एमालेमा नेतृत्व र संगठनको रुपान्तरण जरुरीः नेता पाण्डे

मेचीकाली संवाददाता

८ चैत्र २०८२, आईतवार
9 shares

बुटवल। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालका राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् । पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे । चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नेपाली राजनीति र अबको परिदृश्य’ विषयक कार्यक्रममा नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे ।

पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने बताउँदै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद् भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुईदुई पटक संसद् विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा सुरु भएको पाण्डेले औंल्याए ।

‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसले मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चारवटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्कोपटक स्कुटीमा आउँछ रे भन्ने छ/रहेछ,’ पाण्डेले थपे, ‘अब पनि ठिक बाटो नलिए भक्तपुरमा नारायणमान बिजुक्छेले सधैं चढ्दै आएको स्कुटी पनि खोसिएजस्तै स्थितिमा पुग्दै छौं ।’ अबको राजनीति डिजिटलमा स्मार्ट रहेकाहरूको भएको पाण्डेको भनाइ छ ।’ कुनै बेला फिजिकल बेस राजनीतिक संगठन थियो, त्यसमा हामी सफल थियौं । अब डिजिटल अर्गनाइजेसनमा अवस्थामा आइपुग्यो,’ उनले भने । अब बन्ने नयाँ सरकारले घमण्ड र महत्वकांक्षा राखे २०७४ मा नेकपा बजारिएजस्तै हुनसक्ने उनले दाबी गरे ।

कोशी प्रदेशमा एमाले अहिलेको निर्वाचनमा चौथो भयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री उम्मेदवार, सभामुख, पूर्व अर्थमन्त्री (युवराज खतिवडा) भएको प्रदेशमा पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रो माटो (श्रम संस्कृति पार्टी) र चौथौ एमाले भयो । प्रदेशमा झण्डै बहुमत दलको अवस्था किन यस्तो भयो भनेर किन अब पनि नसोच्ने पाण्डेले प्रश्न गरे । संकल्प गरेर अगाडि बढे खराबै खराब अवस्था पनि नभएको उनको धारणा छ । अब पूरै कार्यशैली बदलिनुपर्छ । अब फगत कुरामात्र गरेर सुधार सम्भव छैन । हरेक वडाको पार्टी सदस्य संख्या र अहिले पाएको मत तुलना र समीक्षा गरेर पार्टी पुनःसंरचना गर्न कार्यकर्ता तह जाग्नुपर्ने पाण्डेले आग्रह गरे । पाण्डेले अब स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका उम्मेदवारलाई टिकट सम्बन्धित पार्टी कमिटीले निर्णय गर्न पाउनुपर्ने व्यवस्था गरेमा पार्टी संगठन स्थानीय तहसम्म विकेन्द्रीत र बलियो हुने औंल्याए । यसपटकको निर्वाचनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको पहुँचको प्रभावले ठूलो असर गरेको स्वीकारे । युवादेखि ज्येष्ठ मतदातासम्मको दूरी बढेको उल्लेख गर्दै उनले एमालेलाई ३० वर्षमुनिका अधिकांश युवाले भोट नहालेको र ६० माथिका भोट हाल्नै नगएको तर्क गरे ।

एमालेले संरचनागत आमूल सुधार र कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट मात्र जित्ने टिप्पणी गरे । ‘सबैले रिथिंक गरौं, कमजोरीप्रति निर्मम बनौं अनि मात्रै हाम्रो सही बाटो पहिलिन्छ,’ पाण्डेले भने, ‘अन्यथा हेर्दाहेर्दै सामूहिक मलामी जाने दिन आउँछ ।’

‘नयाँ बन्दै गरेको सरकारलाई शुभकामना छ । देश बनेछ भने हामी पनि ताली पिटौँला,’पाण्डेले भने, ‘हाम्रो अनुभवले सबैभन्दा ठुला रुपमा विजयी भएका सबैभन्दा पछारिएका घटना धेरै रहेको सुनाए । ‘एक्ट्रिम पावर’मा गएकाहरु घमण्ड र महत्वकांक्षाका कारण एकैपटक बजारिन्छ । हामी पनि २०७४ मा बजारिएको हो । दिगविजय भन्ने थियो । त्यसैलाई टिकाउन सकेनौं सारा कुरा गए । पछारिँदै जाँदा यहाँ आइपुगियो ।’ ‘तर, उनीहरु बिग्रिए हामी खाऔँला भनेर बस्नुहुँदैन । यो गलत कुरा हो । कसैले पनि अर्को बिग्रिन्छ अनि मेरो पालो आउँछ भनेर बस्नु हुँदैन । कसैले अर्को बिग्रिन्छ र हामीले पालो आउँछ भनेर बस्न हुँदैन ।’ पाण्डेले थपे । कार्यक्रमको उद्देश्यमाथि चिन्तन अभियान नेपालका अध्यक्ष बसन्तराज खनालले प्रकाश पारेका थिए ।