बुटवल । सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) मोटरसाइकल इकाइ कमिटी बुटवलले शनिबार आयोजना गरेको ट्राफिक सचेतना तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, यात्रु, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताइन् । ‘बढ्दो दुर्घटनाका कारण हाम्रो समाज आक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिकसमेत गुमाउनुपरेको छ, यस्तो भयाबह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ ।’ उनले भनिन् । उपमहानगरले बेलाबेला ट्राफिक सचेतना अभियान सञ्चालन गर्दै आएको बताउँदै उपप्रमुख अर्यालले आगामी दिनमा सहकार्य गर्न तयार रहेको बताइन् ।

नेपाल अटो–मेकानिक्स ट्रेड युनियन नगर अध्यक्ष तथा नाडा केन्द्रीय उपाध्यक्ष गणेशप्रसाद भट्टराईले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै सडक दुर्घटना न्यूनीकरण हुन नसक्ने भन्दै यसका लागि सवारी चालक र नागरीकहरु पनि जिम्वेवार हुनुपर्ने बताए । सवारी साधनको प्रयोग दिनानुदिन बढ्दा ट्राफिक नियम र लेन अनुशासनबारे जानकारी आबश्यक रहेकोमा उनले जोड दिए । पछिल्लो समय मोटरसाइकल चोरी हुनेक्रम बढेको र त्यसको स्वरुप परिवर्तन गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको बताउँदै उनले यसको नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय बुटवलका प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानुप्रसाद पाण्डेले पछिल्लो समय नेपालमा सडक दुर्घटनाको ग्राफ बढ्दै जानुको मुख्य कारण ट्राफिक सचेतनाको कमी भएको बताए । विगतमा हरेक दिन ५ देखि ७ वटासम्म दुर्घटना हुने गरेकोमा अहिले दैनिक ६ देखि ९ वटासम्म दुर्घटना हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले विश्वमा सडक दुर्घटनाबाट वार्षिक १३ देखि १५ लाख मानिसको मृत्यु हुँदा नेपालमा झण्डै ३ हजार मानिसले ज्यान गुमाउँदै आएको बताए ।
सडक दुर्घटनाबाट हुने क्षति अकल्पनीय हुने बताउँदै वरिष्ठ नायब निरीक्षक पाण्डेले यसको न्यूनीकरणका लागि विद्यालयमा कक्षा १ देखि नै ट्राफिक शिक्षाको आवश्यकता रहेको औँल्याए । उनले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गरी उल्लंघनकर्तामाथि आवश्यक कारबाही गर्दै आएको स्पष्ट पारे । नेपालको सन्दर्भमा ७० प्रतिशत दुर्घटना मानवीय कारण र ३० प्रतिशत दुर्घटना यान्त्रिक कारणले हुने भन्दै वरिष्ठ नायब निरीक्षक पाण्डेले ट्राफिक शिक्षालाई सरकारले पाठ्यक्रममा समावेश गरी सचेतना दिनुपर्ने बताए । प्रहरीले जहिले पनि दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताउँदै उनले जेब्राक्रसमा पैदल यात्रुलाई प्राथमिकता दिनुपर्ने र आकाशे पुल भएका स्थानमा पैदल यात्रीले सडक पार गर्दा अनिवार्य रुपमा पुलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालका सडकमा सवारीको चाप उल्लेख्य रूपमा बढ्दा देशभर सवारी साधनको संख्या ८० लाख नाघिसकेको छ । विशेषगरी दुईपाङ्ग्रे सवारी साधनको अत्यधिक वृद्धि नै दुर्घटना बढ्नुको प्रमुख कारण रहेको र करिब ८० प्रतिशत दुर्घटनामा मोटरसाइकल संलग्न रहेको सरकारी तथ्यांकले देखाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष तथा सुरक्षित यात्रा नेपालका संयोजक दिनेश पाण्डेले दुर्घटना न्यूनीकरणका लागि आफूबाटै अभियान सुरु गर्नुपर्ने बताए । नागरिक सचेत नभएसम्म सडक दुर्घटना घटाउन कठिन हुने बताउँदै उनले नागरिकलाई दुर्घटनाका बिषयमा सचेत बनाउनु पहिलो आवश्यकता भएको बताए । सवारीसाधनको दुरुपयोगले वर्षेनी दुर्घटनासँगै त्यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको भन्दै उनले सबै आआफ्नो ठाउँबाट एकजुट हुनुपर्नेमा जोड दिए । ट्राफिक सचेतना कार्यक्रम तथा सचेतनामुलक बोर्ड राख्नका लागि सुरक्षित यात्रा नेपाल सहकार्य गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) मोटरसाइकल इकाइ कमिटी बुटवलका अध्यक्ष कृष्ण घिमिरेले पछिल्लो समय बढ्दो सवारी चाप र लापरवाहीका कारण सडक दुर्घटना बढ्दै गएको अबस्थामा ट्राफिक सचेतनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरीएको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उनले बताए । कार्यक्रम इकाइ कमिटी बुटवलका सचिव महेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
