तुलसीराम पौडेल
सियारी । रुपन्देहीको मायादेवी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्थानीय सरकारबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरी र वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले स्थानीय सरकारको मूल उद्देश्य नागरिकलाई घरदैलोमै प्रभावकारी सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
उनले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा प्रशासनिक पूर्वाधार विकासलाई समान रूपमा अघि बढाइरहेको जानकारी दिँदै नयाँ वडा कार्यालय भवनले वडा नम्बर ७ का नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष चौधरीले सार्वजनिक संरचनाको संरक्षण र सदुपयोगमा स्थानीयवासीको पनि उत्तिकै जिम्मेवारी रहने उल्लेख गर्दै विकास निर्माणका आगामी योजनामा पनि सबैको सहयोग आवश्यक पर्ने बताए । यस्तै गरी कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका–७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले नवनिर्मित वडा कार्यालय भवन स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज वातावरणमा छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष पाण्डेयले वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराई सहयोग गर्ने स्थानीयवासी तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पु¥याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगमा सबै नागरिकको साझा जिम्मेवारी रहने उल्लेख गरे ।
उहाले वडा नम्बर ७ को समग्र विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी लगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम भइरहेको बताउँदै आगामी दिनमा पनि नागरिकको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै गरी कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले सार्वजनिक सम्पत्तिको संरक्षण र दीर्घकालीन उपयोगमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । नयाँ भवन सञ्चालनसँगै सेवाग्राहीले सहज वातावरणमा सेवा प्राप्त गर्ने र प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने उनको भनाइ थियो। उनले कार्यालयको भौतिक पूर्वाधारसँगै सेवा प्रवाहको गुणस्तर सुधार गर्न कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी मायादेवी गाउँपालिका–८ का वडाध्यक्ष चोकबहादुर थापाले स्थानीय तहका कार्यालयहरूलाई नागरिकमैत्री बनाउन व्यवस्थित कार्यालय भवन आवश्यक रहेको बताए । उन विकास निर्माणका काममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच समन्वय हुन सके मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।
कार्यक्रममा गाउँपालिकाका प्राविधिक अधिकृत प्रकाश थापाले भवन निर्माणसम्बन्धी प्राविधिक विवरण प्रस्तुत गरेका थिए । उनले भवन स्वीकृत डिजाइन, मापदण्ड र गुणस्तरअनुसार निर्माण गरिएको जानकारी दिँदै निर्माण प्रक्रियामा आवश्यक प्राविधिक मापदण्ड पालना गरिएको बताए । भवनमा सेवाग्राहीलाई सहज हुने गरी कार्यालय कक्ष, बैठक कक्ष तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिएको उनको भनाइ थियो।
यस्तैगरी गैरगट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेशमणि त्रिपाठीले स्थानीय तहमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । उनले वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । वडा सचिव विजयकुमार यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रामकृष्णले गरेका थिए ।

स्वागत मन्तव्यका क्रममा वडा सचिव यादवले नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित हुने विश्वास व्यक्त गरे। उनले सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गर्दै भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले स्थानीयवासीको साथ र सहकार्यबिना विमकासका योजना सफल हुन नसक्ने धारणा पनि राखेका थिए ।
कार्यक्रमकै अवसरमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्त्वपूर्ण योगदान पु¥याएका स्थानीय रामनेवास यादवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। गाउँपालिकाले स्थानीय विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ।
स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यो भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा थप व्यवस्थित, सहज र सेवामुखी हुने अपेक्षा गरिएको छ ।
