परमानन्द खरेल स्मृति दिवसमा विशिष्ट व्यक्तित्व सम्मानित

–प्रतिष्ठानको नयाँ नेतृत्वमा पोखरेल चयन

मेचीकाली संवाददाता

२२ असार २०८३, सोमबार
98 shares

बुटवल । उद्योग, समाजसेवा, शिक्षा, पत्रकारिता र राजनीतिक क्षेत्रमा जीवनभर समर्पित रहेर उदाहरणीय योगदान पु¥याएका स्वर्गीय परमानन्द खरेलको स्मृतिलाई सम्मान गर्दै परमानन्द खरेल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ ।

खरेलको १७ औं स्मृति दिवस तथा प्रतिष्ठानको १६ औँ वार्षिक साधारणसभा र अधिवेशनको अवसरमा बिहीबार बुटवलस्थित रुपन्देही उद्योग संघको सभाहलमा आयोजित विशेष समारोहमा समाजसेवा, शिक्षा, उद्योग–व्यवसाय तथा पत्रकारितामार्फत समाजमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

स्वर्गीय परमानन्द खरेल रुपन्देहीका प्रतिष्ठित उद्योगी, समाजसेवी, राजनीतिज्ञ तथा मेचीकाली सन्देश प्रकाशन प्रालिका पूर्वअध्यक्षका रूपमा परिचित थिए । उद्योग स्थापना, सामाजिक उत्तरदायित्व, शिक्षाको विकास र सञ्चार क्षेत्रप्रतिको उनको समर्पण आज पनि प्रेरणाको स्रोतका रूपमा स्मरण गरिन्छ ।

यस वर्षको सम्मान समाजसेवातर्फ वरिष्ठ समाजसेवी बिमलबहादुर शाक्य, उद्यमशीलातर्फ शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट चोइस उद्योगका सञ्चालक युवा उद्यमी कृष्णप्रसाद पौडेल, पत्रकारितातर्फ राष्ट्रिय समाचार समिति (रासस)का उपनिर्देशक तथा पत्रकार भरत केसी तथा शैक्षिक क्षेत्रतर्फ बुटवल उपमहानगरपालिका–६, स्थित साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु गौतम (संस्थागत) लाई प्रदान गरिएको हो । विद्यालय र पत्रकारिता पुरस्कार नगद राशी सहितको थियो ।

प्रतिष्ठानले शिक्षा, उद्योग, सामाजिक सेवा तथा आमसञ्चारका माध्यमबाट समाज रूपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गरेको प्रतिष्ठानका सचिव चण्डीप्रसाद पाण्डेयले जानकारी दिएका छन् । कार्यक्रममा शैक्षिक, औद्योगिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने चारै जना सम्मानित व्यक्तित्वको कार्यलाई समाजका लागि अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गरिएको सचिव पाण्डेयले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले स्वर्गीय परमानन्द खरेलले रुपन्देहीको औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएको उल्लेख गरे । उनले उद्योग स्थापना र वस्तु उत्पादन मात्र होइन, उद्योगीहरू समाजप्रति पनि उत्तरदायी हुनुपर्छ भन्ने संस्कार खरेलले स्थापित गरेको भन्दै उनको जीवन नयाँ पुस्ताका उद्यमीका लागि प्रेरणादायी रहेको बताए ।

प्रतिष्ठानका पूर्वउपाध्यक्ष टिकाराम घिमिरेले स्वागत मन्तव्य राख्दै स्वर्गीय खरेल शिक्षा, राजनीति, उद्योग, पत्रकारिता र समाजसेवामा समान रूपमा सक्रिय बहुआयामिक व्यक्तित्व भएको बताए । उनले प्रतिष्ठानले खरेलको योगदानलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यका साथ निरन्तर सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरूले सम्मानप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व र सेवाको भावनालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको खरेलका सुपुत्र तथा युवा उद्यमी किरण खरेलले जानकारी दिए । कार्यक्रममा सम्पूर्ण उद्योगी समुदायको तर्फबाट रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष भुपालकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव चण्डीप्रसाद पाण्डेले गरेका थिए ।

प्रतिष्ठानमा सर्वसम्मत नयाँ नेतृत्व
यसैबीच प्रतिष्ठानको १६औँ वार्षिक साधारणसभा तथा अधिवेशनले श्रीकृष्ण पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा बलबहादुर आचार्य, सचिवमा चण्डीप्रसाद पाण्डे, सहसचिवमा अमृता सारु, कोषाध्यक्षमा ओमप्रकाश खरेल रहेका छन् । यस्तै प्रतिष्ठानका सदस्यहरूमा एजाज आलम, तेजकुमार पाठक, होमराज बस्याल र चुणामणि खरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक अमृत गिरीले जानकारी दिए । गिरीको संयोजकत्वमा यादवप्रसाद भण्डारी र छायाँ पन्थ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । ११ सदस्यीय कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

निवर्तमान अध्यक्ष भुपालकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतिष्ठानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण पोखरेलले प्रतिष्ठानको उद्देश्य, मूल्य र स्वर्गीय परमानन्द खरेलले देखाएको मार्गलाई आत्मसात् गर्दै संस्थालाई अझ गतिशील र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा प्रतिष्ठानकी संरक्षक तथा स्वर्गीय खरेलकी धर्मपत्नी रेणुका खरेलले प्रतिष्ठानको कोषका लागि रु ५ लाख सहयोग हस्तान्तरण गर्दै परमानन्द खरेलको स्मृतिलाई जीवन्त राख्न निरन्तर योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।

प्रेरणादायी जीवनयात्रा
वि.सं.२०१५ कार्तिक १५ गते गुल्मीको आँपचौर गाविस (हालको मुसिकोट नगरपालिका) मा जन्मिएका परमानन्द खरेल पछि रुपन्देहीको शंकरनगरमा बसाइँ सरेका थिए । उद्योग, समाजसेवा, शिक्षा, राजनीति र पत्रकारितामा समान रूपमा सक्रिय खरेलको वि.सं.२०६६ असार ३० गते निधन भएको थियो ।

उनको परिवारमा पत्नी, दुई छोरा, बुहारी तथा नातिनातिना छन् । उनले स्थापित गरेका सामाजिक मूल्य, उद्योगप्रतिको समर्पण, शिक्षाप्रतिको लगाव र समाजसेवाको संस्कार आज पनि प्रतिष्ठानका गतिविधिमार्फत निरन्तर जीवित रहँदै आएको मेचीकाली सन्देश प्रकाशन प्रालिका अध्यक्ष होमराज बस्यालको भनाइ छ । सम्मान, सहकार्य र सेवा भावलाई केन्द्रमा राखेर आयोजित स्मृति दिवसले स्वर्गीय परमानन्द खरेलको योगदानलाई मात्र स्मरण गराएन, समाज परिवर्तनका लागि समर्पित व्यक्तित्वहरूको सम्मानमार्फत सकारात्मक कार्यको निरन्तरतासमेत सुनिश्चित गर्ने सन्देश दिएको अध्यक्ष बस्यालले बताए ।