रुपन्देही–२ मा विष्णु पौडेलको प्रतिबद्धता सार्वजनिक

लुम्बिनी केन्द्रित विकासको खाका

मेचीकाली संवाददाता

८ फाल्गुन २०८२, शुक्रबार
10 shares

अमृत गिरी

बुटवल । रुपन्देहीलाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधारमा समन्वित विकासको नमुना क्षेत्र बनाउने दीर्घकालीन रणनीतिसहित विष्णु पौडेलको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । प्रतिबद्धता पत्रमार्फत रुपन्देही क्षेत्र नं.२ लाई मात्रै नभई समग्र यसक्षेत्रकै क्षेत्रीय विकासको स्पष्ट खाका प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, पुर्वाधार, उद्योग, कृषि, पर्यटनदेखि सुशासनसम्मका २० शीर्षकमा विस्तृत योजनासहित प्रस्तुत प्रतिबद्धताले रुपन्देहीलाई ‘राष्ट्रिय आर्थिक केन्द्र’ बनाउने लक्ष्य अघि सारेको छ ।

‘विकासका शब्द होइन, देखिने संरचना’ भन्ने नारासहित पुर्वाधार, पर्यटन, कृषि, उद्योग, शिक्षा–स्वास्थ्य र डिजिटल अर्थतन्त्रलाई एकीकृत ढंगले अघि बढाउने लक्ष्य राखिएको छ ।

लुम्बिनीः आध्यात्मिक केन्द्रदेखि आर्थिक सम्भावनाको हबसम्म
लुम्बिनी विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मात्र होइन, नेपालका लागि असीम आर्थिक सम्भावना बोकेको क्षेत्र पनि हो । शुक्रबार बुटवलमा आयोजित समारोहमा सार्वजनिक गरिएको संकल्पपत्रमा लुम्बिनीलाई धार्मिक पर्यटनको सीमित घेराबाट बाहिर निकालेर अन्तर्राष्ट्रिय आध्यात्मिक, सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।
लुम्बिनी गुरुयोजना कार्यान्वयनलाई तीव्रता दिने, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पर्यटक बसाइ लम्ब्याउने पूर्वाधार विकास गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने नीतिगत सुधारमार्फत क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउने योजना दस्तावेजमा उल्लेख छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धसंग सम्बन्धित यहाँका अन्य क्षेत्रहरु, हिल स्टेशनसमेतलाई एउटै सर्किटमा जोडेर पर्यटन हब बनाउन सकिने भन्दै विकासका खाका ल्याउने सुरुआत पौडेलबाटै भएको थियो । अब तिनै खाकालाई थप व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धता पत्रमा रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको केन्द्र बनाउने स्पष्ट योजना छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, लुम्बिनी वाणिज्य क्याम्पसलाई प्रविधिमैत्री विश्वविद्यालयमा रूपान्तरण, कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना तथा प्राविधिक शिक्षाको हब निर्माण गर्ने घोषणा गरिएको छ ।

स्वास्थ्यतर्फ निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, आधारभूत अस्पताल सुदृढ गर्ने, ट्रमा सेन्टर स्थापना गर्ने र स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सूचना प्रविधि र रोजगारीः नयाँ पुस्तालाई अवसर
रुपन्देहीलाई डिजिटल सेवा र सफ्ट्वेयर विकासको क्षेत्रीय केन्द्र बनाउने महत्वाकांक्षी योजना पनि नेता पौडेलले अघि सारेका छन् । आईटी उद्योग, स्टार्टअप सिड फन्ड, बिना धितो परियोजना कर्जा, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्केकालाई उत्पादनमूलक क्षेत्रमा जोड्ने कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

सडक, सुरुङ र सिग्नेचर पुलः पूर्वाधारको तीव्रता
सडक पूर्वाधारमा द्रुत गतिका परियोजनाहरू समावेश छन् । सिद्धार्थ राजमार्गको स्तरोन्नति, सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग सम्पन्न गर्ने, बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्ने तथा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने योजना नेता पौडेलकै ड्रिम प्रोजेक्ट हुन् । स्थानीय चक्रपथ, लिंक रोड र डबल लेन सडकमार्फत सहरी कनेक्टिभिटी बलियो बनाउने रणनीति पनि अघि सारिएको छ ।

उद्योग र लगानीः मोतीपुरदेखि बेलहियासम्म
मोतीपुर औद्योगिक क्षेत्रको पुन रेखांकन र पूर्वाधार विकास, बुटवल औद्योगिक क्षेत्र विस्तार, धागो कारखाना पुनःसञ्चालन र बेलहियास्थित एकीकृत जाँच चौकी सञ्चालनमार्फत अन्तर्राष्ट्रिय व्यापार सहज बनाउने लक्ष्य पनि सार्वजनिक गरिएको छ । साना–मझौला उद्योगलाई प्रोत्साहन र खुद्रा व्यवसाय संरक्षणसमेत प्रतिबद्धतामा समेटिएको छ ।

