बुटवल, चैत २२ । अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले जिल्लाको समग्र विकास निर्माणका लागि दलिय आग्रह र पूर्वाग्रह त्यागेर सबै अर्घाखाँचीबासीको साझा सेवकका रूपमा काम गर्ने बताएका छन् । उनले अब कुरा होइन, काम गरेर देखाउने समय आएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भुसालले विकासका विभिन्न योजनाहरूलाई तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै अर्घाखाँची जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको र आगामी दुई महिनाभित्र उक्त प्रक्रिया सम्पन्न हुने बताए ।
त्यसैगरी गोरुसिङ्गे–सन्धिखर्क सडकलाई डबल लेनमा विस्तार गर्ने काम पनि छिट्टै सुरु हुने उनले स्पष्ट पारे । उक्त सडक स्तरोन्नतिले जिल्लाको यातायात, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
सांसद भुसालले विकास निर्माणका कामलाई पारदर्शी, दिगो र जनमुखी बनाउने प्रतिबद्धता दोहोर्याउँदै अर्घाखाँचीलाई समृद्ध र व्यवस्थित जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफू निरन्तर क्रियाशील रहने बताउँदै नयाँ वषको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण बेलवासेले भूमिकास्थानबाट विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रुपन्देही आएर बसेकाहरुलाई गोलबद्ध गर्दै समाजले हरेक वर्ष क्यालेन्डर प्रकाशनसँगै, रक्तदान, सरसफाई लगायत बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । साथै उनले राजनीतिभन्दा माथी उठेर समाजलाई थप बलियो बनाउनका लागि सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रहसमेत गरे ।
यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका–१३ का जनप्रतिनिधि लालबहादुर गुरुङ, सदस्य गिता बञ्जाडे, सल्लाहकार कमल खनाल, रामप्रसाद भुसाल, प्रोजेक्टको तर्फबाट उमलाल बञ्जाडे लगायतले आआफ्नो भनाई राख्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउँदै आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा समाजलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
सोही अबसरमा निर्वाचित सांसद भुसाललाई समाजको तर्फबाट सम्मानसमेत गरीएको थियो । भने समाजका नयाँ आजिवन सदस्यहरु कमला बेलबासे, संगिता घिमिरे, योगेन्द्र खनाल, बसन्ता भाटलाई आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरीएको थियो । यस्तै संस्थामा रहेर उत्कृष्ट काम गर्ने उपाध्यक्ष दोमलाल चुँदाली र लेखा सदस्य गोमा श्रेष्ठलाई पनि सम्मान गरीएको थियो ।
कार्यक्रममा जीवलाल पन्थी, उमलाल बञ्जाडे, हेमन्त मरासिनी, गोपाल बञ्जाडे, नारायणप्रसाद बञ्जाडे, शिव आचार्य, टेकराज भुसाल, गिता बञ्जाडे, कृष्ण खनाल, रामप्रसाद भुसाल, शान्ता बेलबासे (भुसाल), मुमुन्द बेलबासे, अभय पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समाजका उपाध्यक्ष डुण्डीराज खनालको स्वागत तथा सचिव यमप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
