सकियो ‘दीप गायन तारा’को अडिसन: १७ जना छनोट, फाइनल प्रतिस्पर्धा फागुन ४ गते हुने

मेचीकाली संवाददाता

१ फाल्गुन २०८२, शुक्रबार
202 shares

बुटवल। तेह्रौंं संस्करणको दीप गायन ताराको छनोट चरण शुक्रबार सम्पन्न भएको छ । बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष गीतसङ्गीतको क्षेत्रमा योगदान पु¥याउँदै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको छनोट चरणमा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका ४५ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए ।

छनोट चरणबाट उत्कृष्ट १७ जनालाई फाइनल चरणका लागि छनोट गरिएको छ । जसमा गौरव गुरुङ, रिवाज सारु, अभिमन्यु सुनार, प्रिन्स कँडेल, शुसान्त क्षेत्री, विशिका परियार, मेलिसा परियार, साकार शाही, जेसन बराल, अंकुर बराल, खुसी राना, रिजन काफ्ले, प्रज्ञा न्यौपाने, असिम राना, रेजिन थापा, नितेश पौडेल र सोनाक्षी क्षेत्री अन्तिम चरणको लागि छनोट भएका छन् ।
छनोट चरणबाट उत्कृष्ट १७ मा परेका प्रतियोगीहरूको फाइनल प्रतिस्पर्धा फागुन ४ गते हुनेछ । फाइनल चरणमा पनि प्रतियोगीहरूले ट्रयाकसहित गीत गाउनुपर्ने छ । यस चरणबाट छनोट भएका उत्कृष्ट पाँच जनालाई पुरस्कृत गरिने छ । यो चरणमा प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत गाउनुपर्ने कार्यक्रम संयोजक शिक्षक कृष्ण भुसालले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई नगद २० हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद ५/५ हजार रुपयाँ प्रदान गरिनेछ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले विद्यालयका अतिरिक्त क्रियाकलापलाई अतिरिक्त नभनेर अनिवार्य विषयवस्तु मान्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीको सर्वपक्षीय विकास हुनुपर्ने बताउँदै दीपले आफ्ना शैक्षिक र रचनात्मक गतिविधिका साथ कलाकार जन्माउने उद्योगका रूपमा आफूलाई भविष्यमा उभ्याउने विश्वास व्यक्त गरे ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । उनले दीप गायन ताराले हरेक वर्ष उत्कृष्ट कलाकारहरु उत्पादन गर्न सफल भएको बताए । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भइसकेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए ।

यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले विद्यालयस्तरका विद्यार्थीहरुका लागि गायन क्षेत्रमा उपयुक्त प्लेटफर्म दिएको र सरकारी तवरबाट गर्नुपर्ने कार्य दीपले गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक सन्दीप पंटेल, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, सदस्य विष्णुमाया श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, गायक तथा सङ्गीतकार तेजु अर्याल र वसन्त श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रममा विद्यार्थीहरूले गुरुवन्दना, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय विजय सापकोटा र इन्द्र सारुले गरेका थिए ।

यो प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिंजाली, विशेष भुर्तेल गरी १२ जना विद्यार्थीहरु हालसम्म दीपगायन तारा बन्न सफल भएका छन् । वि.सं २०३७ सालमा स्थापना भएको दीप बोर्डिङले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरी यही फागुन ५ गते ४५ औँ वार्षिकोत्सव मनाउँदै छ । यस क्षेत्रकै पुरानो तथा अब्बल संस्थागत विद्यालयको पहिचान बनाएको यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।