सामाजिक उत्तरदायित्वमा सिटिजन लाइफ इन्स्योरेन्स देवदह

मेचीकाली संवाददाता

६ श्रावण २०८३, बुधबार
4 shares

देवदह । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाले आर्थिक वर्ष २०८२/८३ को १०० प्रतिशत लक्ष्य हासिल गरेको खुसीयालीमा देवदह–७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा ३० भन्दा बढी फलफूलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

स्वच्छ वातावरण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शाखा प्रमुख बिनिता श्रीषको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गुरुमाँ रहेकी थिइन् भने विशिष्ट अतिथिहरूमा यशोधरा भिक्षुणी बिहारका सचिव तिलविक्रम बुढाथोकी, नेपाल मगर संघ नगर समिति अध्यक्ष किसानबहादुर थापा तथा सिनियर एजेन्सी म्यानेजर कमला थापा रहेका थिए । साथै शाखामा कार्यरत एजेन्सी म्यानेजरहरू, सिटिजन लिडर्स तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर शोभा थापाले राखेकी थिइन् । शुभकामना मन्तव्य व्यक्त गर्दै कमला थापा, किसानबहादुर थापा, तिलविक्रम बुढाथोकी तथा प्रमुख अतिथि उपेखा गुरुमाँले वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको समापन गर्दै शाखा प्रमुख बिनिता श्रीषले धन्यवाद मन्तव्य राखेका थिए । उनले व्यावसायिक सफलतासँगै समाज र वातावरणप्रतिको दायित्वलाई समेत सँगसँगै अघि बढाउनु सिटिजन लाइफ इन्स्योरेन्सको मूल भावना रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन एजेन्सी म्यानेजर पारु न्यौपानेले गर्नुभएको थियो । वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाको प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूले बताएका थिए ।