एमालेको घोषणापत्र: समृद्धि, सुशासन र आत्मनिर्भर अर्थतन्त्रको मार्गचित्र

मेचीकाली संवाददाता

७ फाल्गुन २०८२, बिहीबार
146 shares

बुटवल । ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई राष्ट्रिय आकांक्षाका रूपमा अघि सार्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रले स्थायित्व, तीव्र विकास र सुशासनलाई केन्द्रमा राखेको छ ।
घोषणापत्रमा ‘देश पहिलो’ को अवधारणासहित राष्ट्रिय सार्वभौमसत्ता, संविधान र कानुनको सर्वोच्चताको प्रतिबद्धता पुनः दोहो¥याएको छ । घोषणापत्र सार्वजनिक समारोहलाई समेत डिजिटल र सन्देशमूलक बनाइएको थियो ।

एमालेको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले विकासको निरन्तरता, उत्पादनमुखी अर्थतन्त्र, युवाकेन्द्रित रोजगारी, विस्तारित सामाजिक सुरक्षा र सुशासनलाई मूल आधार मानेको उल्लेख गरेका छन् ।
विगत उपलब्धिको आधारमा तीव्र आर्थिक–सामाजिक रूपान्तरणको वाचा गर्दै पार्टीले स्थायित्व र विकासलाई एउटै सिक्काका दुई पाटा रूपमा प्रस्तुत गरिएको छ । यस घोषणापत्रले चुनावी प्रतिस्पर्धामा मात्र होइन, नीति–बहसको केन्द्रमा ‘आत्मनिर्भर, समृद्ध र सुशासित नेपाल’ को मार्गचित्र प्रस्तुत गरेको छ ।

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र

https://drive.google.com/file/d/1szWxN84pt36gzQtC0GIZIxegDmoKOlPL/preview

आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र
एमालेले आयात घटाउने र निर्यात बढाउने स्पष्ट नीति अघि सारेको छ । उच्च मूल्यका प्रशोधित कृषि उपज, सूचना प्रविधि, ऊर्जा, खनिज तथा वित्तीय सेवाको निर्यात विस्तार गरी ‘निर्यात पहिलो’ कूटनीतिक र आर्थिक रणनीति लागू गर्ने घोषणा गरिएको छ । औद्योगिक उत्पादनको गुणस्तर, प्रमाणीकरण र ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने कार्यक्रम पनि घोषणापत्रमा समावेश छ ।
प्रगतिशील कर प्रणाली, स्रोतको न्यायोचित वितरण र क्षेत्रीय सन्तुलित विकासमार्फत आय असमानता घटाउने तथा चरम गरिबी अन्त्यलाई केन्द्रीय नीतिगत लक्ष्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

रोजगारी र युवाकेन्द्रित कार्यक्रम
‘मर्यादित श्रम, स्वदेशमै रोजगारी’ नारासहित रोजगारीका अवसर दोब्बर बनाउने, वैदेशिक रोजगारीको बाध्यता घटाउने र निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिने नीति अघि सारिएको छ । युवालाई राष्ट्रिय विकाससँग जोड्न प्राविधिक, व्यावसायिक, डिजिटल र नवप्रवर्तनसम्बन्धी सीप अभिवृद्धि, स्टार्टअप र इनोभेसन हब स्थापना तथा इन्टर्नसिप–एप्रेन्टिस कार्यक्रम विस्तार गर्ने योजना घोषणापत्रमा उल्लेख छ ।

सामाजिक सुरक्षा र मानव विकास
एमालेले सामाजिक सुरक्षाको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको तथ्य प्रस्तुत गरेको छ । १८ लाख ज्येष्ठ नागरिक भत्ता, ९९ लाख नागरिक स्वास्थ्य बीमा, ७१ प्रतिशत नागरिकको बैंक खाता, तथा शेयरधनीको संख्या १ लाखबाट ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

महिलाको राजनीतिक सहभागिता करिब ४१ प्रतिशत पुगेको, महिला साक्षरता २५ प्रतिशतबाट ६५ प्रतिशत पुगेको र सम्पत्तिमा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढेको तथ्य पनि घोषणापत्रमा समेटिएको छ । शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने र स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।

राष्ट्रिय गौरव आयोजना र सुशासन
घोषणापत्रमा राष्ट्रिय गौरवका आयोजना, डिजिटल नेपाल र सुशासनलाई प्राथमिकतामा राखिएको छ । भूकम्प र कोभिड–१९ को चुनौतीबीच पनि ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथा १० लाखभन्दा बढी नागरिकलाई गरिबीबाट मुक्त गरेको दाबी प्रस्तुत गरिएको छ ।

तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ
एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरु उठाउने काम समयसीमा तोकेरै अघि बढाउने एमालेले जनाएको छ । एमालेले घोषणा पत्रमा भनेको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो ।’

युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा
नेकपा एमालेले घोषणापत्र युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा समेटेको छ । घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ । यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निब्र्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।
यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा, गरिव परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, देश जोगाउने बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना अघि सारेको छ ।

विदेश नीतिबारे एमाले: युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं
नेकपा एमालेले युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिने प्रतिवद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि एमालेले ल्याएको चुनावी घोषणापत्रमा संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक समझदारी र सहयोगलगायतका पञ्चशीलका सिद्धान्तमाथि विश्वास गर्ने उल्लेख छ । यहीँनेर भनिएको छ, ‘युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं ।’

सार्वभौम समानता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति, सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिबद्ध हुने पनि उसको प्रतिवद्धता छ । अगाडि भनिएको छ, ‘हामी सार्वभौम समानतामा विश्वास गर्दछौं । कुनै पनि राष्ट्रको स्वाधीनता, स्वनिर्णय, भौगोलिक अखण्डतामाथिको अतिक्रमण हस्तक्षेप अस्वीकार गर्दछौं ।’
सबै राष्ट्रसँग सम्मानजक सम्बन्ध राख्ने, सबै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनताको सम्मान गर्ने र अन्य राष्ट्रहरूबाट त्यस्तै व्यवहारको अपेक्षा गर्ने प्रतिवद्धता जनाइएको छ । संवाद र सद्भाव प्रेरित सबै प्रयत्नमा सहभागी हुने र विवेकपूर्ण योगदान गर्ने भन्दै एमालेले अगाडि भनेको छ, ‘छिमेकी देशहरूसँगको सम्बन्धलाई अझ विश्वासिलो र मित्रवत् बनाउने छौं ।’

छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझै मजबुत एवं सौहाद्र बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्ने पनि उसको प्रतिवद्धता छ । ‘हामी कुनै पनि छिमेकीहरूको अहित चिताउँदैनौं र अहित हुने कुनै काम गर्दैनौं’ एमालेले भनेको छ, ‘सबै मित्रराष्ट्रहरूसँग अन्तर्राष्ट्रिय, क्षेत्रीय संघ–संगठनहरूसँग सहकार्य गर्नेछौं ।’ कुनै आग्रह पूर्वाग्रह राख्ने भन्दै एमालेले भनेको छ, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ हाम्रो विदेश सम्बन्ध सञ्चालनको आधारभूत नीति हो ।’

श्रम कुटनीतिलाई प्रभावकारीरूपमा प्रवद्र्धन गर्नका लागि श्रम गन्तव्यका सबै देशहरूमा सामाजिक सुरक्षाको प्रावधानसहित द्विपक्षीय श्रम सम्झौता गर्ने उसको प्रतिवद्धता छ । राज्यले आफ्ना नागरिकलाई दिने सेवा नेपालमा मात्र नभई जहाँ नेपाली छन्, त्यहीँसम्म विस्तार गर्ने बाचा गरिएको छ । उत्पादनका क्षेत्रमा वैदेशिक प्रत्यक्ष लगानी प्रवद्र्धन गरी नेपालमै रोजगारीको अवसरहरू बृद्धि गर्न विदेशस्थित नियोगहरूको आर्थिक कुटनीतिक क्षमता विकास गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

नयाँ भन्नेहरूको भ्रममा नपरौँ: ओली
अध्यक्ष ओलीले कांग्रेससँग आफूहरू मिलेर सरकार बनाएकै कारणले भदौ २३ र २४ गतेको दुर्घटना नभएको जिकिर गरेका छन् । प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको ओलीले बताए ।
उनले भने, ‘हामीले बुझ्नुपर्छ–ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन–भत्काउनका लागि दुर्घटना गराइएको हो । संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो ।’

मौकाको पर्खाइमा रहेको अस्थिरताको उत्प्रेरकलाई सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्नासाथ बहाना मिलेको ओलीको भनाइ थियो । उनले भदौ २३÷२४ को भयानक घटनालाई राज्यविरुद्धको एक गम्भीर षड्यन्त्रको रूपमा अथ्र्याएका छन् । उनले अहिले नयाँ कि पुरानो’ को असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भइरहेको बताए ।
उनले भने, ‘आम मतदातालाई जानकारी नै छ, आज नयाँ भनिएका कोही पनि नयाँ हैनन् । भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत’ देखाइसकेका छन् ।’

एमालेका विगतका आफ्ना कामका अभिलेख नै रहेको जिकिर गर्दै आन्दोलनमा मात्रै होइन नीति सुशासन र विकास निर्माणमा समेत आफूलाई नेता साबित गरेको ओलीले बताए । उनले भने, ‘हाम्रो कार्यशैली प्रमाणित छ–लक्ष्य तोकेर अघि बढ्ने, जे थालिन्छ, सम्पन्न गर्ने । जे बोलिन्छ, पूरा गर्ने ! त्यसैले हामी, सरकारको नेतृत्व लिनासाथ कामको लक्ष्य निर्धारण गर्छौँ, सम्पन्न गर्ने समयसीमा तोक्छौँ र काम थाल्छौँ । प्रधानमन्त्रीसँग मन्त्रीले, मन्त्रीसँग सचिवले र सचिवसँग सहसचिवले क्रमशः माथिल्लो तहका कार्यकारीले आफ्नो मातहतकासँग कार्यसम्पादन करार गरेर काम थाल्छौँ ।’