श्राद्धः पुर्खाप्रति सम्मान र सत्कर्मका लागि प्रेरणा

मेचीकाली संवाददाता

८ आश्विन २०७८, शुक्रबार
977 shares

घनश्याम कोइराला
अहिले सनातन संस्कृतिका अनुयायीहरूले अत्यन्त श्रद्धापूर्वक मनाइने सोह्रश्राद्ध चलिरहेको छ । असोज कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएर सोही औँसीसम्मका १५ तिथिहरूलाई सोह्रश्राद्ध भनिन्छ । जम्मा तिथि भने प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठि, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, अमावस्या र पूर्णिमा गरी सोह्र छन् । कृष्ण प्रतिपदादेखि औँसीका बीचमा नदेखिने तिथि पूर्णिमा हो ।

तिथिका हिसाबले मानिस जन्मने–मर्ने यही १६ वटा तिथिमध्ये एउटामा हो । यसै कारण आफ्ना बातर्फका र आमातर्फका तीनपुस्ते पूर्वजहरूको श्राद्ध यी दिनमध्ये एकदिन गरिने गर्दछ । तर, सोह्रश्राद्ध आफ्ना बाको निधन भएको तिथिमा गरिने प्रचलन छ । यसमा आमाको छुट्टै श्राद्ध गरिँदैन । यदि कसैका बाको निधन पूर्णिमामा भएको रहेछ भने तिथि श्राद्ध पूर्णिमाकै दिन गरिन्छ भने सोह्र श्राद्ध भने औँसीकै दिन गरिन्छ । आफ्नै बा दिवंगत भएको तिथिमा मात्र गरिने भए तापनि यी सोह्रै तिथिलाई पितृपक्ष भनेर मान्ने गरिन्छ ।

अहिले दिनै नबिराएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू मनाइने गर्दछ । महिला, परिवार, श्रमिक, शिक्षक, पर्यावरण, स्वास्थ्य, सुरक्षा, खेलकुद, सामाजिक सेवा, बाघ आदि दिवसहरू मनाइन्छ । यहाँ उदाहरणका लागि केही दिनको मात्र उल्लेख गरिएको भए तापनि यस्ता दिवस मनाउन वर्षका कुनै दिन खालि छैनन् । विश्वस्तरमा, अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा मनाइने दिवसहरू मनाइन सुरु गरिएको इतिहास खासै लामो छैन । अधिकांश (सबै होइन) विश्वस्तरमा, अन्तर्राष्ट्रिय स्तरमा मनाउन लागू गरिएको संयुक्त राष्ट्रसंघ स्थापना भएपछि नै हो । हामी सबैलाई थाहा छ, संयुक्त राष्ट्रसंघ स्थापना भएको अक्टोबर २४, १९४५ मा हो र अहिले सन् २०२१ हो । तर, हाम्रा पुर्खाले विभिन्न तिथि–पर्वका रूपमा यस्ता दिवस अज्ञात समयदेखि मनाउँदै आएको देखिरहेका छौँ । यही सिलसिलाको एउटा कडी सोह्रश्राद्ध पनि हो ।

श्राद्ध पुर्खाहरूको सम्मान गर्ने कर्म हो । यसले सम्मान र विश्वासको अर्थ राख्दछ । श्राद्ध शब्दको सामान्य अर्थ श्रद्धापूर्वक गरिने कार्य भन्ने हो । तर, यसको विशिष्ट अर्थ मरिसकेकका पुर्खाहरूको सम्मान र सम्झनामा गरिने कार्यका रूपमा देखिँदैआएको छ । यसलाई यी दुवै हो भनेर मिसाएर बुझ्दा अन्यथा हुँदैन । वेदवाक्यहरूमा मरिसककेकाहरूलाई मात्र पितृ भनिएको छैन ।

