बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल संस्थागत विद्यालयको पहिचान बनाएको दीप बोर्डिङ स्कुल बुटवलले विभिन्न कार्यक्रमहरु आयोजना गरी ४५ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजना गरिएको मूल समारोहमा विविध कार्यक्रम आयोजना गरिएको हो ।
मूल समारोहको काठमाडौं विश्व विद्यालयमका स्कुल अफ एजुकेसनका डीन प्रोफेसर डा.शेषकान्ता पोखरेलले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले विद्यार्थीले अध्ययनसँगै सिप सिक्न जरुरी रहेको बताए । विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्ने कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिँदै उनले विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सिप सिकाउन सक्ने हो भने अध्ययनपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।
यस्तै सोल्टी होटल एन्ड रिसोर्टका डाइरेक्टर डा.रुपेश श्रेष्ठ, तारादल गण बुटवल रामनगरका बाहिनीपति विमल शर्मालगायतले बोल्दै दीप बोर्डिङले सुरु गरेका असल अभ्यास यहाँका अरु विद्यालयहरुले पनि सिक्न जरुरी रहेको बताए ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै संस्कार र संकृतिसहितको शिक्षा प्रदान गर्दै आएको बताए । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर विद्याालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए । शिक्षा क्षेत्रमा नवीन तथा सिर्जनात्मक अभियान सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको छ ।
प्राचार्य न्यौपानेका अनुसार गत वर्षको एसईई परीक्षामा २ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम र द्वितीय भएका थिए । प्राचार्य न्यौपानेले विज्ञान संकायतर्फ शतप्रतिशत तथा अन्य संकायतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावि गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको मिहेनतका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए । कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेय र विजय सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । वि.सं २०३७ सालमा स्थापना भएको यस विद्यालय २ हजार सय विद्यार्थी अध्ययनरत छन् ।
