ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाः विश्व बैंकको ८५ मिलियन डलर ऋण स्वीकार

मेचीकाली संवाददाता

२४ चैत्र २०८२, मंगलवार
14 shares

अमृत गिरी

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै तयार गरिएको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि सरकारले ८५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो । योसंगै अब यसक्षेत्रको एउटा अर्को ड्रिम प्रोजेक्ट कार्यान्वयनमा जाने भएको छ ।

सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय तह र विश्व बैंकको सहकार्यमा कार्यान्वयन हुने यस परियोजनाको प्रस्ताव अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिएको थियो । सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलका अनुसार अब प्रक्रियागत काम तीव्र रूपमा अघि बढ्नेछ ।

‘प्रक्रियागत निर्णय भइसकेपछि अबका अगाडिका प्रक्रिया पनि फटाफट अगाडि बढलान्, पक्कै ढिलाई हुँदैन,’परियोजनाको समग्र विषय हेर्ने सहरी विकास मन्त्रालयका महाशाखा प्रमुख सहसचिव प्याकुरेलले मेचीकालीलाई बताए ।
यसअघि विश्व बैंकको बोर्ड बैठकले पनि परियोजनाका लागि ऋण स्वीकृत गरिसकेको थियो । अमेरिकाको वासिङ्टन डिसीमा मार्च १३ मा बसेको बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला समेट्ने गरी परियोजनालाई समर्थन गरेको थियो । त्यसको करिब १ महिनापछि नेपाल सरकारले सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।

परियोजनाको कुल लागत १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रहने अनुमान गरिएको छ । यसमा पालिकाहरुका थप बजेट मागका विषयमा भने प्रष्टाइएको छैन । पालिकाहरुले विश्व बैंकका अधिकारीहरुसंग ज्ञापनपत्र समेत बुझाएका थिए ।
यो महत्वपूर्ण परियोजनाका लागि आवश्यक प्रक्रिया यसअघिको केपी ओली नेतृत्वको सरकारका पालामा अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेलले अगाडि बढाएका थिए । लामो समयदेखि स्रोत जुटाउने प्रयासमा थिए । पछिल्लो डेढ वर्षको सक्रिय पहलपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने अवस्था सिर्जना भएको छ ।
परियोजनाअन्तर्गत मायादेवी मन्दिर, अशोक स्तम्भ, तिलौराकोट र रामग्राम स्तूप जस्ता बौद्ध सम्पदाको संरक्षण तथा प्रवद्र्धन गरिनेछ । यी स्थलहरू बुद्धको जन्म, बाल्यकाल र अस्तुधातुसँग सम्बन्धित भएकाले अन्तर्राष्ट्रिय रूपमा समेत महत्वपूर्ण मानिन्छन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राइका अनुसार परियोजनामा लुम्बिनीको पवित्र उद्यान, तिलौराकोट र रामग्रामबाट यसको कामको थालनी हुनेछ । ‘ चरण चरणमा काम अगाडि बढ्ने सुनिएको छ, अब केही दिनमै नेपाल सरकारबाट थप औपचारिक जानकारी प्राप्त होला,’ डा.राइले भने ।
पूर्वमा नवलपरासीको बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटासम्म फैलिएको भूभागलाई ‘बृहत्तर लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यी तीन अलग अलग जिल्ला हुन् । यी तीनवटै जिल्ला बौद्ध सम्पदाले महत्वपूर्ण मानिन्छन् । कपिलवस्तुमा शाक्य वंशको दरबार, लुम्बिनीमा बुद्धको जन्म र नवलपरासीमा बुद्धको एकमात्र अस्तुधातु रहेको ठाउँ भएकाले यी सबैको उत्तिकै महत्व छ ।

पूर्वमा नवलपरासीको बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको चन्द्रौटासम्म फैलिएको क्षेत्रलाई ‘बृहत्तर लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । परियोजनाले पर्यटन पूर्वाधार सुधार, आगन्तुक सुविधा विस्तार, गन्तव्य व्यवस्थापन र स्थानीय आर्थिक विकासमा विशेष जोड दिनेछ ।

प्रमुख लक्ष्य सम्पदा संरक्षण र पर्यटन विकासमार्फत रोजगारी विस्तार
परियोजनाले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । विशेषगरी मायादेवी मन्दिर, पवित्र पुष्करिणी पोखरी, अशोक स्तम्भ, तिलौराकोट र रामग्राम स्तूप जस्ता महत्वपूर्ण बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनेछ । तिलौराकोटलाई प्राचीन शाक्य राज्यको राजधानी तथा भगवान् बुद्धको बाल्यकालसँग सम्बन्धित स्थलका रूपमा लिइन्छ भने रामग्राम स्तूपलाई बुद्धका मूल अवशेष सुरक्षित रहेको एक मात्र अक्षुण्ण स्तूप मानिन्छ ।
परियोजनाले पर्यटन पुर्वाधार सुधार, आगन्तुक सुविधा विस्तार, गन्तव्य व्यवस्थापन र स्थानीय आर्थिक विकासमा जोड दिनेछ । साथै महिला र युवामुखी उद्यम प्रवद्र्धन, सीप विकास तथा निजी क्षेत्रको सहभागिता बढाइनेछ ।