मन्त्रिपरिषद्‌बाट पारित भयो बजेट

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार
21 shares

बुटवल । सरकारले मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय व्ययको अनुमान (बजेट) पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो पहिलो ल्याउन लागेको हो ।

हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रूपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो ।