छत्रकोटमा बन्यो आधुनिक सुविधायुक्त गाउँपालिका भवन

मेचीकाली संवाददाता

३१ बैशाख २०८३, बिहीबार
15 shares

टोपलाल अर्याल

गुल्मी, वैशाख ३१ । गुल्मीको छत्रकोट गाउँपालिकाको आफ्नै आधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको लागि जग्गा नहुँदा लामो समय छत्रकोटले सास्ती खेप्यो । व्यक्तिले वनलाई दिएको सट्टा जग्गा र भूमि आयोगबाट गरेर कार्यालयले संरचना निर्माण गरेको छ ।

गाउँपालिका भवनको बिहिबार गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गरे । उनले गाउँपालिका स्थापनादेखि आधुनिक भवनसम्म स्थानीय नागरिक, जग्गादाता, जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारीहरुको निकै ठूलो त्याग तथा सर्मपण भएकाले अब सेवा प्रबाहमा नविनता र सहजताको महसुस हुने बताए ।

स्थानीय झकबहादुर मिदुनले ६ रोपनी जग्गा निशुल्क पालिकालाई उपलब्ध गराएका छन् । उक्त जग्गा पालिकाले वनलाई दिएपछि मात्रै केन्द्रमा पालिका कार्यालयका लागि ६ रोपनी जग्गा पाएको थियो । त्यसपछि भुमि आयोगबाट १९ रोपनी ८ आना जग्गा गाउँपालिकाका नाममा आएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए । यसअघि भाडाको कार्यालय भवन हुँदै सभाहलबाट सेवा प्रवाह गरेको पालिकाले अहिले आफ्नै कार्यालयबाट सेवा प्रारम्भ गरिरहेको छ ।

छत्रकोट गाउँपालिकाको प्रशासकीय भवन कुल नौ करोड ११ लाख रुपैयाँमा अम्बेमा जेभी बिल्डर्सले निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । पाण्डेका अनुसार, उक्त भवन २०८० मंसिर ८ मा सम्झौता भएर २०८२ मंसिर ८ मा सम्पन्न गर्नुपर्नेमा २०८२ पुस २३ मा निर्माण सम्पन्न भएको थियो ।

प्रशासकीय कार्यालय भवन चार तलामा ३२ कोठा, दुई आवास, एक सभाहल र एक बैठक कक्ष रहेको छ । प्रशासकीय भवन गार्डेनसहित कुल ६ रोपनी जग्गामा बनेको छ । उक्त भवनसहित आसपासमा १९ रोपनी ८ आना जग्गा रहेको छ । सेवा प्रबाहको हिसाबले निकै सजिलो हुने पाण्डेले बताए । सोही अवसरमा गाउँपालिकाका उत्कृष्ट शिक्षक तथा बिद्यार्थी र जग्गादातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहित सुरक्षा निकायका प्रमुख, छिमेकी गाउँपालिकाका प्रमुखहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरु, गाउँपालिकाका बर्तमान तथा पुर्व जनप्रतिनिधी तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।