अनियमित विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न एमाले बुटवलको माग

मेचीकाली संवाददाता

१६ असार २०८३, मंगलवार
1 shares

बुटवल। बुटवल उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अनियमित विद्युत आपूर्ति, न्यून भोल्टेज र बारम्बार लाइन जाने समस्याप्रति नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटीले नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

मंगलबार नगर कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा वितरण केन्द्रका प्रमुख रितेश गुप्तालाई ज्ञापनपत्र बुझाउँदै केही–केही मिनेटको अन्तरालमै विद्युत अवरुद्ध हुने, न्यून भोल्टेज आउने तथा भोल्टेजमा उतारचढाव हुने समस्याले आम उपभोक्ता समस्यामा परेको उल्लेख गर्दै यस्तो समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा अनियमित विद्युत आपूर्तिका कारण घरायसी जीवन, उद्योग–व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययन तथा विद्युतीय उपकरणमा प्रत्यक्ष नकारात्मक असर परेको जनाइएको छ । यस्तै पछिल्ला दिनमा बुटवलका उपभोक्ताबाट यस्ता गुनासा व्यापक रूपमा प्राप्त भइरहेको उल्लेख गर्दै एमाले बुटवलले विद्युत सेवा अत्यावश्यक सार्वजनिक सेवा भएकाले यसको नियमित, गुणस्तरीय र भरपर्दो आपूर्ति सुनिश्चित गर्नु नेपाल विद्युत प्राधिकरणको दायित्व भएको स्मरण गराएको छ । साथै, मर्मत, स्तरोन्नति वा अन्य प्राविधिक कारणले विद्युत आपूर्ति प्रभावित हुने अवस्था आएमा समयमै सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई जानकारी गराउनुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनपत्रमार्फत एमालेले बुटवल तथा आसपासका क्षेत्रमा भइरहेको बारम्बारको विद्युत अवरोध र न्यून भोल्टेजको समस्या तत्काल समाधान गर्न, भोल्टेज उतारचढावको प्राविधिक कारण पहिचान गरी दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार सुधार गर्न, ट्रान्सफर्मर, फिडर तथा वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्न र उपभोक्ताका गुनासाको तत्काल सुनुवाइ हुने प्रभावकारी संयन्त्र सञ्चालन गर्न माग गरेको छ ।

यस्तै, ज्ञापनपत्रमा विद्युतको अनियमितता तथा भोल्टेज उतारचढावका कारण उपभोक्तालाई हुने क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्न पनि प्राधिकरणसँग आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख गुप्ताले सिस्टमका कारण यो समस्या पटकपटक दोहोरीएको बताए । समस्या समाधानका लागि काम भइरहेको बताउँदै उनले आगामी दिनमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाए ।