‘प्रज्वल बोहरालाई मतदाताको सद्भाव, बाबाले जस्तै काम गर्नु हामी मत दिन्छौं’

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८२, शुक्रबार
142 shares

बुटवल, फागुन १५ । जबजब विकासको चर्चा हुन्छ तब रूपन्देही सुनिने नाम हो, दिवंगत नेता दीपक बोहरा । समग्र जिल्लामा सन्तुलित विकासको काम गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता स्व.बोहराको योगदान अविस्मणीय रहेको जिल्लाबासी बताउँछन् । पञ्चायतदेखि गणतन्त्रसम्म सबैले स्वीकार गरेका उनै पूर्वमन्त्री समेत रहेका दीपकका छोरा प्रज्वल बोहरा रूपन्देही क्षेत्र नम्बर–१ मा पार्टीको तर्फबाट २१ फागुनमा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् ।

बाबुको ‘लिगेसी’ लिएर उम्मेदवार बनेका प्रज्वललाई दीपक बोहराले जस्तै विकासको काम गर्न आग्रह गर्दै मतदान गर्ने क्षेत्रबासीले सद्भाव देखाएका छन् । युवा नेता तथा उम्मेदवार प्रज्वल बाबाको काम र आफ्नो मेहेनेत जोडेर यो क्षेत्रमा जित निकाल्ने गरी चुनावी अभियानमा होमिएका छन् । ‘आईटी’ व्यवसायी तथा समाजसेवी प्रज्ज्वल रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ निवासी हुन् । पार्टीको संगठन पनि बलियो र युवाहरूको भावना बुझेका प्रज्ज्वल जित निकाल्ने दावी गर्छन । देवदह–६ का रिखीराम रेग्मीले धर्म संस्कृतिको रक्षा गर्दै समग्र क्षेत्रको विकासको लागि प्रज्वललाई जिताउनुपर्ने बताए । ‘हामी नेता बहकिदा ८१ प्रतिशत हिन्दू धर्मालम्बी रहेको देश धर्म निरपेक्ष बनाइयो’ उनले भने, ‘देशलाई हिन्दू राज्य बनाउदै समग्र क्षेत्रको लागि प्रज्वलबाबुलाई जिताउनुपर्छ ।’

रोहणी–३ धकधईका रवि चौधरीले नागरिक उन्मुक्ति पार्टी नेता धनिराम चौधरीले राप्रपामा प्रवेशले माहोल धेरै सुध्रिएको बताए । धनिराम चौधरीले अघिल्लो (२०७९) को निर्वाचनमा १४ हजार मत ल्याएका थिए । उनको प्रवेशले राप्रपा उत्साहित भएको छ । ‘रवि चौधरीले धनिरामको प्रवेशले जनलहर बढेको छ, जित निश्चित जस्तै बनेको छ’ उनले भने । देवदह–१ का जामिर अली जोलाहाले सबै राजनीतिक दललाई जनताले हेरेको बताउदै यो पटक राप्रपाका प्रज्वललाई मत दिन सबैलाई आग्रह गरे । ठूला भनिएका राजनीतिक दलप्रति जनताको वितृष्णा देखिएकोले राप्रपाको बोहरालाई हेर्नुपर्ने बताए । देवदहकै रिनु कुमारी केवटले यो पटक विगतमा दीपक बोहराको काम र योगदानलाई स्मरण गर्दै प्रज्वललाई मत दिनुपर्ने बताइन् । देवदह–५ का डिलमाया गुरूङ आफूजस्ता भूमिहीनलाई जग्गा उपलब्ध गराएर बस्ती बसाउनेदेखि सडक निर्माण, सिँचाइ तथा अन्य विकासको काम बोहराले निकै काम गरेको बताइन । यो योगदानलाई कदर गर्न बोहोराका छोरा प्रज्वललाई रोज्नुुपर्ने बताइन् ।

तिलोत्तमा–१७ का लक्ष्मण परियारले दीपक बोहोराको योगदानको कदरका लागि पनि प्रज्वललाई जिताउन आवश्यक रहेको बताए । ‘पञ्चायतकालदेखि नै बोहराले रुपन्देहीको ग्रामीण क्षेत्रमा विकास गर्नुभएको हो’ उनी भन्छन, रुपन्देहीबाट धेरै नेता निर्वाचित भए, तर बोहराको तुलना गर्ने काम गर्न सकेनन ।’ रोहणीका नारायण चौधरीले प्रज्वल बोहरा आइटी इन्जिनियर रहेको बताउदै जिताउन सबै लाग्नुपर्ने बताए ।

उम्मेदवार बोहराले आफू इमान्दारिताका साथ समाजसेवा गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन् । ‘पिताजीको निधनपछि रूपन्देहीका आममतदाताले आफूहरू राजनीतिक रूपमा टुहुरो भएको महसुस गर्दै उहाँकै मार्ग पछ्याउन आग्रह गर्नुभयो’, बोहराले भने, ‘त्यसैक्रममा पार्टीले पनि विश्वास गरेर प्रतिनिधिसभा सदस्यको टिकट दिएपछि म चुनावी मैदानमा उत्रिएको हुँ । आम मतदाताको अभिभावक बन्ने गरी काम गर्ने मेरो सोच छ ।’ आफूलाई जनताले निर्वाचित गराए राजनीतिलाई सेवाको रुपमा अघि बढाउने उनको भनाइ छ ।

त्यसैगरी नागरिक सेवाका लागि दमकल र एम्बुलेन्सको प्रभावकारी व्यवस्थापन गर्ने उनले बताए । चुनावी अभियानको क्रममा अहिले प्रज्ज्वल घरदैलोमा छन् । उनले जनताको साथ र सम्मानले आफूलाई उत्साहित बनाएको बताए । राप्रपाले रुपन्देही–१ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । स्थानीय तह निर्वाचनमा रोहिणी गाउँपालिकामा उपाध्यक्षसहित चार वडामा राप्रपा विजयी भएको थियो । देवदह नगरपालिका वडा नम्बर–११ मा वडाअध्यक्षसहित सबै पदमा राप्रपा विजयी भएको थियो । यही क्षेत्रबाट राप्रपाले प्रदेश सांसद पनि जितेको छ ।

२०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले रुपन्देही–१ मा ११ हजार २ सय ४३ मत प्राप्त गरेको थियो । दिवंगत दीपक बोहोराले गत निर्वाचनमा रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । क्षेत्र नम्बर–३ मा गौरव बोहरा उम्मेदवार छन् ।