सकारात्मक संस्कृति निर्माणका लागि समानता, सद्भाव, सम्मान र सकारात्मक सोच

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
118 shares

घनश्याम कोइराला
हामीले सुन्दै, देख्दै र भन्दैआएको विषय हो, ‘राजनीतिक व्यवस्था परिवर्तन छोटो समयको बल प्रयोगबाट सम्भव हुन्छ भने सांस्कृतिक रूपान्तरण प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।’ हाम्रो देशको मात्र कुरा गर्ने हो भने पनि राणाशासन ढल्यो, पञ्चायती शासन ढल्यो । संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था ढल्यो । यी व्यवस्थाहरू ढाल्न ठूलो जनशक्ति निर्माण गर्नु पर्दथ्यो । त्यस्तो शक्ति निर्माण गर्न त्यतिबेलाको शासनप्रति मानिसहरूको असहमति फेला पार्नु पर्दथ्यो । उनीहरूको कमजोरी खोज्नु पर्दथ्यो ।

ती असहमतिहरूलाई बढाउँदै, झङ्ग्याउँदै असन्तोषमा विकास गर्नु पर्दथ्यो । ती असन्तोषहरूलाई विस्तारै घृणा र घृणालाई विरोधमा उकास्नु पर्दथ्यो । त्यही विरोधलाई संगठित गरी विद्रोहमा रूपान्तरित गरी आन्दोलन–क्रान्तिमा रूपमा परिचालन गर्नुपर्दथ्यो । गराइएको त्यही हो । गरेको त्यही हो । भएको त्यही हो । व्यवस्था परिवर्तन यसरी नै भएको हो । यहाँ उल्लेख गरिएको सांस्कृतिक रूपान्तरणको प्रसंग राजनीतिक सन्दर्भमा हो ।

यहाँसम्म त यसरी आयो । तर, त्यतिबेला विकास गरिएको असहमति खोज्ने, असन्तोष पैदा गर्ने, घृणा उत्पन्न गराउने, विरोधमा उभ्याउने, विद्रोह गराउने, आन्दोलन–क्रान्तिमा होमेर जित्ने गरी विकास गरिएको मानसिकतामा पर्याप्त रूपान्तरण हुन नसक्दा अहिले पनि पार्टी पार्टीभित्र, एउटा पार्टी र अर्को पार्टी बीचमा, सत्ता र प्रतिपक्षका बीचमा यही दाउपेच चलिरहेको छ ।

मानिस चाहन्छ–सुख, शान्ति, समृद्धि तर मनोविज्ञान असहमति, असन्तोष, घृणा, विरोध, विद्रोहकै छ । अहिले धेरैले यसैलाई अधिकार ठानेका छन् । कतिले त यसलाई कर्तव्य नै पनि ठनेका छन् । कतिले त आलोचना–आत्मालोचनालाई आवश्यकताअनुसार, आवश्यक परेको समयमा आवश्यक व्यक्तिलाई गर्ने विषयभन्दा पनि नियमित व्यवहार मान्ने गर्दछन् । राजनीतिक दलहरूले यस्तै गर्दै–गराउँदै आइरहेका छन् । पार्टीभित्र तात्कालिक विषयमा छलफल, बहस र निर्णय गर्ने विषयमा संस्कृति, सभ्यता, संयम, सहिष्णुता जस्ता विषय आइलोगेका समस्या समाधान गर्न मात्र बोल्ने र लेख्ने गरेको देखिन्छ ।

बहुदलीय व्यवस्थामा दलको महत्व हुनु स्वाभाविक हो । मुलुकका लागि आवश्यक राजनीतिको पहिचान, व्यवस्थापन, परिचालन गर्ने जिम्मेवारी राजनीतिक पार्टीहरूकै हो । तर घटना नघटीकन, पाटीभित्रको झगडा मिलाउनुपर्ने अवस्था नभईकन पार्टीहरूभित्र सामाजिक, सांस्कृतिक, जातीय, लैंगिक, शैक्षिक लगायत सामुदायिक तथा प्राकृतिक स्रोत–सम्पदा, सार्वजनिक स्रोतका विषयमा छलफल गरेको देखिँदैन ।

