कत्ति आवश्यक छन् नेपालमा सवारी साधन ?

मेचीकाली संवाददाता

१३ जेष्ठ २०८३, बुधबार
12 shares

– जनशंख्याभन्दा तीब्र बढ्दै सवारीसाधनको चाप
– देशभर ६२ लाख सवारीसाधन, लुम्बिनी प्रदेशमा मात्रै १३ लाखभन्दा धेरै
– सडक उही, सवारी दोब्बर, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

अमृत गिरी

बुटवल। विसं.२०७८ मा भएको जनगणना अनुसार वार्षिक जनसंख्या वृद्धिदरविगत ८० वर्षयताकै न्यून देखाएको थियो । बाह्रौँ राष्ट्रिय जनगणनाको अन्तिम नतिजा अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । तर यही समयमा ठूलो जनसंख्या रोजगारी, अध्ययन र श्रमका लागि विदेशमा छ । सरकारी तथा अन्तर्राष्ट्रिय अध्ययनहरू अनुसार झण्डै ४० देखि ५० लाख नेपाली कुनै न कुनै रूपमा विदेशमा रहेको अनुमान छ ।

जनसंख्याको वृद्धिदर ऋणात्मक भएको मुलुकमा यहाँ उत्पादन नै नहुने सवारीसाधनको दर्ता भने विष्फोटक रुपमा बढिरहेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर दर्ता भएका सवारीसाधनको संख्या ६२ लाख ४९ हजार पुगेको छ । तीमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल मात्रै छन् । सडकको अवस्था उहीँ, ट्राफिक व्यवस्थापनको हालत उस्तै र जनशक्ति पनि एकदमै कम रहेको अवस्थामा सवारी साधनको आयात भने बढिरहेको छ । यहीँ अवस्थालाई मध्यनजगर गर्दै सरकारले केही समय अघि सवारी साधनको नयाँ दर्तालाई केही समयका लागि रोक लगाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ नयाँ सवारीसाधन दर्ता भएका छन् । यस अवधिमा ४३ हजार ७५० स्मार्ट लाइसेन्स वितरण गरिएको छ ।

मोटसाइकलको संख्यामात्रै ५० लाखभन्दा धेरै
आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा निजी सवारी, विशेषगरी मोटरसाइकलको प्रभुत्व अझै बलियो रहेको देखाएको छ । देशभर दर्ता भएका ६२ लाख ४९ हजार सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म मात्रै बस, मिनिबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकलसहित २ लाख ८१ हजार ९ सय २१ नयाँ सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षणअनुसार हाल नेपालभर सडक सञ्जालको कुल लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर पुगेको छ भने संघीय सरकारबाट निर्माण गरिएको कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको उल्लेख गरिएको छ ।

स्मार्ट लाइसेन्स वितरण सुस्त
स्मार्ट लाइसेन्स वितरण र इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन पनि सरकारको प्राथमिकतामा रहे पनि अपेक्षाअनुसार गति लिन सकेको छैन । चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण भइसकेको छ भने हालसम्म कुल ४१ लाख १४ हजार १ सय ८१ स्मार्ट लाइसेन्स जारी गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । इम्बोस्ड नम्बर प्लेटतर्फ फागुनसम्म ८७ हजार १४ थान प्लेट उत्पादन गरिए पनि ५ हजार १ सय ८६ थान मात्रै जडान भएको छ । हालसम्म देशभर ८ लाख ३१ हजार ५९ थान प्लेट उत्पादन हुँदा ८८ हजार ३ सय ४० थान मात्र जडान भएको तथ्यांकले देखाएको छ ।

लुम्बिनी प्रदेशमा पनि मोटारसाइकल धेरै
लम्बिनी प्रदेशमा (रुपन्देही, बाँके र दाङमा रहेका यातायात कार्यालयहरुका अनुसार) मोटरसाइकल धेरै रहेका छन् । यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनासम्मको अद्यावधि तथ्यांकले रुपन्देहीमा मोटरसाइकल तथा स्कुटरको प्रयोग अत्यधिक रहेको देखाएको छ । कार्यालयका सूचना अधिकारी सुरेन्द्र भण्डारीले उपलव्ध गराएको विवरण अनुसार निजी मोटरसाइकल तथा स्कुटरको संख्या सबैभन्दा धेरै रहेको छ भने अन्य सवारीसाधनको तुलनामा दुईपाङ्ग्रे सवारीको दर्ता उल्लेख्य रूपमा बढिरहेको छ ।

