विजय टोल विकास संस्थाद्धारा प्रतिक्षालय निर्माण

मेचीकाली संवाददाता

२६ माघ २०८२, आईतवार
60 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित विजय टोल विकास संस्थाले स्थानीयवासीको सुविधालाई ध्यानमा राख्दै प्रतिक्षालय निर्माण गरेको छ । बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारका क्रममा सडकछेउका बर र पिपलका रुख कटान भई क्षेत्र उजाड बनेपछि त्यसको संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले संस्थाको भवन परिसरमा बर–पिपलका बिरुवा रोप्दै प्रतिक्षालय निर्माण गरिएको हो ।
उक्त प्रतिक्षालय अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर घर भई हाल बुटवल–१३ मनकामना पथमा बसोबास गर्दै आएका जमुनी गुरुङको परिवारले स्वर्गीय क्याप्टेन रामबहादुर गुरुङको स्मृतिमा निर्माण गरी विजय टोल विकास संस्थालाई हस्तान्तरण गरेका हुन् । प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता, जमुनी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्नेल टानबहादुर गुरुङ र क्याप्टेन खिमबहादुर गुरुङको विशिष्ट आतिथ्यता तथा रिता गुरुङ र सीता गुरुङको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याप्टेन पदम रानाभाटले प्रतिक्षालय निर्माणको खर्च विवरण सार्वजनिक गर्दै २ लाख ४५ हजार रुपैयाँको लागतमा संरचना निर्माण सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष एकराज पाण्डे, विजय टोल आमा समूहकी अध्यक्ष मञ्जु पौडेल, संस्थापक अध्यक्ष चुरिकला गौडेल, उपाध्यक्ष धुव्र सापकोटा, सचिव सिर्जना नेपाल, केशवराज न्यौपाने लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रतिक्षालय निर्माण गर्ने गुरुङ परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गैरेले टोलमा अझै विकास निर्माणका थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै सबै सदस्यलाई एकजुट भएर अघि बढ्न आग्रह गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिनानाथ आचार्यले गरेका थिए ।