स्मार्ट गाउँका स्मार्ट कृषक

मेचीकाली संवाददाता

२० असार २०७८, आईतवार
525 shares

टोपलाल अर्याल
गुल्मी, असार २० । गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगाका दानबहादुर पल्ली स्मार्ट कृषि गाउँका स्मार्ट कृषक हुन् । उनको कृषि मोह गज्जबको छ । उनले बारी टमाटरका टनेल र तरकारीले भरिएको छ भने मन खुुुसीले । पल्लीको सपना भारतीय लाहुुरेदेखि युरोपसम्मको हो । अधुुरो सपनाले थुप्रै पैसा पनि डुबाए । तर, सोचेअनुसार परदेश भएन । फर्किएर सबै पसिना कृषिमा बगाएका छन्् । त्यसैले पल्ली अहिले जिल्लाका सफल कृषि उद्यमीमध्ये पर्छन् । उनले व्यावसायीक बंगुरपालन र तरकारी उत्पादन गर्छन् ।

गुल्मीसहित पाल्पा, अर्घाखाँची, स्याङ्जा र रुपन्देहिमा बंगुरको कारोबार राम्रो हुने भएकाले खर्च कटाएर वार्षिक १२ देखि १५ लाख घरमै बसेर पल्लीले कमाउँछन् । गतवर्षको सिजनमा दुई सय क्विन्टल टमाटर बेचेका पल्लीले अहिले चार सय क्विन्टल बेच्ने योजना बनाएका छन् । हुँगा गाउँमा दानबहादुर जस्ता ५० जना कृषकहरुले व्यावसायीक तरकारी उत्पादनको काम गरिरहेका छन् । सोही गाउँका लेखनाथ भण्डारी पनि व्यावसायीक तरकारी खेतीबाट सन्तुष्ट छन् । उनले कार्यक्रम सञ्चालन भएपछि बारी राख्ने अवस्था नरहेको बताए ।

स्मार्ट गाउँ कार्यक्रम पनि आफूहरुलाई सीप, प्रविधि, अनुदान र ऊर्जा बढेकाले व्यवसायी रुपमा तरकारी खेती गर्नेहरुको लहर बढेको भण्डारीले बताए । ‘हिउँदमा पनि बाँझा खेतबारी बेमौषमी तरकारीले हरिया बनेका छन्, त्यो कार्यक्रमले थपेको आत्मवलको परिणाम हो,’उनले भने,‘उत्पादनसँगै बजारीकरणमा पनि ध्यान पुराउनुपर्छ ।’ कृषि ज्ञानकेन्द्र गुल्मीमार्फत हुँगामा ०७६ सालबाट स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएको छ । जसका कारण २ सय ५० रोपनी क्षेत्रफलमा स्थानीय कृषकहरुले व्यावसायीक तरकारी खेती गरिरहेका स्मार्ट कृषि गाउँ कार्यक्रम हुँगाका सचिव बुद्धिबहादुर सारुले बताए ।

स्मार्ट गाउँ कार्यक्रमको लागि पहिलो वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पकेट समूहको १० लाख र दोस्रो वर्ष लुम्बिनी प्रदेश सरकारको ३७ लाख ५० हजार, स्थानीय सरकारको ७ साल ७८ हजार ५ सय र कृषकको श्रमदान ३ लाख ३७ हजार ५ सय गरेर ४८ लाख ७५ हजार खर्च भएको कार्यक्रमका फोकल प्रर्सन तथा कृषिज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरिप्रसाद आचार्यले बताए । आचार्यका अनुसार स्मार्ट गाउँ कार्यक्रमअन्तर्गत छत्रकोट गाउँपालिकामा तरकारी उत्पादन, मदाने गाउँपालिकामा गाईभैंसी पालन, धुर्कोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रापालन, गुल्मीदरबार गाउँपालिकामा खाद्यान्यबाली उत्पादन, मुसिकोट नगरपालिकामा मौरीपालन, चन्द्रकोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रा पालन तथा रुरु क्षेत्र गाउँपालिकामा आलु र तरकारीको व्यावसायीक उत्पादनको काम भइरहेको छ ।

यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो । व्यावसायीक कृषि तथा पशुपालनको माध्यमबाट नागरिकलाई पोषक, सिचाइँ, कार्बन, बजार र सामाजिक तथा लैगिंक रुपमा स्मार्ट बनाउने उद्देश्य कार्यक्रमको रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कोमल शाहीले जानकारी दिए । पछिल्लो समय जिल्लामा व्यावसायीक कृषि र पशुपालन गर्नेहरुको संख्या वृद्धि भएको छ । प्रदेश र स्थानीय सरकारले करोडौ रुपैयाँ कृषि र पशुपानलको क्षेत्रमा खर्च गरेका छन् । तर, बजारीकरणको दिगो व्यवस्थापन नहुँदा कृषकहरुले सोचेअनुसारको काम गर्न सकिरहेका छैनन् ।

स्मार्ट कृषि गाउँको अनुगमन गर्न पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँमा कृषकहरुको तरकारी उत्पादन गरेको देखेर प्रभावित भएको प्रतिक्रिया दिइन् । उनले जिल्लाको उत्पादन जिल्लाकै बजारहरुमा नपाउने अवस्थाको अन्त्य गर्न स्थानीय तहहरुले समन्वय गर्नुपर्नेमा शर्माको जोड छ । ‘जिल्लाको मुख्य बजारमा जिल्लाको उत्पादन छैन । हाम्रो तरकारी बुटवल पुराएर उपभोक्ताले कहिलेसम्म बाहिरको तरकारी खाने ?’ उनले भनिन,‘स्थानीय सरकारले त्यसको बिकल्प खोज्नुपर्छ ।’