सहकारी दिवसमा गुल्मीमा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित

मेचीकाली संवाददाता

२१ चैत्र २०८२, शनिबार
12 shares

गुल्मी । गुल्मीमा ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित भएका छन् । जिल्ला सहकारी संघ गुल्मीको आयोजनामा ‘उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । उत्कृष्ट सहकारीमा छत्रकोट गाउँपालिकास्थित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र धुर्कोट गाउँपालिकास्थित हिमचुली कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ मुसिकोट नगरपालिकास्थित वडागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक विवेकपेमी मगर तथा लेकाली स्वालम्बन बचत तथा ऋण सहकारी सस्थाका प्रदीप पन्थीलाई सम्मान गरिएको जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले जानकारी दिए । साथै कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे अन्तक्र्रियासमेत गरिएको छ । कार्यक्रममा सहकारी क्षेत्रले हाल भोगिरहेका समस्या, वित्तीय अनुशासन, सदस्यको विश्वास, पारदर्शिता तथा उत्पादनमुखी गतिविधिहरूको आवश्यकता जस्ता विषयमा गम्भीर छलफल गरिएको थियो । वक्ताहरूले सहकारीलाई केवल बचत तथा ऋणको सीमित दायराबाट बाहिर ल्याई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले सहकारी क्षेत्र अहिले जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । उनले सहकारीहरू स्वनियमन, स्वअनुशासन र पारदर्शिताका आधारमा सञ्चालन हुनुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गरे । कार्यक्रममा उपाध्यक्ष सोमनाथ सापकोटाले ६९ वर्ष लामो सहकारी इतिहासलाई स्मरण गर्दै अबको प्राथमिकता उद्यमशीलता र पारदर्शिता हुनुपर्ने बताए । उनले सहकारीमा अनियमितता गरेर बदनाम गर्ने केही व्यक्तिका कारण समग्र अभियान प्रभावित भएकाले संस्थाहरुको सवलीकरण र अनुशासनमा जोड दिए ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख ऋषिराम पन्थीले सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी गराउँदै सहकारीमार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिने बताए । कार्यक्रमकै बिचमा सहकारीका अध्यक्ष थापाद्वारा सहकारीको उपयोगिता र यसबाट प्राप्त हुने लाभबारे तयार पारिएको चेतनामूलक भिडियो पनि सार्वजनिक गरिएको थियो ।