यो सोह्रश्राद्धलाई यसरी अनिवार्य बनाइएको छ :
‘सूर्ये कन्यागते श्राद्ध यो न कूर्यात् गृहाश्रमी । धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात् अर्थात् गृहस्थी भएर पनि जसले सूर्य कन्याराशिमा गएको यस अवसरमा श्राद्ध गर्दैन, पितृको सासै रोक्ने त्यस्ताको धन, सन्तान केही हुँदैन ।’ यसरी प्रत्येक गृहस्थले यो सोह्रश्राद्धमा पितृ स्मरण र सम्मानको कार्य गर्नैपर्ने संस्कृति बनाइएको छ ।

यसै त श्राद्ध प्रकार र प्रयोजन एउटै मात्र छैन । विभिन्न ग्रन्थहरूमा श्राद्ध १२ प्रकारको हुने बताइएको छ । तर, नेपाली समाजमा नित्य, नैमित्तिक, आभ्युदायिक, काम्य, एकोद्दिष्ट, पार्वण, महालय बढी प्रचलनमा छ । नित्य श्राद्ध भनेको सधै पितृलाई सम्झेर तर्पण दिनु हो । नैमित्तिक भनेको दिवंगतभएको तिथिमा गरिने श्राद्ध हो, यसलाई एकोद्दिष्ट (एक मात्र पितृलाई लक्षित) भनिन्छ । आभ्युदायिक श्राद्ध कुनै ठूलो यज्ञादि शुभकार्य गर्दा गरिन्छ । यसलाई नान्दीमुखी श्राद्ध, वृद्धि श्राद्ध पनि भनिन्छ । काम्य श्राद्ध भनेको कुनै निश्चित प्रकारको कामना गरेर गरिन्छ । पार्वणश्राद्ध कुनै विशेष तिथिमा गरिने, तीर्थमा गरिने श्राद्ध हो । महालय श्राद्ध भनेको सोह्रश्राद्ध हो । यसलाई पितृहरूको मेलाको रूपमा लिइन्छ । यसमा सबै पितृको सम्मानपूर्वक सम्झना गरिन्छ । निर्धारित तिथिका दिन सबै पितृहरू मिलेर–जुटेर आउँछन् भन्ने मान्यता रहेको पाइन्छ । तर, कसैको बा जीवितै रहेको र आमाको निधन भएको रहेछ भने सोह्रश्राद्ध अर्थहीन त हुन्छ नै, दिवंगत आमाप्रति अन्याय गरेको ठहर्छ ।

‘उपहूताः पितरः सोम्यासो बर्हिष्येषु निधिषु प्रियेषु । तद्र आ गमन्तु तद्र इह श्रुवन्त्वधि ब्रुवन्तु तेवन्त्वस्मान् अर्थात् हामी आफ्ना पितृ आह्वान गर्दछौँ । कुशका आसनमा विराजमान भएर प्रस्तुत सोमरस आदि हविष्यान्न उपभोग गर । हाम्रो प्रार्थना स्वीकार गरेर प्रसन्न हुँदै रक्षा गर ।’ (यजुर्वेद, अध्याय १९, मन्त्र ५७, तिलकप्रसाद लुइटेल, विद्यार्थी पुस्तक भण्डार) कुशको आसनमा बसालेर प्रत्यक्ष खानपिनको विषय भएको हुनाले पितृ परिकल्पित मात्र हुन् भन्ने देखिँदैन ।

यस्ता प्रसंग यजुर्वेदमा अन्य पनि छन् । त्यसमा भनिएको छ- ‘अग्निष्वात्ताः पितरद्र एह गच्छत सदः सदः सदत सुप्रणीतयः । अत्ता हवीƒ षी प्रयतानि बर्हिष्यथा रयिƒ सर्ववीरं दधातन अर्थात् हे अग्निजस्तै तेजसम्पन्न पितृहरू हो ! तिमीहरू हाम्रा यस यज्ञमा आओ र उचित तरिकाले सफा गरिएका सबैभन्दा उच्च स्थानमा बसेर अति प्रयत्नपूर्वक तयार पारिएको हविष्यान्न ग्रहण गर । त्यसपछि कुशका आसनमा बसेर तिमीहरू हामी याजकहरूलाई वीर, पराक्रमी सन्तानका साथै धनधान्य आदि महान् ऐश्वर्य प्रदान गर ।’ (यजुर्वेद, अध्याय १९, मन्त्र ५९, तिलकप्रसाद लुइटेल, विद्यार्थी पुस्तक भण्डार) यी वाक्यहरू पढ्दा र बुझ्दा पितृहरू मरेका मात्र हुँदा रहेनछन् भन्ने देखिन्छ ।

