बुटवल । तेह्रौंं संस्करणको ‘दीप गायन तारा’ साकार शाही बनेका छन् । उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका १७ जना प्रतियोगीहरुलाई पछि पार्दै दीप गायन तारा बन्न सफल भएका हुन् । शाही न्यू होराइनज मावि बुटवलका छात्र हुन् । उपाधिसँगै उनले नगद ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष गीतसङ्गीतको क्षेत्रमा योगदान पु¥याउँदै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ । यस्तै प्रतियोगितामा कान्ति माविका जेशन बराल द्वितीय र त्रिभुवन युनाइटेड एकेडेमीकी प्रज्ञा न्यौपाने तृतीय भइन् । यस्तै प्रतियोगितामा आवासीय महाविद्यालयका रिवाज सारु मगर र सिद्धार्थ मेमोरियल एकेडेमीकी मिलिसा परियारले सान्त्वना स्थान प्राप्त गरे । प्रतियागितामा द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुने दुई जनाले ५÷५ हजार नगदका साथ शिल्ड, मेडल र प्रमाण पत्र पाए ।
प्रतियोगिताको छनोट चरणमा फागुन २ गते रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने ४५ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । उक्त प्रतिस्पर्धाबाट १७ जनाप्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । प्रतियोगिताको फाइनल चरणमा प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दीप गायन तारा जिल्लाकै नमुना कार्यक्रम रहेको बताइन् । बुटवललाई शिक्षाको हब बनाउन उपमहानगरपालिकाले करोडौँ लगानी गरेको बताउँदै उपप्रमुख अर्यालले यो अभियानमा साथ दिन सबैलाई आग्रह गरीन् । गुणस्तरीय शिक्षासँगसँगै विद्यालयमा विद्यार्थीहरुको सर्वपक्षीय विकास हुनुपर्ने बताउँदै उनले यहाँका अन्य विद्यालयहरुले पनि यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइन् ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । उनले दीप गायन ताराले हरेक वर्ष उत्कृष्ट कलाकारहरु उत्पादन गर्न सफल भएको बताए । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए । बुटवल–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताए । अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले दीपले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महत्वपूर्ण कार्य गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाई, तारादल गण बुटवल रामनगरका गणपती कल्याण पाण्डे, विद्यालयका उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विद्यालयका शैक्षिक संयोजक सन्दीप पट्टेललगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, सङ्गीत प्रशिक्षक नरहरि प्रेमी र वरिष्ठ सङ्गीतकार मनोज खड्का निर्णायकको भूमिकामा रहेका थियो । कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरुले गुरुवन्दना, गणेशवन्दना, स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय विजय सापकोटा र राजश्री गौतमले गरेका थिए ।
यो प्रतियोगिताबाट यसअघि अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिंजाली र विशेष भुर्तेल दीप गायन तारा बनिसकेका छन् । वि.सं २०३७ सालमा स्थापना भएको दीप बोर्डिङले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मंगलबार ४५ औँ वार्षिकोत्सव मनाउँदै छ । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