यसो भएपछि सामुदायिक विद्यालय, स्थानीय सार्वजनिक यातायात, साझा–सहकारी संस्थाहरू, खानेपानी, वन, सिँचाइ, स्वास्थ्य संस्था, गैरसरकारी संस्था (एनजीओ), अन्य अनेकौँ सार्वजनिक तथा निजी क्षेत्रका सेवा प्रकायकहरूको व्यवस्थापन जनउत्तरदायी बनाउने विषय, त्यहाँका गाह्रोगर्जो बुझ्ने र उपयुक्त समाधान गर्ने विषयमा कसले ध्यान दिने हो ? यो विषय यसै छ । यी क्षेत्रमा व्यवस्था परिवर्तनपछि हुनुपर्ने परिवर्तनको अपेक्षाको सम्बोधन कसले गर्ने हो ? यसतर्फ राजनीतिक दलहरू तथा दलका नेता–कार्यकर्ताहरूले हस्तक्षेपकारी नभई जिम्मेवार सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

दल, नेता, सरकारप्रति असहमति, आलोचना, विरोध स्वाभाविक हो । यसो हुनुपर्छ । यसो भएन भने मनमानी बढ्छ । मनमानी बढ्नुले असहमति, आलोचना र विरोधका स्वर तत्कालका लागि दबिन्छ, तर सधैँका लागि दबिँदैन । दबाउन खोज्ने शक्तिका विरुद्ध स्वरसँगै शक्ति पनि बढ्दै जान्छ । स्थिति अराजक बन्न सक्दछ । व्यवस्था खलबलिन सक्दछ । जनधनको क्षति हुन सक्दछ । त्यसैले, बोल्ने–आवाज उठाउनेहरूले मर्यादित रूपमा शिष्ट र सभ्य भाषा प्रयोगमा ध्यान दिन आवश्यक हुन्छ भने सुन्नुपर्ने निर्णायक पक्षले पनि स्वर नचर्किंदै, संगठित शक्ति विस्तार नहुँदै, ढुंगामुढा र चक्का जाममा नपुग्दै समस्याको समाधान खोज्नु पर्दछ ।

सबैले चाहेको शान्ति र समृद्धि हो । शान्ति र समृद्धिका लागि लोकतान्त्रिक संस्कार सबल हुनु पर्दछ र असल संस्कृति विकास गर्नु पर्दछ । यसो गर्न संविधान, कानुनमा त्यति समस्या देखिँदैन, जति व्यवहारमा समस्या देखिन्छ । अभद्रता, अमर्यादा, असभ्यता, अराजकता आदि लोकतन्त्रका गुण होइनन् । भद्रता, शिष्टता, सभ्यता, धैर्य, संयम र विवेकशीलता लोकतान्त्रिक गुण हुन् । लोकतान्त्रिक व्यवस्थापन भनेको टाउका गनेर मात्र गरिने व्यवस्थापन होइन ।

कतिपय नेताहरूले गर्ने गरेका भाषण सुन्दा राजनीति भनेकै चर्को स्वर हो, गालीगलोच हो, घोचपेच र ध्वांस हो जस्तो लाग्दछ । आँधीबेहरी सिर्जना गर्ने, उडाइदिने, माटोमा विलिन गरिदिने, अस्तित्व नै सखाप पारिदिने, आगो बाल्ने, भाटे कारवाही गर्ने आदि बोल्नै नहुने, नसुहाउने शब्दहरू बोलेको सुनिन्छ । यसरी शान्ति र समृद्धिमा पुग्न सकिएला ?

शिक्षा कस्तो हुने, संस्कृति कस्तो हुने, राष्ट्रिय हित तथा स्वार्थहरूको रक्षा कसरी गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, सफा टोल, सफा गाउँ–नगर, सफा देश कसरी बनाउने, भ्रष्टाचारको अन्त्य कसरी गर्ने, मेलमिलाप कसरी बढाउने, समानता, सद्भाव, सम्मान र सकारात्मक सोच भएको समन्यायिक नेपाली समाज कसरी बनाउने आदि विषयमा सडक संवाद खोइ ? ‘नर्कको नक्सा बोकेर स्वर्ग पुगिन्न’ भनेझैँ अशान्त, उग्र, आक्रामक बोली र व्यवहारले शान्ति र समृद्धि प्राप्त हुनै सक्दैन ।