वास्तवमा समाज मानिसहरूको परम्पराद्वारा निर्मित मनोवैज्ञानिक संस्था हो । यसमा मनोवैज्ञानिक सम्बन्धको मात्रा प्रचुर रहेको देखिन्छ । व्यवस्थित जीवनका लागि भौतिक वस्तुहरूको अपरिहार्यता जत्तिकै समाज निर्माणमा मनोविज्ञानको भूमिका रहेको हुन्छ । प्रयोग गरिने वस्तु र प्रयोग गर्ने व्यक्ति भौतिक हो भने प्रयोगकर्तामा रहेको अन्तर्निहित विचार मनोविज्ञान हो । समाजमा कुनै निश्चित विधिबाट नापतौल गर्न र छुट्ट्याउन नसकिने गरी भौतिक र मनोवैज्ञानिक पक्ष बराबर छन् ।हाम्रो समाज प्रकृतिबाट संगठित हुने, प्रकृतिबाट संरक्षित हुने, प्रकृतिबाट

शिक्षित हुने, प्रकृतिबाट लाभान्वित हुने हुँदै अघि बढिरहेको देख्न सकिन्छ । यसका अनेकौं उदाहरणहरू छन् । हाम्रा पुर्खाले समाजलाई संगठित गर्ने उपायहरू अवलम्बन गरे । यसरी गरिएका सामाजिक प्रवन्धहरूलाई ‘धर्म’ पनि भनियो । धर्मका केही ‘कर्मकाण्ड’हरू बने ।कर्मकाण्डहरूमा मानिस र मानिसका कर्तव्यहरूको वर्गीकरण र नामकरण गरियो अर्थात् कामका आधारमा ‘नाम’ वा ‘पहिचान’ निर्धारण गरियो । यसो गर्दा मानिसको योग्यता, क्षामता र रोजाईकै आधारमा भएको अनुमान गर्न सकिने देखिन्छ ।

यहाँसम्म ठिकै चल्यो तर कालान्तरमा पुर्खाको नाम वा पहिचानको आधारमा मात्र काम निर्धारण हुने परिपाटी प्रवन्धको विकारका रूपमा प्रकट भयो । हाम्रा वैज्ञानिक परम्परा, प्रवन्ध र सनातनता खण्डित हुन थालेपछि समस्या देखिन थाले । प्रवन्धकीय सन्तुलन खलबलिएपछि समाजमा असन्तुलन पैदा भयो । यहींबाट नकारात्मक विभेद र विभाजन मौलायो । सनातनधर्म, सनातन संस्कृति, सनातन सन्तुलन, सनातनका अनेकौं पक्ष खण्डित हुँदै आयो । मानिसको कुत्सित नियतले, दुर्बुद्धिको प्रयोगले, अयोग्यता र अक्षमताको कारणले आजको प्राकृतिक विपत्तिहरू जसरी नै ‘सनातन’का अनेकौं पक्षहरू पनि विकृतजस्ता देखिए । यो सबै मानिसबाट भएको हुनाले मानिसले नै सच्याउन सकिने विषय हो । सनातनका असल पक्षलाई सच्याउन पनि सनातनकै सारलाई बुझ्न आवश्यक हुन्छ ।

हाम्रो सनातन संस्कृतिका अनेकौं असल पक्षहरू जस्तै सोह«श्राद्ध पनि एक हो । जब मानिसले प्रकृतिकै ग्रह, उपग्रह, नक्षत्र (तारा), यसैका आधारमा (चन्द्रमाको गतिका आधारमा) सोह«वटा तिथि निर्धारण गरे, मानिस जन्मने वा मर्ने तिथि पनि तिनै हुने भए । यिनै सोह«वटा तिथि पर्ने गरी वर्षमा एकपटक आश्विन कृष्ण प्रतिपदादेखि पन्ध्रदिनको समयावधि पुर्खाप्रतिको कृतज्ञता तथा कर्तव्यबोधका लागि छुट्ट्याइनु पूर्वज÷पुर्खाको सम्मान, श्रद्धा र स्मरणका लागि महत्वपूर्ण विषय हो ।

