निजामती कर्मचारी संगठन रुपन्देहीद्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

८ बैशाख २०८३, मंगलवार
138 shares

बुटवल । निजामती कर्मचारी संगठन रुपन्देहीले स्थापना दिवसको अवसरमा नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान तथा वर्तमान समयमा ट्रेड युनियनको आवश्यकता, महत्व र भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज नारायणप्रसाद भण्डारीले नयाँ सरकार गठन भएसँगै दलनिकट ट्रेड युनियन रहने कि नरहने भन्ने अन्यौलको अवस्था सिर्जना भएको बताउँदै अहिलेको अबस्थामा संगठनलाई जोगाउन सबैले पहलकदमीसँगै एकजुट भएर अघि बढ्नुपर्ने आबश्यकता औँल्याए । लामो समयदेखि निजामती सेवा ऐन जारी हुन नसक्दा त्यसको असर नियमित सेवा प्रवाहमा देखिएको उनले बताए । ऐन जारी नहुँदा तीनै तहमा कर्मचारी भर्ना गर्न समस्या भएको, भएको, सरुवा प्रणालीमा बेथिति भएको, कर्मचारीको सेवासुविधामा अन्योल भएको उल्लेख गर्दै उनले कर्मचारीको मनोबल बढाउन ऐन तत्काल ल्याउनुपर्ने बताए ।

संगठनका पुर्व केन्द्रिय अध्यक्ष गणेश बश्यालले बिभिन्न समस्या र चुनौतीका बिच संगठनले आजको सफलता पाएको बताए । विगत देखिनै कर्मचारीका हकहितका लागि काम गर्दै आएको संगठन जोगाउने अभियानमा एकजुट हुन उनले आग्रह गरे । उनले संगठन भन्दा बाहिरका साथीहरुलाई समेटर सदस्यता विस्तार सँगै समग्र कर्मचारीको हक हितका लागि अभिभावकीय संगठनका रुपमा काम गर्न आग्रह गरे ।

नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा पेशागत इन्चार्ज मेघदेव पन्तले संगठनका सदस्यहरु एकजुट हुन नसक्दा अअिलेको अबस्था सिर्जना भएको बताए । साथै उनले देशलाई सही बाटोमा हिँडाउन र जनताका निराशालाई आशामा परिणत गर्न कर्मचारीले सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले जिल्लाका सम्पूर्ण कर्मचारीहरुलाई गोलबद्ध गर्दै हक हितका लागि काम गर्दै आएको बताए । साथै उनले अहिलेको अबस्थामा संगठनलाई थप बलियो बनाउनका लागि सबै सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रहसमेत गरे । कार्यक्रममा नीति अनुसन्धान आयोगका केन्द्रिय सचिव काशिराम आचार्य, केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज प्रेमप्रसाद खनाल, केन्द्रिय सदस्य रमेश पाण्डे लगायतले बोल्दै प्रणली र कर्मचारीतन्त्र सुधारका लागि पहल गर्नुपर्ने बताए ।

सोही अवसरमा संगठनद्वारा सञ्चालित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हालै निर्वाचित डाशुराम पाण्डेलाई बधाई ज्ञापन गर्दै स्वागत गरीएको थियो । भने सहकारीका निवर्तमान अध्यक्ष शालिकराम पाण्डेलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा सम्मानसहित बिदाई गरीएको थियो । कर्मचारी संगठन रुपन्देहीका उपाध्यक्ष जीवन पौडेलको स्वागत तथा सहसचिव प्रेम केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।