शान्ति र समृद्धिका लागि सोहीअनुसारको बोली र व्यवहार हुन आवश्यक छ । राजनीतिक चर्चा–परिचर्चा त यहाँ सदैव चलिरहेकै हुन्छ । मूल्य वृद्धि, शान्ति—सुरक्षा, उद्योग, व्यापार, विकास आदि विषयमा हुनुपर्ने राजनीतिक चर्चा गालीगलोज, खिसीटिउरी, मानमर्दन, नेता–व्यक्तिभक्ति आदिमा फैलिँदो छ । यससँगै नेपाली समाजमा धर्म–संस्कृतिबारे व्यापक चर्चा चल्ने गरेको छ । कुनै क्षेत्र–भेकको परम्परा, प्रथालाई धर्म, सामाजिक निरन्तरतालाई धर्म, जातीय विषयलाई धर्म, लैंगिक विषयलाई धर्मसँग जोडेर यसलाई विद्रूप पारिएको छ । धर्मलाई केही सम्प्रदाय र त्यहाँको जडतासँग जोडेर अनर्थ गरिँदैछ । परम्पराका जे जे खराबी छन्, तिनैलाई धर्मसँग जोडेर हुर्मत लिइँदैछ । धर्म, अध्यात्म र संस्कृतिलाई एउटै माटेहाँडीमा मिसाई अमुक ‘वाद’को जलप–लेपन लगाइदिएर समाज र संस्कृतिको स्वरूप नै बिथोल्ने प्रयास भइरहेको छ ।

हिजो पञ्चायती व्यवस्थाको निरंकुश, निर्दलीय राजनीतिक प्रणलीको एक राजा, एक राष्ट्र, एक धर्म, एक भाषा, एक संस्कृतिको ढसमस्सको अवस्थाबाट बहुदलीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुलवादी समाज स्वीकार गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रिय संस्कृति र त्यसको स्वरूप के हो ? खोई ? पुराना विस्थापित हुँदै जाने, नयाँ स्थापित गर्नेतिर ध्यान दिइएन भने नेपाल राष्ट्रले संविधानमा स्वीकार गरेको राजनीतिक व्यवस्था र प्रणाली सांस्कृति मूल्य–मान्यता र पहिचानहिन बन्दै जाने हो कि भन्ने चिन्ता खोई ? चिन्तन खोई ?

कतिपय मानिसहरू नयाँ हुनासाथ असल हुन्छ भन्ने भ्रममा छन् भने त्यसको ठीक उल्टो नयाँ भनेको भर नभएको हुन्छ भ्रममा पनि छन् । नयाँ हुनु र पुरानो हुनु असल र कमसल हुने मापदण्ड हुन सक्दैन र हुनु हुँदैन । पुराना असलको निरन्तरता र नयाँ विकास भइरहनुपर्दछ । सांस्कृतिक दृष्टिले हेर्दा आधारहरू पुराना हुन सक्दछन्, तर विचार र व्यवहार नयाँ हुनुपर्दछ । समयको कसीमा खरो नहुने व्यवस्था, प्रणाली, संस्कृति मिल्किने विषय हुन्, तर हामीले त्योभन्दा पनि पुरानोलाई इतिहासको रूपमा सम्मान गर्ने र संग्रहालयमा राख्ने अर्थात् पुरानो सम्झने र नयाँ गर्ने संस्कृति निर्माण गर्ने दिशा समात्नु परेको छ ।

अब सकारात्मक सामाजिक रूपान्तरणका लागि आलोचना, विरोध, वैमनष्यता, घृणा, द्वेष, अपमान, दुर्भाव, नकारात्मक छिद्रान्वेषण गर्ने तरिका फेर्नु पर्दछ र समानता, सद्भाव, सम्मान र सकारात्मक सोच विकास गर्नुपर्दछ । विगतका विभेदका गीत गाएर अब समानता प्राप्त गर्न सकिँदैन । विगतका अन्याय, उत्पीडनका कथा कहेर समतामूलक समाज बन्दैन । जीवन सुन्दर, जगत सुन्दर, भविष्य सुन्दर बनाउन यी सन्दर्भमा रहेका सुन्दरताको खोजी, पहिचान, अवलम्बन र अभिवृद्धि गर्न आवश्यक छ । सुन्दर, सभ्य, शान्त र समृद्ध समाज बनाउन यिनै विषयको खोजी र गोडमेल गरौँ । सुन्दर संसार हेर्न सुन्दर आँखा (दृष्टि) चाहिन्छ, सुन्दर व्यवहार चाहिन्छ । यस्तो कर्म आजैदेखि, आजैबाट सुरु गरौँ ।

राजनीतिक व्यवस्था र प्रणाली फेरियो, तर हाम्रा सोचाइ र बानीबेहोरा फेर्न सकेका छैनौँ । जबसम्म हाम्रा बानीबेहोरा हामी आफैले फेर्न सक्दैनौँ, हामी सभ्य र समृद्ध हुन सक्दैनौँ । तसर्थ, अब हामी आपूmलाई फेर्न लागौँ, समाज स्वतः फेरिनेछ र नेपाली समाज सुन्दर, शान्त, समृद्ध बन्नेछ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)