रुपन्देहीलाई ‘स्पोट्र्स हब’ बनाउने विष्णु पौडेलको प्रतिबद्धता

–बजेट कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जोड

मेचीकाली संवाददाता

१३ फाल्गुन २०८२, बुधबार
20 shares

बुटवल। पूर्वअर्थमन्त्री तथा रुपन्देही–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गर्दै विकास आयोजना र खेल पूर्वाधारका कामहरू रोकिने नभई प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद्बाट पारित बजेट ‘रद्द नभई होल्ड गरिएको’ र छिट्टै खुला हुने उनले बताए । उनले अहिले बनेको कार्की सरकारले बजेट खारेज गरेको भन्ने जिज्ञासा जस्ता विषयलाई सिधै अस्वीकार गरे । बुधबार बुटवलमा आयोजित ‘खेलाडीसँग विष्णुप्रसाद पौडेल’ कार्यक्रममा बोल्दै उनले रुपन्देहीलाई अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधारसहित ‘स्पोट्र्स हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना प्रस्तुत गरे । उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियम निर्माण, खेल पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रसँग खेल क्षेत्रलाई प्रत्यक्ष जोड्ने रणनीति अघि सारिएको उनले बताए ।

रुपन्देहीलाई खेलकुदको नयाँ मानक बनाउने लक्ष्य
पौडेलले सिद्धार्थ क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै निजी क्षेत्रबाट निर्माण गरिएको ‘एक्स्ट्रा टेक ओभेल क्रिकेट मैदान’ सञ्चालनमा सहजीकरण गरिने र प्रदेश गौरव आयोजनाका रूपमा अघि सारिएको उजिरसिंह रंगशाला निर्माण कार्यलाई तीव्रता दिइने जानकारी दिए । कार्यक्रममा खेलकुदका विभिन्न विद्याका खेलाडी, प्रशिक्षक, अफिसियलहरु र सरोकारवाहरुको उल्लेख्य उपस्थिति थियो ।

यस्तै उजिरसिंह रंगशालाको निर्माणमा देखिएको ढिलाइबारे उनले जग्गा प्राप्ति प्रक्रिया, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) सम्बन्धी कानुनी झन्झटका कारण काम प्रभावित भएको स्वीकार गरे । एकपटक सम्पन्न भइसकेको इआइए पुनः गर्नुपर्ने अवस्थाले प्रक्रिया लम्बिएको उनले स्पष्ट पारे तथापि बजेट सुनिश्चित भइसकेकाले बाँकी प्रक्रिया टुंग्याएर काम अघि बढाइने उनले विश्वास दिलाए । बुटवल–१३, जबइमा निर्माण हुने उक्त रंगशाला यसक्षेत्रको नमुना बन्ने दाबी गरिएको छ । यसलाई प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत निर्माण अघि बढाउने तयारी छ ।

खेल पर्यटन र अर्थतन्त्रको सम्बन्ध
पूर्वउपप्रधानमन्त्री पौडेलले खेल क्षेत्रलाई केवल मनोरञ्जनको माध्यम नभई सिप विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा चित्रण गरे । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार बने खेल पर्यटनमार्फत होटल, यातायात, व्यापार र सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढ्ने उनको तर्क थियो ।

‘शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कारण रुपन्देही पहिचान बनाइसकेको छ, अब खेल क्षेत्रलाई पनि राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्छ,’ उनले भने । खेलकुदमा लगानी गर्नु भनेको युवामा लगानी गर्नु भएको उल्लेख गर्दै उनले खेलाडी उत्पादन, प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउन पूर्वाधार निर्णायक हुने बताए ।

समन्वय र संवादको नयाँ पहल
कार्यक्रममा खेलाडी र जनप्रतिनिधिबिच नियमित समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरण भूमिकामा अघि सार्ने प्रस्ताव गरे । सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधान प्रक्रियामा जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सूत्रका रूपमा गौचनलाई जिम्मेवारी दिने उनले बताए ।

सकारात्मक सोच र निरन्तरता
विकास आयोजनामा देखिएका अवरोधलाई निराशाको कारण नबनाई समाधानमुखी दृष्टिकोण अपनाउनुपर्ने उनले जोड दिए । ‘कुनै पनि समस्याको समाधान निराशा होइन,’ उनले भने, ‘प्रतिकूलतालाई सकारात्मक सोचसहित समाधान गर्नुपर्छ ।’ चुनावी कार्यक्रमका दौरानमा उनलाई सालिन, अनुशासित र कसैपनि आक्षेप नलगाउने नेताका रुपमा लिइएको छ । यसको धेरैले प्रशंसा पनि गरेका छन् । उनले प्रतिस्पर्धामा आएका उम्मेदवार, दलका नेता कार्यकर्ता कसैलाई पनि कुनै आक्षेप लगाएर बोलेका छैनन् । उनको चुनावी शैलीको धेरैले प्रशंसा गरेका छन् ।

रुपन्देहीलाई राष्ट्रिय खेलकुदको नयाँ मानक बनाउने लक्ष्यसहित अघि सारिएका योजनाहरूले खेल पूर्वाधार विस्तार, खेल पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणको सन्देश दिएको सहभागी खेलाडीहरुको भनाइ छ । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै वरिष्ठ खेलाडी शक्ति गौचनले यदि प्रस्तावित योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए, रुपन्देही खेलकुद र आर्थिक गतिविधिको संयुक्त केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको उल्लेख गरे ।