बुटवल । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रुपन्देही व्यापार संघ अन्तर्गतको जुत्ता–चप्पल बस्तुगत उपसमितिले बुटवल शिवनगरस्थित नन्दनी गौशालालाई गौआहार सहयोग गरेको छ ।
सोमबारे औँसीको अवसरमा एक कार्यक्रमबीच संघका अध्यक्ष प्रकाश ढकालले गौशालामा रहेका गाईहरूको आहारका लागि आवश्यक भेली, चापट, नुन, पिना लगायत करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले व्यापार संघका उपसमितिहरूले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकता दिँदै आएको उल्लेख गरे । यस्ता गतिविधिले संस्थाको सामाजिक प्रतिष्ठा थप उँचो बनाउने भएकाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
जुत्ता–चप्पल बस्तुगत उपसमितिका संयोजक उत्तम देवकोटाले गौसंरक्षण सबैको साझा दायित्व भएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत गौआहार सहयोग गरिएको जानकारी दिए । कार्यक्रममा संघका संस्थापक महासचिव गोपाल अधिकारी, द्वितीय उपाध्यक्ष मनहरि बस्याल, कार्यसमिति सदस्यहरू माधव ज्ञवाली, विजय ज्ञवाली, गोविन्दप्रसाद चापागाईं लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्य वक्ताहरूले उपसमितिले आफ्नै स्रोतबाट रकम व्यवस्थापन गरी गौसेवामा योगदान पु¥याएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । कार्यक्रम संयोजक महेश श्रेष्ठको स्वागत मन्तव्य तथा विजय नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।
