अमृत गिरी
बुटवल। समाजमा निराशा, अविश्वास र ध्रुवीकरणका स्वर चर्किंदै गएका बेला सकारात्मक सोच, सहकार्य र सद्भावको सन्देश बोकेको अभियानले देशभर नयाँ आशा जगाउने कोसिस गरिरहेको छ । दुई दशकदेखि सञ्चालन हुँदै आएको ‘नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल’ ले सकारात्मक सोचलाई व्यक्तिगत व्यवहार मात्र नभई सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा देशैभरि स्थापित गर्ने प्रयास गरिरहेको छ ।
सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अभियन्ता डा.रामबहादुर राउत, सांस्कृतिक अध्येता, सकारात्मक सोंचका अभियन्ता तथा सामाजिक अभियन्ता घनश्याम कोइरालालगायतले यस्तो अभियानलाई निरन्तरता दिइरहेका छन् ।
२०६० साल माघ ४ गते ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा सहभागीहरुले यस्तो अवधारणा अघि सारेका थिए । त्यसयता यो अभियान मुलुकका विभिन्न सहरमा फरकफरक विषयमा हुँदै आएको छ ।

प्रत्येक भेलामा नयाँ इस्यू
ललितपुरबाट उम्रिएको अभियानको पहिलो भेला काभ्रेमा भयो र त्यस भेलाबाट ‘नेपाल इज क्यापेबल’ को अवधारणा अघि सारिएको थियो । भक्तपुरमा भएको दोस्रो भेलामा त अमेरिकाको एउटा विश्वविद्यालयमा सकारात्मक सोंचका बारेमा पढाइरहेका प्रोफेसर नै सहभागी हुन आए । उनी थिए प्रोफेसर डा.डेभिड कुपरराइडर । उनले पछि त्यहाँको विश्वविद्यालयबाट केही विद्यार्थीलाई नेपालमा रिसर्चका लागि पठाएका थिए ।
प्रो.डा.कुपरराइडरकै उपस्थितिमिा सन् २००५ मा शान्ति सम्मेलन भयो । शान्तिसम्मेलनको घोषणापत्रलाई नै त्यसबेला तत्कालीन सरकार र माओवादीबिच भएको १२ बुँदे सम्झौताको एउटा आधार दाबी गरिएको थियो ।
त्यसको एक वर्षपछि तेस्रो सम्मेलन सन् २००६ मा पोखरामा भयो । पोखराको सम्मेलनले दिगो पर्यटन र समृद्धिको प्रभावकारी आधार नै पर्यटन रहेको नारा तय गरी कार्ययोजना बनाएको थियो ।
लुम्बिनीमा भएको अभियानको चौथो भेलाले राजनीतिक संस्कारलाई सकारात्मक सोंच र चिन्तनको विकास गर्ने विषयमा जोड दिए । त्यहाँ सहभागीहरुलाई एक आपसका राम्रा पक्ष मात्रै सुनाउन लगाइएको थियो ।
पाँचौं भेला विराटनगरमा भयो जहाँ योजना तर्जुमाको विषयलाई जोड दिइयो । गाउँको विकासका योजना तर्जुना गर्दै ढुंगोसाँघु, इटहरा र सोमादी गाउँमा कार्यान्वयन गरिएको थियो ।
धनगढीमा भएको छैठौं भेलाले वैकल्पिक ऊर्जाका बारेमा विशेष बहस सुरुआत ग¥यो । पाल्पामा भएको सातौं भेलाले संस्कृति र समाज रुपान्तरणको विषयलाई जोड दियो ।
दाङमा भएको आठौं भेलाले मानव मूल्यमा आधारित शिक्षा र नैतिक शिक्षालाई प्राथिमकतामा राख्नुपर्नेमा जोड दियो । हालै चितवनको कालिका नगरपालिका–१० स्थित तिनदोभान चेपाङ बस्तीमा सञ्जालको नवौँ राष्ट्रिय भेलासमेत सम्पन्न भएको छ । ‘सद्भावपूर्ण समाज निर्माणमा मेरो योगदान, सकारात्मक तरङ्ग सिर्जना गर्न सकारात्मक अभियान’ भन्ने नारासहित आयोजित भेलाले सकारात्मक सोचमार्फत सामाजिक रूपान्तरणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
समाधान, सहकार्य र सम्भावना देखाउने पहल
पछिल्ला समयमा यसले देशव्यापी सञ्जाल बनाइरहेको छ । समाजलाई गालीभन्दा समाधान, विभाजनभन्दा सहकार्य र निराशाभन्दा सम्भावनाको दृष्टिले हेर्न प्रेरित गर्दै आएको छ र अभियन्ता राउत र कोइरालालगायतका सामाजिक सञ्जालका एकाउन्टहरु पनि यसैमा केन्द्रित देखिन्छन् । कोइरालाको फेसबुक एकाउन्टमा त कहिल्यै कसैपनि दुर्वचन देखिँदैन, कहिल्यै कसैप्रति नकारात्मक टिकाटिप्पणी गरेको पाइँदैन ।
उनको सामाजिक सञ्जालमा सकारात्मकता, स्वस्थ बहसका आधार र प्रेरणाका शब्दहरु अधिक पाइन्छ । यसैको विकसित रुप हो अहिलेको यो राष्ट्रिय अभियान । उनीजस्तै सकारात्मक सोंच राख्नेहरु यो अभियानमा जोडिनेगरी यसलाई खुला राखिएको छ ।
अहिले सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता र राजनीतिक ध्रुवीकरणबिच कोइरालाजस्ता अभियन्ताहरुले निरन्तर आशा, जिम्मेवारी र सकारात्मक नागरिक चेतनाका सन्देश प्रवाह गरिरहेका छन् । ‘समृद्ध समाज निर्माणका लागि भौतिक विकास मात्र पर्याप्त हुँदैन, न्याय, अवसर, नैतिकता र सामाजिक सद्भाव पनि उत्तिकै आवश्यक हुन्छ ।’ कोइरालाको भनाइ छ ।
भेलाबाट अभियन्ता तथा अधिकारकर्मी डा.रामबहादुर राउत पुनः राष्ट्रिय अध्यक्षमा चयन भएका छन् । त्यसैगरी अगुवा घनश्याम कोइराला वरिष्ठ उपाध्यक्ष तथा सुन्दर लामिछाने महासचिव चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष डा.राउतले अभियानलाई दुर्गम गाउँदेखि शहरी क्षेत्रसम्म विस्तार गर्दै आशा, सहकार्य र सद्भावको संस्कृतिलाई सुदृढ बनाउने लक्ष्य रहेको बताए ।
भेलाले समुदायमा आधारित विकास, सकारात्मक नेतृत्व निर्माण, सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा स्थानीय क्षमताको विकासलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । साथै चेपाङ समुदायका मौलिक संस्कृति, परम्परा र स्थानीय ज्ञानको संरक्षण तथा प्रवद्र्धनमा विशेष जोड दिएको छ ।
सञ्जालले आगामी दिनमा स्थानीय तहसम्म सकारात्मक सोच अभियान विस्तार गर्ने, अभियानकर्मीहरूको सञ्जाल सुदृढ बनाउने तथा सकारात्मक नेतृत्व विकासलाई संस्थागत गर्ने कार्ययोजना पनि पारित गरेको अगुवा कोइरालाले बताए । शिक्षा, उद्यमशीलता, सामाजिक न्याय, सुशासन र स्थानीय विकाससँग जोडिएका व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि अगुवा कोइरालाको भनाइ छ ।
सञ्जालको नवौं भेलाले आगामी दिनमा स्थानीय तहसम्म सकारात्मक सोच अभियान विस्तार गर्ने, सामाजिक रूपान्तरणका लागि अभियानकर्मीहरूको सञ्जाल बलियो बनाउने तथा सकारात्मक नेतृत्व विकासलाई संस्थागत गर्ने कार्ययोजना पारित गरेको अध्यक्ष राउतको भनाइ छ । अभियानले समाजमा संवाद, सहकार्य, विश्वास र आत्मीयताको वातावरण निर्माण गर्न सहयोग पु¥याउने राउतको दाबी छ ।
