बुटवलको नयाँ बसपार्क नजिकै सञ्चालनमा आयो गोर्खाली रिकण्डीसन शोरुम

मेचीकाली संवाददाता

३ फाल्गुन २०८२, आईतवार
13 shares

बुटवल । बुटवलको नयाँ बसपार्क नजिकै गोर्खाली रिकण्डीसन शोरुम सञ्चालनमा आएको छ । दुईजना युवा व्यवसायीको संयुक्त लगानीमा सञ्चालन गरिएको शोरुम महाशिवरात्री पर्वको अवसर पारेर आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

शोरुमका सञ्चालक मिनबहादुर पौडेलले मोटरसाइकल तथा स्कुटर चढ्ने सपना बुनेका तर नयाँ किन्न सक्ने आर्थिक अवस्था नभएका ग्राहकहरुलाई लक्षित गर्दै शोरुम सञ्चालनमा ल्याइएको बताए । ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद–बिक्री गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । यामाहा, बजाज, हिरो, होन्डा, टीभीएस लगायत नेपालमा चलेका सबै कम्पनीका मोटरसाइकल तथा स्कुटर आफूले खोजेको मूल्यअनुसार उपलब्ध हुने सञ्चालक पौडेलले जानकारी दिए ।

हाल शोरुममा ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् । सञ्चालक पौडेलका अनुसार करिब एक लाख रुपैयाँसम्म खर्च गर्ने ग्राहकले राम्रो अवस्थाको दुईपाङ्ग्रे सवारी सहजै किन्न सक्नेछन् । ‘कम बजेटमा गुणस्तरीय सवारी उपलब्ध गराउने हाम्रो लक्ष्य हो ।’ उनले भने ।

रिकण्डीसन व्यवसाय पछिल्लो समय फस्टाउँदै गएको क्षेत्रका रूपमा देखिएको छ । बढ्दो शहरीकरण र युवापुस्तामा बढ्दो गतिशीलतासँगै दुईपाङ्ग्रे सवारीको आवश्यकता पनि विस्तार हुँदै गएको छ । नयाँ सवारीको मूल्य वृद्धि र बढ्दो प्रयोगका कारण पुनः प्रयोगयोग्य सवारीको माग उच्च रहँदै आएको छ । शोरुमका अर्का सञ्चालक विशाल गोदारले मोटरसाइकल तथा स्कुटर भाडामा समेत उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार नयाँ बाइक बजारजस्तै रिकण्डीसन बजारमा पनि बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो कम्पनीका बाइकको माग बढी हुने गरेको छ ।