विजय टोल विकास संस्थाको क्यालेन्डर विमोचन

मेचीकाली संवाददाता

२४ चैत्र २०८२, मंगलवार
53 shares

बुटवल । विजय टोल विकास संस्थाले नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच बुटवल–१३ का जनप्रतिनिधि मन्दिरा गौडेलले क्यालेन्डर विमोचन गरिन् । सोही अबसरमा बोल्दै उनले विजय टोलले उत्कृष्ट काम गर्दै आएको बताउँदै अन्य टोलहरुले पनि यहाँबाट धेरैकुरा सिक्न जरुरी रहेको बताइन् । विजय टोलको सम्पूर्ण पूर्वाधार तयार भइसकेकाले अब यसलाई नमुना टोल बनाउन एकजुट हुनुपर्ने उनले बताउदै उनले नयाँ वषको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद गैरेले भित्तेपात्रो प्रकाशनमा आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै हालसम्म संस्थाले गरेका काम र आगामी योजनाहरुबारे जानकारी गराए । संस्थाले हरेक वर्ष क्यालेन्डर प्रकाशनसँगै, रक्तदान, सरसफाई लगायत बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताउँदै उनले थप संस्थालाई बलियो बनाउनका लागि सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रहसमेत गरे । आगामी आर्थिक वर्षमा स्थानिय र प्रदेश सरकारबाट बजेट माग गरी नमुना टोल बनाउन पहल गर्ने अध्यक्ष गरैरेले बताए ।

यस्तै कार्यक्रममा विजय टोल आमा समूहका अध्यक्ष मन्जु पौडेल, संस्थाका सहसचिव लक्ष्मी नेपाल, सल्लाहकार संयोजक केशवराज न्यौपाने लगायतले आ–आफ्नो भनाई राख्दै संस्थालाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउनुपर्ने बताए । कार्यक्रम ध्रुव सापकोटाको स्वागत तथा संस्थाका सचिव दिनानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।