बुटवल । युवाहरुमा नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी बुटवलले वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विगतका दुई वर्षमा जस्तै यसवर्ष पनि कन्सल्टेन्सीले इमर्जिङ युुथ स्पिकर सिजन थ्रि आयोजना गरेको हो ।
रुपन्देहीका विभिन्न कलेजहरुमा अध्ययनरत ५० जना विद्यार्थीबाट छानिएर अन्तिम प्रतिस्पर्धामा १५ जना पुगेका थिए ।
समृद्धिको आधार पर्यटन र पूर्वाधार भन्ने विषयमा भएको अन्तिम प्रतिस्पर्धामा कालिका मानवज्ञान माविका निश्चल भट्टराई प्रथम भए । त्यस्तै एभरेष्ट बोर्डिङकी निहारिका ज्ञवाली दोश्रो र एभरेष्टकै सुवोध गौतम तेश्रो भए । प्रतियोगितामा प्रथम हुने निश्चलले नगद ५५ हजार ५५५ रुपैयाँ पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो हुने ज्ञवालीले ११ हजार १११ तथा तेश्रो हुने गौतमले ५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र गरेका थिए ।
त्यसैगरी प्रतिस्पर्धामा सामाजिक सेवा तर्फ सेवा रेग्मी, दर्शक श्रोता छनोटमा माहि खान र स्टेज प्रस्तुतीमा रिदेश बस्याल उत्कृष्ट बने । प्रतिस्पर्धामा उत्कृष्ट हुने सबै प्रतियोगिहरुलाई द नेक्स्ट एजुकेशनका सञ्चालक गोविन्दराज अधिकारी, राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, गोपाल अधिकारी, भगवती पाण्डे लगायतले पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा साहित्यकार रुद्र ज्ञवाली, डिल्लीराज भट्टराई, गिरीराज पाण्डे र सन्जोग थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सहभागिहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार विकास गरि पर्यटनलाई जोड्न सके मुलुक समृद्ध बन्न सक्ने बताएका थिए । उनिहरुले पूर्वाधार र पर्यटन सिक्का दुई पाटो भएकोले बलियो पूर्वाधार र सम्मानित पर्यटन हुंदा मुलुक समृद्ध बन्ने बताए ।
राजस्व कार्यालय भैरहवाका प्रमुख पोखरेलले पछिल्लो समय नेपालमा भौतिक पूर्वाधार विकासले गति लिईरहेपनि पूर्वाधार विकासलाई आय आर्जनसंग जोड्न नसक्दा नागरिकले विकासको अनुभुती गर्न नसकेको बताए । द नेक्स्ट एजुकेशनका सञ्चालक गोविन्दराज अधिकारीले युवाहरुलाई सकारात्मक बनाउंदै उनिहरुको नेतृत्व क्षमता वृद्धि गर्न यसप्रकारको प्रतियोगिता आयोजना गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पछिल्लो समय नकारात्मक कुराहरु मात्र प्रचार गर्दा भएका सकारात्मक कामहरुले पनि स्थान नपाएको बताए ।
