बुटवल । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे सडक खण्डको काम निर्माण सामग्री र मजदुरको समस्याले सुस्ताएको छ । २४ सैं घण्टा व्यस्त रहने सडकको काम प्रभावकारी बन्न नसक्दा सडक यात्रा गर्ने यात्रु र सवारीले सास्ती खेपेका छन् । निर्माण कम्पनीले ‘बिटुमिन’ र माटो अभाव भएको भन्दै तीव्रताका साथ काम गरेको छैन । ५० किलोमिटरको सडक २०८१ माघ १० गते शिलन्यास गरी भौतिक निर्माणको काम अघि बढेको थियो । बुटवल–नारायणगढ सडक खण्डमा यात्रु र सवारीले ८ वर्षसम्म खेपेको सास्ती सकिन नपाउँदै फेरि बुटवलपश्चिम गोरूसिङ्गेसम्म थपिएको छ ।
बुटवल गोरुसिङ्गे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले निर्माणजन्य सामग्रीको अभाव हुँदा प्रभावकारी काम अघि बढ्न नसकेको बताइन् । ‘दश किलोमिटर खण्ड कालोपत्रे गर्ने तयारी अवस्था पुगेको छ,’ न्यौपानेले भनिन्,‘बिटुमिन (अलकत्रा) अभावले काम हुन सकेको छैन । त्यस्तै धेरै ठाउँमा माटो ‘फिलिङ’ को लागि निर्माण कम्पनीले पाउन नसक्दा पनि समस्या देखिएको छ ।’ कतै कानुनी जटिलता र कतै अभाव देखाएर माटो अभाव भइरहेको उनको भनाइ छ ।

निर्माण कम्पनीले माटो किनेको ठाउँमा समेत निकाल्न नपाउँदा कामलाई तीव्रता दिन नसकेको बताएको छ । गैडहवा र सैनामैनामा दुई ठाउँ ‘फिलिङ’ का लागि वन कार्यालयले रोक लगाएको निर्माण कम्पनीका इन्जिनियर गौरीशंकर महतोले बताए । महँगीसँगै बिटुमिनको अभाव छ, सँगै किनको माटो पनि निकाल्न नपाउँदा ठूला पुलहरुको फिलिङ गर्न सकिएको छैन । माटो समस्या समाधान गर्न मन्त्री सुनील लम्साललाई पनि भनेका थियौं ।’ जुनसुकै आयोजनामा पनि अनेक बाधा र विभिन्न अवरोध आउँदा समस्या देखिने महतोको भनाइ छ ।
सडक निर्माण जिम्मा लिएका निर्माण कम्पनी चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले रुपन्देही र कपिलवस्तु गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको छ । सानाठुला गरी ३० वटा पुलमध्ये ५ वटा बनेका छन् । अन्यमा निर्माण कार्य भइरहेको छ । यस्तै ६ वटा अन्डरपासको काम पनि धमाधम भइरहेको छ । सडकको मुख्यचोकहरूमा सवारीसाधन सञ्चालन निर्वाधरूपमा हुन सकोस् भनेर अण्डर पास निर्माणको काम पनि धमाधम भइरहेको छ । चारलेन सडकमा उत्तर–दक्षिण भएर चल्ने गाडी भूमिगत मार्ग र पूर्वपश्चिम चल्ने गाडीका लागि माथिबाट आवातजावात गर्ने गरी ६ ठाउँमा त्यस्ता संरचना निर्माण गरिँदैछ ।
६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक वि.सं.२०१९ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए । शहरी क्षेत्रमा फुटपाथ, साइकल लेन र सर्भिससहित ‘सिक्स लेन’ र ग्रामीण क्षेत्रमा ‘फोर लेन’ मा स्तरोन्नति गरिने छ । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर दुई खण्ड २५÷२५ किलोमिटरमा विभाजित गरी निर्माण गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा केही वर्षअघि डिजाइन सम्पन्न भएको २ लेनको यो सडक अब ४ लेनको बन्नेछ ।
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुनेछ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको छ । सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रूपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ । सडकमा १४९ कल्भर्ट बनिरहेका छन् । सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । आयोजनाको सम्झौताको तीन वर्षभित्रै २०८४ कार्तिकसम्म सक्ने न्यौपानेले दावी गरिन ।

वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुदैछन । सालझन्डी–पिपरा खण्डमा चारवटा, कोइली–घेरूवा–बनगाई–गोरुसिङ्गे क्षेत्रमा ६ वटा अन्डर/ओभर पाससहितका कल्भर्ट निर्माण भइरहेका छन् । सवारीसाधनको चापसँगै साँघुरो बन्दै गएको सडकको स्तरोन्नतिपछि सडकमा सवारीसाधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । गोरुसिङ्गेसम्मको ५० किलोमिटर लगत्तै चन्द्रौटासम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ । अहिले गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइनका सम्पूर्ण काम सकिएको छ । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिङ्गे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले सडक निर्माणमा ढिलाई नगर्न नहुने बताउँछन् । निर्माण कम्पनीलाई आवश्यक सामग्रीको लागि पालिकाले खेल्नुपर्ने भूमिका खेल्छ, सधैँ व्यस्त रहने सडक निर्माणमा ढिलाई गर्न हुँदैन । यो सडकमा बुटवल–नारायणगढ जस्तो अति सास्ती र ढिलाई नहोस् भन्नेमा स्थानीय सरकार छ ।’
सहरी क्षेत्रमा डेडिकेटेड ६ लेन ५० मिटर चौडा सडक निर्माण हुने छ । सडकको लम्बाइ १४.५३ किलोमिटर हुने छ । त्यस्तैगरी सेमी आवास क्षेत्रको सडक ३७.४ मिटरको हुनेछ । यो सडक खण्ड लम्बाइ १५.८५ किलोमिटर छ । यो सडकखण्ड विस्तारको काम सकिएमा यात्रा गर्दा लाग्ने आधा समयको बचत हुने अपेक्षा गरिएको छ । इन्धन बचतका साथै यान्त्रिक समस्या कम हुने अपेक्षा गरिएको छ । अहिले डेढ घण्टा लाग्ने यो सडक निर्मापछि ४५ मिनेटमा छोटिने अपेक्षा छ ।
