आत्मनिर्भर समाज निर्माणमा जनउत्थान साकोस

–जन्मदेखि जीवनको अन्तिम अवस्थासम्मको सहयात्री

मेचीकाली संवाददाता

६ श्रावण २०८३, बुधबार
19 shares

मिलन गाहा

बुटवल । नेपालको सहकारी आन्दोलन यतिबेला चुनौतीपूर्ण मोडमा उभिएको छ। केही सहकारी संस्थामा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम फिर्ता हुन नसकेको अवस्था र त्यसबाट सिर्जिएको अविश्वासका कारण सम्पूर्ण सहकारी अभियानमाथि नै प्रश्न उठ्ने परिस्थिति बनेको छ। तर यिनै चुनौतीका बीच रुपन्देहीबाट एउटा यस्तो उदाहरण उदाएको छ, जसले प्रमाणित गरेको छ-सुशासन, पारदर्शिता र सदस्यप्रतिको उत्तरदायित्व भए सहकारी केवल वित्तीय संस्था होइन, समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्छ।

रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (जनउत्थान साकोस) त्यही सफल उदाहरण हो। यसले बचत र ऋणको सीमाभन्दा धेरै माथि उठेर सदस्यको जीवनचक्रसँगै यात्रा गर्ने अभियान सञ्चालन गरेको छ। गर्भवती महिलाको पोषणदेखि ज्येष्ठ नागरिकको सम्मानसम्म, विद्यार्थीको शिक्षादेखि उद्यमीको व्यवसायसम्म र सदस्यको सुख–दुःखदेखि अन्तिम संस्कारसम्म साथ दिने सामाजिक अभ्यासका कारण आज जनउत्थानलाई धेरैले “गर्भदेखि स्वर्गसम्मको सहयात्री” भनेर चिन्ने गरेका छन्।

सानो सुरुआत, ठूलो गन्तव्य
२०५९ साल असोज १५ गते रुपन्देहीको टिकुलीगढमा जम्मा ३१ जना सदस्य र एक सय रुपैयाँ शेयर पूँजीबाट स्थापना भएको जनउत्थान साकोसले आज दुई दशकको यात्रामा उल्लेखनीय फड्को मारेको छ। हाल संस्थामा ४३ हजार ८९२ जना शेयर सदस्य आबद्ध छन् भने रुपन्देहीभर १० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह भइरहेको छ।
जनउत्थान, गौमुखी, बुद्ध बहुउद्देश्यीय, पटाकसार, सुदृढ तथा सगोल महिला साकोसलगायत सात संस्थाको सफल एकीकरणपछि संस्थाले अझ बलियो वित्तीय आधार र व्यापक सदस्य सञ्जाल निर्माण गर्न सफल भएको हो। सहकारी क्षेत्रमा मर्जरलाई सफलतापूर्वक कार्यान्वयन गर्ने संस्थामध्ये जनउत्थान अग्रणी उदाहरण मानिन्छ।

बचतलाई उत्पादनसँग जोड्ने अभियान
धेरै सहकारीले बचत सङ्कलनलाई प्राथमिकता दिने गरेका छन्। तर जनउत्थानको दृष्टिकोण फरक छ। यसले बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै सदस्यलाई उद्यमी बनाउने अभियान सञ्चालन गरेको छ।
संस्थाले हालसम्म ११ हजार ३८० भन्दा बढी सदस्यलाई ऋण प्रवाह गरेको छ। कृषि, पशुपालन, डेरी, मत्स्यपालन, नर्सरी, साना उद्योग, व्यापार तथा घरेलु उद्यममा लगानी गरी हजारौं परिवारलाई स्वरोजगार बनाएको छ।
संस्थाको मूल्याङ्कन अनुसार यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४० हजार रोजगारी सिर्जना भएको छ। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको दबाब बढिरहेका बेला स्वदेशमै उद्यम सिर्जना गर्ने यस्तो अभ्यास अत्यन्त प्रेरणादायी मानिन्छ।

सरकारले गर्न नसकेको काममा निजी सहकारीको योगदान
नेपालमा रोजगार अभावका कारण लाखौं युवा विदेशिएका छन्। वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले अर्थतन्त्र धाने पनि त्यसले परिवार, समाज र उत्पादनशील जनशक्तिमा गम्भीर असर पारेको छ।
यस्तो अवस्थामा जनउत्थानले आफ्ना सदस्यलाई विदेश जानुभन्दा स्वदेशमै व्यवसाय सुरु गर्न प्रोत्साहित गरेको छ। ऋण मात्र होइन, व्यवसाय सञ्चालनसम्बन्धी तालिम, परामर्श, पुनर्ताजगी कार्यक्रम र नियमित अनुगमनमार्फत सदस्यलाई सफल उद्यमी बनाउने प्रयास गरेको छ।
यही कारण जनउत्थानको ऋण उपभोगमुखीभन्दा उत्पादनमुखी बनेको छ।

सफल उद्यमी जन्माउने सहकारी
सिद्धार्थनगरका अशोक चौलागाईँ यसको ज्वलन्त उदाहरण हुन्। उनले जनउत्थानबाट प्रारम्भिक २ लाख ५० हजार रुपैयाँ ऋण लिएर डेरी व्यवसाय सुरु गरेका थिए। आज उनको व्यवसाय ४० लाख रुपैयाँभन्दा बढी लगानी भएको संस्थामा रूपान्तरण भएको छ। परिवारका पाँच सदस्यले त्यही व्यवसायबाट पूर्ण रोजगारी पाएका छन्।
ओमसतियाका साहरुख पठानले पनि जनउत्थानको सहयोगमा करिब ५० लाख रुपैयाँ लगानीको आधुनिक माछापालन व्यवसाय सञ्चालन गरिरहेका छन्। १६ कठ्ठा क्षेत्रफलमा फैलिएको उनको फार्मबाट मासिक लाखौं रुपैयाँ आम्दानी हुने गरेको छ। उनी भन्छन्, “मेहनत गर्न सके स्वदेशमै सम्मानजनक आम्दानी गर्न सकिन्छ।”
तिलोत्तमाकी सरिता मल्लले जनउत्थानकै ऋणबाट नर्सरी व्यवसाय विस्तार गरिन्। अहिले उनको नर्सरीले पाँच जनालाई रोजगारी दिएको छ भने मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
यी त प्रतिनिधि पात्र मात्र हुन्। हजारौं सदस्यले जनउत्थानको सहयोगमा कृषि, उद्योग, व्यापार र सेवा क्षेत्रमा सफल उद्यम सञ्चालन गरिरहेका छन्।

सुशासन नै सफलताको आधार
जनउत्थानको सफलताको पछाडि वित्तीय अनुशासन र सुशासन सबैभन्दा महत्वपूर्ण आधार हो। संस्थाका अध्यक्ष गिरीप्रसाद पुनका अनुसार एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था गरिएको छ। यसले नेतृत्व हस्तान्तरण, जवाफदेहिता र संस्थागत लोकतन्त्रलाई बलियो बनाएको छ।
प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाका अनुसार पूँजी पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन, तरलता नियन्त्रण, आन्तरिक लेखापरीक्षण तथा पारदर्शी वित्तीय प्रणाली संस्थाको मेरुदण्ड हुन्। सदस्यको बचतलाई सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा लगानी गर्नु नै संस्थाको मूल नीति हो।

वित्तीय संस्थाभन्दा ठूलो सामाजिक संस्था
जनउत्थानको अर्को विशेषता भनेको सामाजिक उत्तरदायित्व हो। संस्थाले गर्भवती तथा सुत्केरी महिलालाई पोषण सहयोग, विद्यार्थीलाई शैक्षिक सहायता, बुहारी स्वागत, चेली बिदाइ, ७० वर्षभन्दा माथिका सदस्यलाई लौरो तथा ह्वीलचेयर वितरण, प्राणघातक रोग लागेका सदस्यलाई आर्थिक सहयोग, शतायु सदस्यको सम्मान तथा सदस्यको निधनमा क्रियाखर्चसमेत उपलब्ध गराउँदै आएको छ।
यस्ता कार्यक्रमले सहकारीलाई केवल आर्थिक कारोबार गर्ने संस्थाभन्दा धेरै माथि उठाएर सामाजिक सुरक्षाको स्थानीय संयन्त्रका रूपमा स्थापित गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरको पहिचान
सुशासन र उत्कृष्ट वित्तीय व्यवस्थापनकै कारण जनउत्थानले अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको छ।
एशियाली क्रेडिट युनियन महासंघको प्राविधिक सहजीकरणमा सञ्चालित मूल्याङ्कन प्रणालीअन्तर्गत संस्थाले प्रतिष्ठित “एक्सेस सिल्भर ब्रान्ड–२०२५” प्राप्त गरेको छ। नेतृत्व तथा विकास, आन्तरिक सुशासन, वित्तीय अवस्था र सदस्य सेवाका चारै सूचकमा उत्कृष्ट अंक ल्याउँदै प्राप्त यो सम्मानले जनउत्थानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएको छ।
यसअघि पनि संस्थाले ब्रान्ज र सिल्भर श्रेणीका विभिन्न सम्मान प्राप्त गरिसकेको छ भने सन् २०२६ को मूल्याङ्कन प्रक्रियामा समेत सहभागी भएको जनाएको छ।

भविष्यतर्फ आत्मविश्वास
जनउत्थानले २०८८ सालसम्म ६० हजार सदस्य पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखेको छ। त्यस अवधिसम्म कुल पूँजी ८२६ करोड, बचत ६२७ करोड, कर्जा लगानी ६७१ करोड र जगेडा कोष ६५ करोड रुपैयाँ पुर्‍याउने योजना अघि बढाइएको छ।
यससँगै सदस्यमैत्री डिजिटल सेवा विस्तार, उद्यमशीलता विकास, युवा स्वरोजगार तथा महिला आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्य पनि संस्थाले लिएको छ।

विश्वास पुनर्निर्माणको राष्ट्रिय सन्देश
आज सहकारी क्षेत्रमाथि प्रश्न उठिरहेका बेला जनउत्थान साकोसले एउटा महत्वपूर्ण सन्देश दिएको छ-समस्या सहकारीको अवधारणामा होइन, कमजोर व्यवस्थापनमा हो।
पारदर्शिता, उत्तरदायित्व, सुशासन, उत्पादनमुखी लगानी र सदस्यकेन्द्रित सेवाको अभ्यासले सहकारीलाई आर्थिक समृद्धिको बलियो आधार बनाउन सकिन्छ भन्ने जनउत्थानले व्यवहारमै प्रमाणित गरेको छ। रुपन्देहीबाट सुरु भएको यो अभियान अब देशभरका सहकारीका लागि प्रेरणाको स्रोत बनेको छ। यदि प्रत्येक सहकारीले सदस्यको विश्वासलाई केन्द्रमा राखेर यस्तै उत्तरदायी अभ्यास अपनाउने हो भने सहकारी आन्दोलनप्रतिको विश्वास पुनः स्थापित हुनेछ, स्थानीय अर्थतन्त्र सुदृढ हुनेछ र हजारौं युवाले स्वदेशमै रोजगारी तथा उद्यमको अवसर प्राप्त गर्नेछन्।

जनउत्थान साकोसको दुई दशकभन्दा लामो यात्राले एउटा स्पष्ट सन्देश दिएको छ सहकारीको वास्तविक सफलता भवन, कारोबार वा पूँजीमा होइन; सदस्यको जीवन परिवर्तन गर्ने क्षमतामा मापन हुन्छ। यही कारण जनउत्थान आज केवल सफल सहकारी होइन, समुदायको विकास, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वको राष्ट्रिय नमुना बनेको छ।