बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–२ का युवा अशोक लुइँटेलको छैठो मासिक पुन्य तिथिको अवसरमा परिवारले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लुइटेल परिवारले अशोकको सम्झनामा रक्तदान गरेको हो । अशोक समाजसेवी तथा व्यवसायी लिलाधर लुइटेलका छोरा हुन् । व्यवसाय र विभिन्न क्लबहरुमा आबद्ध अशोकको गत साउन २६ गते ४३ वर्षको अल्पआयुमा घरमा निधन भएको थियो । अशोकका दुई सन्तान छोरा÷छोरी रहेका छन् ।
अशोककी माता (आमा) तारादेवी लुइटेलको अध्यक्षता तथा जेष्ठ नागरिक ९३ वर्षीया मीनबहादुर बोहोराको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो ।सो अवसरमा बोल्दै अशोकका बाबा लिलाधर लुइटेलले छोराको स्मृतिमा सामाजिक काम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको बताए । लिलाधर लुइँटेल आफूले पनि ५५ पटक रक्तदान समेत गरे । सो अवसरमा २४ युनिट रगत संकलन भएको थियो ।
रगतको अभावले कसैको पनि ज्यान नजाओस भन्ने सन्देश दिने आफूले छोराको स्मृतिमा रक्तदान कार्यक्रम राखेको बताए । कार्यक्रमको सञ्चालन नाटु मैनामगर इकाई कमिटीका अध्यक्ष रनबहादुर विश्वकर्माले गरेका थिए । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।
