गुल्मी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । यो नतिजा अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशभरका नगरपालिकामध्ये प्रथम भएको छ । रेसुङ्गा नगरपालिकाले ७६ दशमलव ७५ अंक प्राप्त गर्दै प्रदेशमै पहिलो स्थान हासिल गरेको हो ।
त्यस्तै देशभरका नगरपालिकामध्ये रेसुङ्गा नगरपालिका पाँचौं स्थानमा पर्न सफल भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले दाबी गरे । आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन १७ वटा सूचकका आधारमा गरेको जनाएको छ ।
ती सूचकमा असार १० भित्र बजेट सार्वजनिक गरेरनगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आर्थिक वर्ष २०८१र८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको राजस्वमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको जस्ता विषय समेटिएका छन् ।
यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाएरनबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको समेत मूल्यांकनका आधार बनाइएको छ ।
त्यसबाहेक राजस्व परिचालनको अवस्था, बजेट खर्च, बेरुजु स्थिति, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई परीक्षाको नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपात लगायत सूचकका आधारमा अंक निर्धारण गरिएको आयोगले जनाएको छ ।
