प्रहरी निरीक्षक अर्जुन पौडेल लुम्बिनी प्रदेशमै ‘उत्कृष्ट प्रहरी’

मेचीकाली संवाददाता

४ चैत्र २०८२, बुधबार
357 shares

बुटवल । सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याउँदै आएका प्रहरी निरीक्षक अर्जन पौडेल ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा फागुन महिनाका लागि प्रहरी निरीक्षक पौडेललाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी निरीक्षक पौडेल हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत छन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार प्रहरी निरीक्षक पौडेलले संगठनको नीति–निर्देशन अनुरूप आफ्नो पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, वफादारी र उच्च व्यवसायिकताका साथ निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका छन् । यही योगदानको कदरस्वरूप उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी निरीक्षक पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा शान्ति–सुरक्षा कायम गर्दै अमनचयनको वातावरण निर्माण गर्न सफल भएको प्रहरी संगठन को निष्कर्ष छ । नियमित प्रहरी कार्यसम्पादनका अतिरिक्त विभिन्न आपराधिक घटनाको अनुसन्धान, अवैध चोरी–तस्करी नियन्त्रण, लागुऔषध दुव्र्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि, महिला हिंसा न्यूनीकरण तथा फरार प्रतिवादीहरूको खोजतलास गरी फैसला कार्यान्वयनमा प्रहरी निरीक्षक पौडेलले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

सम्मान प्राप्तिपछि आफ्नो मनोबल अझ उच्च बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउने गरी अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने बताए ।