मानिसहरूले प्रकृतिबाट स्वाभाविक रूपमा लाभ लिइरहेको भए तापनि यसलाई व्यवस्थित गर्न र यसका उत्पादनहरूलाई सञ्चय गर्न भने निकैपछि मात्र जानेको हो भन्ने बुझिन्छ । यो आफैमा ठूलो विकास हो । पशु पाल्न जान्ने, पशुहरूलाई आफ्ना हितहरूका लागि परिचालन गर्न जान्ने, अन्न उत्पादन र भण्डारण गर्न जान्ने कुरा ठूलो ज्ञान र विकास हो । यस्तो ज्ञानसञ्चय र विकासका लागि हाम्रा पुर्खाका अनेकौं पुस्ता समर्पित भए होलान् भन्ने सहज अनुमान लगाउन सकिन्छ । अहिलेका ज्ञान–विज्ञानका कुरा हुन् वा उत्पादन र सञ्चयका विषय, यी सबैका आधार त पुर्खा र यिनीहरूबाट सर्दै आएका ज्ञान नै हुन् ।

यति धेरै भूमिका भएका पुर्खाहरूलाई सम्झनु, सम्मान गर्नु सन्तानको कर्तव्य हो । अहिले पछिल्लो समय श्राद्धको विषयमा बुझाइको कमीले गर्दा यसलाई अन्धविश्वासको विषय पनि ठानिदैआएको छ । जिउँदा जन्मदाताहरूलाई महत्व नदिने, हेलाहोँचो गर्ने र श्राद्धको तिथिमा के केन गर्नुमा शास्त्र दोषी छैन । मरेपछि पनि यस्तो गर्न अनिवार्य गरिनुको आसय जीवितमा केही गर्न पर्दैन भन्ने नभई मरेपछि पनि दायित्व छ भन्ने हो ।
वेद–शास्त्रका आधारमा चलाइएको यस परम्पराका अन्य विषय साह्रै गतिला छन् । अनुकरणीय छन् । कतिपय विषय प्रतीकात्मक छन् । तर, जसले नौ महिनासम्म आफ्नै शरीरभित्र राखेर जन्म दिने, हुर्काउने आमाप्रति भने यस प्रचलनमा विभेद रहेको देखिन्छ । आमाका नाममा सोह्रश्राद्धमा छुट्टै तिथि निर्धारित नहुनुलाई न्यायिक मान्न सकिँदैन । सामान्यतया भन्ने गरिन्छ, बाबु विश्वास हो, आमा वास्तविक हो । श्राद्ध विश्वास र निष्ठाको विषय भएको हुनाले वास्तविक जन्मदाताका नाममा सोह्रश्राद्धको तिथि निर्धारित नहुनु पितृसत्ता (पुरुष प्रधानता) को पराकाष्ठा नै हो । धर्मशास्त्रका विज्ञहरूले यसलाई न्यायोचित बनाउन ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकृतिले बनाएको बुझ्न र मानिसले बनाएको फेर्न सकिन्छ । धर्म र धर्मशास्त्र न्यायका विषय हुन् । श्राद्धले मानिसहरूमा मरेपछि पनि सम्झनयोग्य सत्कर्म गर्न प्रेरित गर्दछ । यो मनोवैज्ञानिक विषय हो । दिवंगत आमाका लागि छुट्टै सोह्रश्राद्धको प्रावधान नहुँदा आमाहरूको मनोविज्ञानमा कस्तो असर परिरहेको होला ? हामीले यिनलाई अवलम्बन गर्दा न्यायिक, अझ समन्यायिक बनाउन सके यसप्रति मानिसको विश्वास बढ्ने र युगसापेक्ष संस्कृति विकास हुन सक्नेछ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)