कृषि, सिँचाइ र नदी नियन्त्रण
सेमलार कृषिउपज थोक बजारलाई मेघा परियोजनाका रूपमा अघि बढाउने, तिनाउ–दानव नदी नियन्त्रण, कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाउने र सिँचाइ प्रणाली सुदृढ गर्ने योजना उल्लेखनीय छन् । यसले कृषि उत्पादन र बजार पहुँच दुवैलाई जोड्ने देखिन्छ । जलसम्पदाको संरक्षण, सम्बद्र्धन र सदुपयोगमार्फत समृद्धि हासिल गर्न सकिने संकल्प पौडेलको छ ।

पर्यटन र संस्कृतिः बृहत् लुम्बिनी अवधारणा
बुद्धको जन्मस्थल लुम्बिनी केन्द्रित बृहत् गुरुयोजना, बुद्धसंग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह र बुटवल–बेलहिया क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धताले पर्यटन र व्यापार दुवैलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ । जितगढी किल्ला, पुरानो बुटवल र विभिन्न धार्मिकस्थल संरक्षणसमेत प्राथमिकतामा छन् । यी महत्वपूर्ण पूर्वाधारहरु नेता पौडेलकै पहलमा सुरु भएका हुन् ।

खेल, वातावरण र सुशासन
अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण, क्रिकेट र फुटबल पूर्वाधार सुदृढीकरण, प्रत्येक वडामा खेलमैदान विस्तार गर्ने योजना समेटिएको छ । वन संरक्षण, हरित सहर, भूमिगत विद्युत् लाइन, फोहोरमैला प्रशोधन केन्द्र र स्वच्छ खानेपानी कार्यक्रममार्फत दिगोपनामा जोड दिइएको छ । साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, नियमित जनसुनुवाइ, प्रगति प्रतिवेदन सार्वजनिक गर्ने र जनसहभागितामा आधारित शासन प्रणालीको प्रतिवद्धता व्यक्त गरिएको छ ।

बजेट सुनिश्चितता र स्रोत व्यवस्थापनमा अनुभवको उपयोग
पूर्वअर्थमन्त्रीको हैसियतमा पौडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा आफ्नो अनुभवलाई क्षेत्रीय विकाससँग जोड्ने प्रतिबद्धता जनाएका छन् । संघीय सरकार, प्रदेश र स्थानीय तहबिच समन्वय गरी प्राथमिकताका आयोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्ने, वैदेशिक सहयोग तथा निजी लगानी भित्राउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति अघि सारिएको छ । संकल्पपत्रमा उल्लेख गरिएका ठुला पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने, विगतमा सुरु भएका योजनालाई निरन्तरता दिने र परिणाममुखी अनुगमन प्रणाली विकास गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

यस्ता छन् रणनीतिक योजना
रूपन्देही–२ लाई डिजिटल, औद्योगिक र हरित अर्थतन्त्रको अग्रणी केन्द्र बनाउने स्पष्ट दृष्टिसहित नयाँ विकास संकल्प सार्वजनिक गरिएको छ । क्षेत्रलाई आइटी हबका रूपमा विकास गर्दै स्टार्टअप सिड फन्ड, बिना धितो परियोजना कर्जा र ‘पढ्दै–कमाउँदै’ कार्यक्रममार्फत युवालाई उद्यमशीलतासँग जोड्ने लक्ष्य राखिएको छ । कृषि, इन्जिनियरिङ र प्राविधिक शिक्षामा आधारित शिक्षा हब निर्माण, स्वास्थ्य सेवामा आत्मनिर्भरता, भूमिगत विद्युत्–इन्टरनेट प्रणालीसहित आधुनिक सहरी व्यवस्थापन र खेल पर्यटन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । ‘ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट’ कार्यक्रममार्फत रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ, जसलाई जनसुनुवाइ, प्रगति प्रतिवेदन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिले सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसैसँगै रणनीतिक महत्वका पुर्वाधार आयोजनाहरूलाई तीव्रता दिने योजना पनि अगाडि सारिएको छ । १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण सञ्चालन, सिद्धार्थ राजमार्ग स्तरोन्नति र सिद्धबाबा सुरुङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने तिनाउ नदीमा सिग्नेचर पुल, मोतीपुर औद्योगिक क्षेत्र विकास र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन मार्फत व्यापार–पर्यटन विस्तार गर्ने योजना छ । लुम्बिनी केन्द्रित बृहत् पर्यटन सर्किट, कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना, बेलहिया एकीकृत जाँच चौकी, शिक्षा–स्वास्थ्य पूर्वाधार विस्तार, स्मार्ट बसपार्क, सेमलार कृषि बजार, झुम्सा खानेपानी आयोजना र १३२÷३३ केभी सबस्टेशन निर्माणजस्ता कार्यक्रमले रूपन्देहीलाई समन्वित, दिगो र तीव्र विकासको मार्गमा अघि बढाउने दाबी गरिएको छ ।