स्वच्छ व्यवसायी, स्वस्थ बजारसम्बन्धी अभिमुखीकरण

मेचीकाली संवाददाता

२० बैशाख २०८३, आईतवार
72 shares

बुटवल। उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा स्वच्छ व्यवसायी, स्वस्थ बजार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाभित्रका मासु व्यवसायीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले मासु व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् ।

मासुमा मिसावट हुने गरिएको पाइएको बताउँदै अर्यालले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सबै पक्षलाई आग्रह गरिन् । मासुलाई स्वच्छ बनाउन उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने बताइन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले खाद्य वस्तुमा मिसावटले मानव स्वास्थ्यमा असर पु¥याउने बताउँदै त्यसप्रति सचेत आवश्यक रहेको बताए । कार्यक्रमा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापा, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका उपाध्यक्ष ऋषि आजाद, बुटवल उपमहानगरपालिका अनुगमन अधिकृत लक्ष्मी अर्याललगायतले बोलेका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष अध्यक्ष समुन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका अधिकृत सातौँ डा. भागिरथ पुरी, अनुगमन अधिकृत लक्ष्मी अर्याल, दानबहादुर कुँवर मगर, गीता पोखरेल व्यवसायीलाई सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता, कार्यक्रम संयोजक सारदा पौडेलको स्वागत तथा कोषाध्यक्ष राजु लिगलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।