्धकालीन महत्व बोकेको प्राचीन वास्तुकला र सभ्यताको ऐतिहासिक बस्तीका रूपमा चिनिँदै आएको सैनामैनाको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संरक्षण र प्रवद्र्धन गर्दै दिगो र व्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध कामको सुरुआत भइसकेको स्मरण गर्दै नेता पौडेलले अधुरा योजनाहरूलाई पूर्णतामा पु¥याउन विशेष ध्यान दिइने बताएका हुन् ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै शनिबार सैनामैनाका विभिन्न स्थानमा स्थापना गरिएका प्रचार कार्यालयहरूको उद्घाटन समारोहमा बोल्दै नेता पौडेलले अधुरा काम पूरा गर्ने, नयाँ योजनाहरू अघि बढाउने र सैनामैनालाई व्यवस्थित सांस्कृतिक सहरका रूपमा विकास गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरे । विकासलाई जनताको जीविकासंग जोड्ने, बस्तीहरुको व्यवस्थित र सुरक्षित आबाससंग जोड्ने उल्लेख गर्दै उनले दिगो र पर्यावरणमैत्री विकास नै अबको उपयुक्त विकास रहेको बताए । सैनामैना नगरपालिकाका वडा नं. १, २, ३ र ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्दछन् भने बाँकी वडाहरू क्षेत्र नं. ५ मा पर्दछन् । ११ वटा वडा रहेको सैनामैनामा नेकपा एमाले क्षेत्रीय निर्वाचन परिचालन कमिटीको आयोजनामा सबै वडामा चुनाव लक्षित प्रचार कार्यालय सञ्चालन गरिएको छ ।

शनिबार रानीबगिया, सोरौली, पर्सावल र लुम्बिनी रोडमा स्थापना गरिएका क्षेत्र नं. २ का प्रचार कार्यालयहरूको अलग–अलग समारोहबिच उद्घाटन गर्दै नेता पौडेलसहित एमाले नेताहरूले समग्र रुपन्देहीलाई नै विकासको ‘रोल मोडल’ बनाउने गरी योजनाबद्ध रूपमा काम गरिने उल्लेख गरे । सो अवसरमा नेता पौडेलले सैनामैनाको छुट्टै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै गाउँबाट नगरमा रूपान्तरण भएको यस क्षेत्रलाई सांस्कृतिक तथा ऐतिहासिक पहिचानसहितको विशेष व्यवस्थित बस्तीका रूपमा विकास गर्न आफूहरू केन्द्रित रहने बताए ।

सैनामैनामा केही समयअघि उत्खननका क्रममा फेला परेको बोधिसत्व पद्मपाणीको मूर्तिलाई बुद्धकालीन महत्वको मानिन्छ । पुरातत्व विभागले उक्त मूर्तिलाई १४ औँ शताब्दीमा निर्माण भएको प्राचीन वास्तुकलाको नमुनाका रूपमा मान्यता दिएको छ । बुद्धको त्रिभंग आकारको उक्त मूर्ति सैनामैनाको रानीबगिया क्षेत्रमा फेला परेको हो ।
यस क्षेत्रका रानीकुवा, राजाकुवालगायतका प्राचीन सम्पदाहरू पनि बुद्धकालीन समयका जीवित प्रमाणका रूपमा लिइन्छन् । ती सम्पदाको व्यवस्थित र वैज्ञानिक उत्खनन गर्न विज्ञहरूले आग्रह गर्दै आएका छन् ।

यस्ता ऐतिहासिक प्रमाण र सम्पदाको संरक्षण गर्दै सांस्कृतिक पहिचानसहितको व्यवस्थित बस्ती निर्माणमा आफूहरू केन्द्रित रहने नेता पौडेलले स्पष्ट पारे । अव्यवस्थित बसोबासीको समस्या, भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने चरणमा पुग्नै लाग्दा व्यवधान खडा गरी अलमलाइदिएको उनको गुनासो छ ।
नेता पौडेलकै पहलमा सैनामैनामा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र, सामुदायिक विद्यालयका भवनहरु, ती विद्यालयहरुमा आधुनिक प्रयोगशाला निर्माण भइसकेका छन् ।

त्यसैगरी, सैनामैनामै प्रदेशस्तरीय फोहरमैला प्रशोधन केन्द्र निर्माणको प्रक्रिया पनि पौडेलकै नेतृत्वमा सुरु गरिएको हो । जग्गा प्राप्तिदेखि स्रोत सुनिश्चिततासम्मका कार्यमा उनको नेतृत्वदायी भूमिका रहेको छ ।
साथै, सैनामैना–३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । वातावरणीय अध्ययनलगायतका काम सम्पन्न भइसकेकाले अब केही समयमै उक्त महत्वाकांक्षी योजनाको ठेक्का प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

वन क्षेत्रको संरक्षण, हरियाली प्रवद्र्धन, वन अनुसन्धान केन्द्रको विकास, पर्यावरणीय सन्तुलनका अभियान सञ्चालन तथा समग्र सैनामैनाबासीको आयआर्जन वृद्धिका योजना अघि बढाउने प्रतिवद्धता पनि नेता पौडेलले व्यक्त गरे । उनले सैनामैनाका वडा नं. १ देखि ४ मात्र नभई समग्र सैनामैना, जोडिएका पालिकाहरू हुँदै सिंगो रुपन्देहीलाई नै विकासको नमुना जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम सुरु गरिएको बताए । साथै, सैनामैनालाई लुम्बिनीको प्रवेशद्वार, हिलस्टेशनको केन्द्र तथा जलाशययुक्त क्षेत्रका रूपमा विकास गरिने जानकारी दिए ।

वडा नं.१ मा खुशीराम चौधरी, वडा नं.२ मा शिवलाल घिमिरे, वडा नं.३ मा चामबहादुर क्षेत्री र वडा नं.४ मा चन्द्रकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमहरूमा एमालेका विभिन्न तहका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा विभिन्न क्षेत्रबाट नेकपा एमालेमा प्रवेश गरेकाहरूलाई नेता पौडेलले स्वागत गरेको एमाले नेता मिनप्रसाद पौडेलले बताए । प्रचार कार्यालय उद्घाटनसँगै अब सैनामैनाका चारै वडा तथा अर्को निर्वाचन क्षेत्रमा पर्ने बाँकी वडाहरूमा एकसाथ चुनावी अभियान सुरु गरिने नेकपा एमाले सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिए ।