बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना र देवदह नगरपालिकामा रहेका मञ्चका सदस्य र पदाधिकारीलाई लक्षित गरी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्ताको स्वास्थ्य सचेतना फैलाउनमा उपभोक्ता हित संरक्षण मञ्चको ठूलो भूमिका हुने बताइन् ।
उनले खाद्यान्नमा हुने मिसावटलाई पूर्ण रूपमा नियन्त्रण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले मञ्चको अभियानले गुणस्तरीय र खाद्य स्वच्छताबारे जनता सचेत हुँदै गएको बताए । मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषि आजाद र उपमहानगरपालिकाका अनुगमन अधिकृत लक्ष्मी अर्याललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, अधिवक्ता बसन्त गौतम, ऋषि आजादले सहजीकरण गरेका थिए । कार्यक्रममा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिकाको सहकार्यक्रममा कार्यक्रम भएको थियो ।
