टोपलाल अर्याल
गुल्मी । गुल्मीको मालिकामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा तेह्र सयले सेवा लिएका छन् । मालिका गाउँपालिका-७ घमिरमा खेलकुद तथा सांस्कृतिक युवा क्लवको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा १३८ जनाले भिडियो एक्सरे तथा १०५ जनाले इसिजी गरेको क्लवले जनाएको छ ।
खेलकुद तथा सांस्कृतिक युवा क्लवका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण बिशेषज्ञ डाक्टर रमेश अर्याल, बरिष्ठ कन्सल्टेन्ट फिजिसियन गोल्ड मेडलिस्ट बिशेषज्ञ डाक्टर सुमन आचार्य, नाक, कान र घाँटी रोग बिशेषज्ञ डाक्टर सन्तोष बस्नेत, एमडिजीपी डा.सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे र आशिष भुर्तेलसहितका डाक्टरबाट बिरामीहरुको स्वास्थ्य परिक्षण तथा औषधि वितरण भएको थियो । शिविरमा इसिजी, भिडियो एक्सरे र औसधि निःशुल्क वितरण गरिएको थियो ।
मालिका गाउँपालिका र छिमेकी पालिकाका समेत नागरिकले अत्यधिक उर्जाका साथ शिविरमा आएर निस्शुल्क सेवा लिएकोमा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष सुमन पन्थीले बताउनु भयो । विशेषज्ञ डाक्टरहरु भेट्न ठुला सहर जानुपर्ने र हजारौं रकम खर्च हुँदा रोग लुकाएर बस्न बाध्य ग्रामिण नागरिकलाई निशुल्क स्वास्थ्य सेवाको पहुँच दिलाउनुनै क्लबको सबैभन्दा ठुलो खुसी भएको पन्थीले बताउनु भयो । उहाँले भन्नुभयो ‘आर्थिक अभाव र विभिन्न कारणले गाउँमै रोग लुकाएर बस्न बाध्य हुनेहरूका लागि शिविर निकै प्रभाबकारी बन्यो । तेह्र सय नागरिक शिविरबाट लाभान्वित भएका छन् ।’
स्थानीय गाउँमै विशेषज्ञ भेट्दा खुशी थिए । घमिर २७ लाई एक महिनादेखी रातमा निद्रा लाग्थ्येन । उहाँले खानामा अरुची र थकान बढेकाले बुटवल झरेर उपचार गर्ने सोच बनेका बेला गाउँमै आएको शिविर अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिनुभयो । यस्ता शिविर कम्तीमा तीन महिनामा एक चोटि गाउँमा जरुरी रहेको उहाँले बताउनुभयो ।
