स्मार्ट आईटी सोलुसनद्वारा साप्ताहिक आइटी प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१ असार २०८३, सोमबार
73 shares

रुपन्देही । स्मार्ट आईटी सोलुसनको आयोजनामा पहिलो साप्ताहिक आइटी प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको शंकरपुरस्थित प्याब्सन तथा हिसान रुपन्देहीको कार्यालयमा आयोजना गरएिको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतियोगितामा कक्षा १–२ मा स्पर्शा भट्ट क्षेत्री (प्रथम), कृष्ण क्षेत्री (द्वितीय) तथा सम्युल थापा (तृतीय) भएका छन् । कक्षा ३ मा आरव अग्रहरी (प्रथम), दीपेन ढकाल (द्वितीय) तथा आयुस्मा भट्टराई (तृतीय), कक्षा ४ मा नमश थापा (प्रथम), दिक्ष्यान्त पौडेल (द्वितीय) तथा सनीश अधिकारी (तृतीय), कक्षा ५–६ मा आर्नव पौडेल (प्रथम), रिवाज पोखरेल (द्वितीय) तथा कृपेश पौडेल र एलिस्ना भण्डारी (संयुक्त तृतीय) भएका छन् । यस्तै कक्षा ७–८ मा दिव्यं सुवेदी (प्रथम), शुभिहानी सुनार (द्वितीय) तथा रिया थापा (तृतीय) भएका छन् । सहभागीहरूमध्ये विविध विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको कार्यक्रम संयोजक मुस्कान खत्रीले जानकारी दिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले अभिभावकको हक, हित र सोचअनुरूप उनीहरूको सक्रिय उपस्थितिले मात्र बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताए । उनले वर्तमान समयको आवश्यकता अनुसार बालबालिकालाई कोडिङ, रोबोटिक्स तथा अन्य आधुनिक सीपहरूसँग जोड्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
‘बालबालिकाको भविष्य निर्माणमा विद्यालय मात्र होइन, अभिभावकको सक्रिय सहभागिता पनि उत्तिकै अपरिहार्य हुन्छ । वर्तमान प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञान पर्याप्त हुँदैन ।,’ उनले भने ‘बालबालिकामा व्यवहारिक सीप, सिर्जनशीलता तथा आत्मविश्वास विकास गराउने यस्ता गतिविधिहरूमा सहभागी गराउनु अत्यन्त आवश्यक छ। अभिभावक स्वयं उपस्थित भई आफ्ना सन्तानको प्रगति अवलोकन गर्दा उनीहरूको मनोबल अभिवृद्धि हुन्छ र सिकाइप्रति सकारात्मक प्रभाव पर्छ ।’

कार्यक्रममा विचार व्यक्त गर्दै डा. मीन प्रसाद खनालले विद्यालयमार्फत सीमित विद्यार्थीहरू मात्र पटक–पटक अवसर पाउने प्रवृत्तिका कारण धेरै विद्यार्थीहरू अवसरबाट वञ्चित हुने अवस्था देखिएको उल्लेख गरे । उनले अभिभावक स्वयं सक्रिय भई आफ्ना बालबालिकालाई यस्ता कार्यक्रमहरूमा सहभागी गराउन सकेमा सबैले समान अवसर पाउने र उनीहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा फर्साटिकर मोडर्न स्कुलका प्राचार्यले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन विभिन्न निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रतियोगिता जित–हारमा सीमित नरही विद्यार्थीको समग्र व्यक्तित्व विकासको सशक्त माध्यम भएको उल्लेख गरे । यस्ता गतिविधिहरूले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने बताउँदै कक्षाकोठाभित्र सीमित शिक्षालाई व्यवहारिक अनुभवसँग जोड्न प्रतियोगिताहरू प्रभावकारी माध्यम बन्ने धारणा राखे ।

यस्तै अन्य वक्ताहरूले पनि भविष्यमा रोजगारी सिर्जना तथा बेरोजगारी न्यूनीकरणका लागि यस्ता सीपमूलक कार्यक्रमहरूको विशेष महत्व रहेको उल्लेख गरेका छन् । उनीहरूले आइतबार (साप्ताहिक बिदा) लाई उत्पादनमुखी तथा रचनात्मक कार्यमा उपयोग गर्न स्थानीय तहसँग पहल गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा डिल्लीराम पौडेल, बद्री पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खैरेनी, दाङ, भैरहवा, कपिलवस्तु, सैनामैना, बुटवल, फर्साटिकरलगायत विभिन्न क्षेत्रबाट विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साथै अभिभावक संघ, प्याब्सन, नेसनल प्याब्सन तथा हिसानले सूचना प्रवाह तथा समन्वय गर्दै कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा आयोजकले आभार व्यक्त गरेको छ ।

संस्थाका निर्देशक लेखनाथ पन्थले यो कार्यक्रम आगामी दिनहरूमा पनि प्रत्येक आइतबार नियमित रूपमा सञ्चालन गरिनेछ । साथै विभिन्न विधामा प्रतियोगिता तथा सीपमूलक गतिविधिहरू निरन्तर रूपमा आयोजना गरिने जनाइएको छ । आगामी कार्यक्रमसम्बन्धी विस्तृत जानकारी संस्थाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन सिर्जना भट्टराईले गरेकी थिइन् ।