रमेश पराजुली
बुटवल, साउन ९ । साउनको पहिलो साता सकिँदा धान उत्पादनका लागि उर्भर भूमि मानिने लुम्बिनी प्रदेशमा ११ प्रतिशत खेतमा अझै धान रोप्न बाँकी छ । शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेशभर झन्डै ८९ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल ६ लाख ७९ हजार ६१३ हेक्टर खेतीयोग्य जमिन छ । जसमा ३ लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार लुम्बिनीमा धान खेती हुँदै आएको जमिनमध्ये ८८.९९ प्रतिशत अर्थात् दुई लाख ६८ हजार १९७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । समयमै वर्षा भएको भए हालसम्म ९५ प्रतिशत भन्दा धेरै रोपाइँ भइसक्ने गैरेले बताए । यसवर्ष पनि समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा धान रोपाइँ ढिलो सुरु भएको थियो । ‘लुम्बिनीमा मध्य असारसम्म पहाडी जिल्लामा फाटफुटबाहेक तराईका जिल्लामा रोपाइँ हुन सकेको थिएन ।’ उनले भने,‘पछिल्लो तीन सातामा धमाधम रोपाइँ भएर ८९ प्रतिशत पुग्नुलाई समग्रमा सन्तोषजनक मान्नुपर्छ ।’ अघिल्लो वर्ष साउन अन्तिम सातासम्म धान रोपाइँ भएको बताउँदै निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले ब्याडमा बिउ छिप्पिँदै जाँदा त्यसको असर उत्पादनमा देखिने बताए ।
सिँचाइ अभावले धेरै किसान आकाशे पानीमै भर पर्नुपर्ने अवस्था छ । समयमा आकाशे पानी नपर्नु, सिँचाइ सुविधा पर्याप्त विस्तार हुन नसक्दा रोपाइँ ढिला हुन गएको निर्देशनालयले जनाएको छ । कुलो, सिँचाइका संरचना बनेका जिल्लामा धान रोपाइँ शतप्रतिशतसम्म भइसकेको कृषि विकास निर्देशनालय लुम्बिनीका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेले बताए । लुम्बिनी प्रदेशमा धान उत्पादन हुने क्षेत्रफल घट्दै जानुका साथै कृषिका लागि जलवायु परिवर्तन चुनौतीपूर्ण बन्दै गएको उनले बताए ।
यस्तो छ जिल्लागत रोपाइँको अवस्था
कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुम (पूर्व) मा धान रोपाइँ शतप्रतिशत भएको छ । रोल्पामा ३ हजार ७३ हेक्टर र लुम्बिनी प्रदेशको एउटा मात्रै हिमाली जिल्ला रुकुम पूर्वमा ३५४ हेक्टरमा मात्रै धान खेती लगाइन्छ । सबैभन्दा कम कपिलवस्तुमा ६६ हजार २६५ हेक्टर मध्ये ७७.५ प्रतिशत अर्थात् ५१ हजार ३२२ हेक्टरमा धान रोपाइँ भएको छ ।
यस्तैगरी, रुपन्देहीमा धान खेती हुने कुल ६३ हजार ५५० हेक्टर मध्ये ९८ प्रतिशत अर्थात् ६२ हजार २७९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये ९८.५ प्रतिशत अर्थात् २० हजार ५७४ हेक्टरमा, पाल्पामा ७ हजार २८७ मध्ये ९३ प्रतिशत अर्थात् ६ हजार ७७७ हक्टरमा, गुल्मीमा ६ हजार ५४१ मध्ये ८४ प्रतिशत अर्थात् ५ हजार ४९४ हेक्टर र अर्घाखाँचीमा ६ हजार ७६० मध्ये ८८ प्रतिशत अर्थात् ५ हजार ९४९ हेक्टरमा मा रोपाइँ सम्पन्न भएको छ ।
यस्तैगरी, दाङमा ३६ हजार २ सय मध्ये ८० प्रतिशत अर्थात् २८ हजार ९६० हेक्टरमा, बाँकेमा ३३ हजार ७८० मध्ये ८४ प्रतिशत अर्थात् २८ हजार ३७५ हेक्टरमा, प्युठानमा ६ हजार ५२५ मध्ये ९८ प्रतिशत अर्थात् ६ हजार ३९५ हेक्टरमा र बर्दियामा ५० हजार १५० मध्ये ९७ प्रतिशत अर्थात् ४८ हजार ६४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
प्रतिकूल मौसमका बिच पनि धान उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बिउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको कृषिविज्ञहरु बताउँछन् । धान उत्पादन वृद्धि गर्न प्रदेश सरकारले खेतियोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधा विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध, यान्त्रीकरण, चैते धान प्रवद्र्धन, बजारीकरण, रैथाने जातको संरक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका उन्नत जातहरूको खेती भइरहेको छ । साथै, किसानले तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता परम्परागत बिउको पनि खेती गर्दै आएका छन् ।
