बुटवल। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरुपयोगका घटना बढ्न थालेपछि युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरताबारे सचेत गराउने उद्देश्यले बुटवलमा तालिम सम्पन्न भएको छ ।
प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा बुधवार आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको बताइन् । उनले डिजिटल माध्यमले अवसरसँगै चुनौती पनि थपेकाले युवालाई समयमै सचेत र दक्ष बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखिन् । प्रदेश युवा परिषदका सदस्य राधा बस्नेतले युवालाई प्रविधिमैत्री बनाउँदै सुरक्षित डिजिटल अभ्यासतर्फ उन्मुख गराउन परिषदले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । उनले साइबर सुरक्षाबारे जानकारी अभाव हुँदा धेरै युवाहरु अनलाइन ठगी, ह्याकिङ र दुरुपयोगको जोखिममा पर्ने गरेको उल्लेख गरीन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले साइबर अपराधका पछिल्ला प्रवृत्ति र त्यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए । त्यसैगरी सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका इन्जिनियर कुमार गुरुङले डिजिटल साक्षरता, सुरक्षित पासवर्ड प्रयोग, डेटा सुरक्षा तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिएका थिए ।
नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्त दिनानाथ भट्टराई, प्रदेश युवा परिषद विकास समितिका अधिकृत प्रेमराज रावत तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले डिजिटल युगमा सूचना सुरक्षाको महत्वबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन विष्णु घिमिरेले गरेका थिए ।