कार्यालयको तथ्यांक अनुसार वैशाखसम्म निजी मोटरसाइकल तथा स्कुटरको कुल दर्ता संख्या ४० हजार ३५ पुगेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्म मात्रै ४ हजार ४३४ नयाँ मोटरसाइकल तथा स्कुटर थपिएका छन् । अघिल्लो आर्थिक वर्षसम्म ६० हजार ६१० निजी मोटरसाइकल तथा स्कुटर दर्ता रहेकामा चालु आवमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।
त्यस्तै, निजी कार, जीप तथा भ्यानतर्फ कुल ३७९ नयाँ सवारी थपिँदा हालसम्म कुल संख्या २ हजार ६७४ पुगेको छ । माइक्रोबस, टेम्पो तथा अटो रिक्साको प्रयोग पनि बढ्दो क्रममा रहेको तथ्यांकमा उल्लेख छ । ट्राइसाइकल तथा टेम्पोतर्फ वैशाखसम्म ११७ नयाँ सवारी थपिएसँगै कुल संख्या २ हजार २०९ पुगेको छ । यस्तै निजी ट्रेक्टरतर्फ ६० वटा नयाँ दर्ता थपिँदा कुल संख्या ५५८ पुगेको छ । निजी बस, ट्रक तथा टिप्परतर्फ पनि १८ वटा नयाँ दर्ता भई कुल संख्या ९०० पुगेको छ ।

यसैगरी बाँके स्थित कार्यालयका प्रमुख कालिदास बस्यालका अनुसार बाँकेमा मात्रै सवारीसाधनको संख्या करिब २ लाख ५९ हजार भन्दा धेरै रहेको छ । यीमध्ये आधाभन्दा धेरै मोटरसाइल रहेका छन् । बाँकेमा मोटरसाइकल मात्रै १लाख ६० हजारभन्दा धेरै दर्ता भएका छन् ।
कति चाहिन्छ खासमा सवारी साधन ?
सक्रिय रूपमा देशभित्र बसोबास गर्ने जनसंख्या मात्र आधार मान्ने हो भने नेपालमा अहिले करिब प्रत्येक ४ देखि ५ जनामा एउटा सवारीसाधन रहेको अनुमान गर्न सकिन्छ । मोटरसाइकल मात्र हेर्दा करिब प्रत्येक ६ जनामध्ये एक जनासँग मोटरसाइकल पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ३ लाख ७६ हजार ३९३ नयाँ सवारीसाधन थपिएका थिए । तीमध्ये २ लाख ९४ हजार ३९८ मोटरसाइकल थिए ।

वर्षमा ९० अर्बदेखि १ खर्ब रुपैयाँ विदेशिन्छ
नेपालमा सवारी साधन (गाडी तथा मोटरसाइकल) र तिनका पार्टपुर्जा खरिदका लागि मात्रै वार्षिक करिब ९० अर्बदेखि १ खर्ब रुपैयाँ बराबरको रकम विदेशिने गरेको तथ्यांक छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालले ८५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सवारी साधन आयात गरेको थियो । पछिल्ला केही वर्षयता इभीको हिस्सा अधिक बढिरहेको छ । विशेष गरी चीन र भारतबाट) को आयात तीव्र रूपमा बढेको छ ।

गत वर्ष चीनबाट मात्रै १० हजारभन्दा बढी विद्युतीय गाडीहरू भित्रिएका थिए । सवारी साधनको वास्तविक खरिद मूल्य राजस्व र भन्सार दर एउटा हुन्छ भने नेपाल आइपुगेपछि उपभोक्ताले तिर्ने मूल्य भने निकै बढी हुन्छ । सवारी साधनमा १०० प्रतिशतदेखि ३०० प्रतिशतसम्म भन्सार, अन्तःशुल्क र भ्याट लाग्ने गर्दछ । इन्धन र मर्मतको अतिरिक्त भारगाडी किन्न बाहिरिने रकम बाहेक, ती सवारी साधन चलाउन आवश्यक पर्ने पेट्रोलियम पदार्थ (पेट्रोल/डिजेल) खरिदका लागि नेपालबाट वार्षिक थप २ देखि ३ खर्ब रुपैयाँ विदेशिने गरेको छ, जुन नेपालको कुल आयातको सबैभन्दा ठूलो हिस्सा हो । गत आवमा मात्रै सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । त्यसभन्दा अघिल्लो वर्ष २०८०/८१ मा १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो ।