उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन्ः अध्यक्ष पोखरेल

नेपाल चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ बीच कार्यगत एकता गर्ने प्रतिबद्धता

मेचीकाली संवाददाता

१७ असार २०८३, बुधबार
30 shares

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई, शुभकामना ज्ञापन एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ ।
निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र कार्यगत एकतालाई थप सुदृढ बनाउने उद्देश्यले बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा उक्त कार्यक्रम आयोजना गरीएको हो ।

कार्यक्रममा चेम्बरका प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई चेम्बर सचिवालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको मूल अवधारणा प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले भने, ‘निजी क्षेत्रका व्यावसायिक संस्थाहरू एकआपसमा प्रतिस्पर्धी होइनन्, बरु आर्थिक समृद्धिका सहयात्री हुन् ।’ सो अवसरमा मुलुकको लगानी प्रवद्र्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नीतिगत सुधारका लागि चेम्बर लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ लगायतका सबै व्यावसायिक संस्थाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने धारणामा सर्वसम्मत सहमति जुटेको छ ।

बैठकले निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई थप बलियो बनाउने विषयमा गहन छलफल गर्दै आगामी दिनमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघबीच समन्वयात्मक रूपमा सार्थक ढंगले कार्यगत एकता गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
निजी क्षेत्रका दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरिएको थियो ।