कांग्रेसले सार्वजनिक ग¥यो १० भिजनसहितको प्रतिज्ञापत्र

मेचीकाली संवाददाता

७ फाल्गुन २०८२, बिहीबार
8 shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा गरिएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएका सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।

कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे । पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञापत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञापत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्याङ्कन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ ।

प्रतिज्ञापत्र केबल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता भएको कांग्रेसको दाबी छ । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनमा आममतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्याङ्कन गर्नुहुनेछ,’विज्ञप्तिमा भनिएको छ,‘कांग्रेस आफ्नो प्रतिज्ञा पूरा गर्न, अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट भाग्ने छैन, जिम्मेवारीबाट पन्छदैनौँ ।’ कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरिएको छ ।

कांग्रेसले प्रतिज्ञापत्रलाई ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ । पुनःरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न सङ्कल्प लिएको छ । कांग्रेसको भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल, समुन्नतिमा लम्कने नेपाल योजना छन् ।

यसैबिच कांग्रेसका सभापति गगनकुमार थापाले अब कुनै पनि व्यक्तिले राज्यसँग प्रश्न सोधेकै भरमा गोली नखाने बताएका छन् । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसले त्यस्तो देश बनाउन चाहेको बताएका छन् । साथै उनले अब कसैले नकाब लगाएर सिंहदरबार नजलाउने पनि बताएका छन् । ‘अब कसैले प्रश्न सोधेकै भरमा गोली खानुपर्दैन । कसैले नकाब लगाएर सिंहदरबार जलाउनुपर्दैन । यो नेपाली कांग्रेसको प्रतिज्ञा हो’, थापाले भने । उनले अब कुनै किसानले खेती गर्दैगर्दा खात (मल) कहिले पाउने भनेर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने कांग्रेसको प्रतिज्ञा रहेको उनले बताए । कुनै सेवाग्राहीले सार्वजनिक सेवा लिँदा घुस दिन नपर्ने अवस्थाको नेपाल बनाउने आफूहरूको प्रतिज्ञा रहेको थापाले बताए ।

यति मात्र होइन उनले अब नेपाली कांग्रेसका कोही पनि नेता कुनै काण्डमा मुछिने छैनन् भन्ने आफूहरूको प्रतिज्ञा रहेको बताए । ‘सरकारमा होला, प्रतिपक्षमा होला । सडकमा होला, महलमा होला । जहाँ होला अबको यो पाँच वर्ष नेपाली कांग्रेसका प्रत्येक सदस्यले यही प्रतिज्ञा अनुसार काम गर्नेछन्’, थापाले भने ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरानै ढंगबाट चलेर नयाँ परिणाम दिन नसकिने बताएका छन् । यही बुझेर नै नेपाली कांग्रेस विशेष महाधिवेशनमार्फत बदलिएर आएको उनको भनाइ छ । बुधबार जनकपुरको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै उपसभापति शर्माले निर्वाचनपछि सरकार बनेर मात्र समस्याको समाधान नहुने बताए । उनले जनताको आवाजलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

उपसभापति शर्माले जो बदलिएर आउन सक्छ उसले मात्र देश बदल्न सक्ने पन उल्लेख गरे । पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सक्दैनौं भन्नेमा हामी विश्वस्त छौं । निर्वाचनपछि सरकार बनेर मात्र हुँदैन । सत्तामा बस्नेहरू बदलिएनन् भने त्यसको अर्थ हुँदैन’, शर्माले भने, ‘जसले आफूलाई बदल्न सक्छ उसले देश बदल्न सक्छ । कांग्रेस बदलिएर आएको छ । अब देश बदल्ने छ । हो हामी पुरानो पार्टी हौं तर हामी नयाँ भएर, बदलिएर आएका छौं ।’ मधेशलाई नयाँ ढंगले विकास गरेर लैजाने प्रतिज्ञा गर्न मधेश आएको शर्माले बताए । सबैको सम्मान र पहिचान स्थापित गर्ने प्रतिज्ञा गर्न तिरुहुतियागाछीमा आएको उनले बताए । उनले मूल प्रश्न चुनाव कसले जित्छ नभएर देश कसले सम्हाल्छ भन्ने रहेको पनि बताए । र देश कांग्रेसले सम्हाल्ने उनको भनाइ छ । ‘अहिले भिन्न भिन्न प्रवृत्ति देखा परेका छन् । एउटा प्रवृत्ति भदौ २३ गतेअघि सबै ठीक थियो भन्ने छ । अर्को चाहिँ केही भएको थिएन, सबै भ्रष्ट यो भन्ने प्रवृत्ति छ । हामी यी दुवैमा सहमत छैनौं’, शर्माले भने ।