रुपन्देही–१: धनिरामको प्रवेशले राप्रपालाई जितको भरोसा

मेचीकाली संवाददाता

१६ फाल्गुन २०८२, शनिबार
23 shares

बुटवल । अघिल्लो २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट झण्डै १४ हजार मत पाएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेसंगै रुपन्देही–१ को चुनावी माहोलमा परिवर्तन आएको छ ।

एक हप्ताअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भैरहवा आएर गत चुनावमा १३ हजार ९६२ मत ल्याएका धनिरामलाई पार्टी प्रवेश गराएसंगै यो क्षेत्रको राप्रपामा उत्साह देखिएको छ । रुपन्देही–१ थारु समुदायको उल्लेख्य जनसंख्या भएको क्षेत्र हो । यो क्षेत्रमा राप्रपाबाट दिवंगत दीपक बोहराका छोरा आईटी उद्यमी प्रज्ज्वल बोहरा उम्मेदवार छन् ।

नेकपा एमालेबाट पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट देवदहका पुर्व मेयर हिराबहादुर खत्री, नेकपाबाट संविधान सभा सदस्य तथा पुर्व मन्त्री घनश्याम यादव, रास्वपाबाट पार्टी महामन्त्री सुनील लम्साल उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यमा सबै उम्मेदवार नयां अनुहार नै हुन् । यो क्षेत्रमा विगतको मत र पार्टीहरुको संगठनात्मक आधार हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नै मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा नेकपा र २०७९ मा स्थापना भएको रास्वपा लगायतका दलहरुको संगठनात्मक अवस्था कमजोर छ । तर रास्वपाका उम्मेदवारलाई देशव्यापी देखिएको लहरले उत्साहित बनाएको छ ।
गत स्थानीय चुनावमा यो क्षेत्रको रोहिणी गाउँपालिकाको ७ वटा वडामध्ये ४ वडाध्यक्ष, पालिका उपाध्यक्ष जितेर कार्यपालिकामा राप्रपा वहुमत छ भने देवदहका वडा नं ११ को अध्यक्ष पनि राप्रपाले जितेको छ ।

यस्तै प्रदेश सभा सदस्य पनि जितेकाले यहां राप्रपाको प्रभाव राम्रो छ । राप्रपाले यो क्षेत्रमा नयाँ अनुहारका रुपमा सूचना प्रविधि ९आईटी० उद्यमी प्रज्ज्वल बोहरालाई उम्मेदवार बनाएसंगै मतदाताको ध्यान तानेका छन् । बुबाको विरासत, पार्टी संगठनको बल र हालै मात्र अघिल्लो चुनावको चौथो स्थानमा करिब १४ हजार मत पाएको उम्मेदवार पार्टी प्रवेशले राप्रपा र प्रज्ज्वल उत्साहित छन् । रोहणी–३ धकधईका रवि चौधरीले नागरिक उन्मुक्ति पार्टी नेता धनिराम चौधरीले राप्रपामा प्रवेशले माहोल धेरै सुध्रिएको बताए । धनिराम चौधरीले अघिल्लो ९२०७९० को निर्वाचनमा १४ हजार मत ल्याएका थिए । उनको प्रवेशले राप्रपा उत्साहित भएको छ । ‘रवि चौधरीले धनिरामको प्रवेशले जनलहर बढेको छ, जित निश्चित जस्तै बनेको छ’ उनले भने । देवदह–५ का डिलमाया गुरूङ आफूजस्ता भूमिहीनलाई जग्गा उपलब्ध गराएर बस्ती बसाउनेदेखि सडक निर्माण, सिँचाइ तथा अन्य विकासको काम बोहराले निकै काम गरेको बताइन । यो योगदानलाई कदर गर्न बोहोराका छोरा प्रज्वललाई रोज्नुुपर्ने बताइन् ।

तिलोत्तमा–१७ का लक्ष्मण परियारले दीपक बोहोराको योगदानको कदरका लागि पनि प्रज्वललाई जिताउन आवश्यक रहेको बताए । ‘पञ्चायतकालदेखि नै बोहराले रुपन्देहीको ग्रामीण क्षेत्रमा विकास गर्नुभएको हो’ उनी भन्छन, रुपन्देहीबाट धेरै नेता निर्वाचित भए, तर बोहराको तुलना गर्ने काम गर्न सकेनन ।’ रोहणीका नारायण चौधरीले प्रज्वल बोहरा आइटी इन्जिनियर रहेको बताउदै जिताउन सबै लाग्नुपर्ने बताए ।

‘मैले गत चुनावमा पाएको मतको कम्तीमा आधा मत यसपटक राप्रपाले पाउंछ, म त्यही ढंगले आफ्नो समुदायमा खटेको छु’ धनिराम चौधरीले भने–‘यो चुनाव देश र देशको राष्ट्रियता, धर्म संस्कृति जोगाउने चुनाव पनि हो ।’ रोहिणी–३ धकधईका रवि चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी राप्रपामा प्रवेशले राप्रपाको पक्षमा माहोल बढेको बताए । ‘धनिराम यता आएपछि धेरै थारु समुदायको मत तानिन्छ, उनको प्रवेशले माहोल तातेको छ’ उनले भने ।
स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिष्पर्धामा रहेको यो क्षेत्रमा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ पर्छन् । त्यसैगरी नेकपाका उम्मेदवार यादव २०६४ सालको संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सभासद हुन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाको गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले जितेका थिए । उनले २४ हजार ८ सय ८२ मत प्राप्त गर्दा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले २१ हजार ३ सय १८ मत प्राप्त गरेका थिए । रास्वपाका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १४५, नागरिक उन्मुक्ति पार्टीले १३ हजार ९ सय ६२ र जनमत पार्टीले पाँच हजार १ सय ६९ मत प्राप्त गरेको थियो ।

समानुपातिक तर्फ २०७९ को चुनावमा यस क्षेत्रबाट कांग्रेसले १९ हजार १ सय २५, एमालेले १५ हजार ७ सय २४, राप्रपाले ११ हजार २ सय ४३, रास्वपाले १५ हजार ८ सय र माओवादी केन्द्रले ३ हजार ७३ मत प्राप्त गरेको थियो । १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा २० स्वतन्त्रसहित ३१ जना उम्मेदवार छन् । ४५ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र छन् ।