बुटवल । रूपन्देही व्यापार संघको आयोजनामा वस्तुगत उपसमितिलक्षित दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित बुद्धमाया गार्डेनमा आइतबारदेखि सुरु भएको कार्यक्रम सोमबार समापन भएको संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रकाश ढकालले बदलिँदो व्यावसायिक परिवेशमा नेतृत्व क्षमता, समन्वय र संस्थागत सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले व्यवसायीहरूको व्यक्तित्व विकाससँगै संघको प्रभावकारी कार्यसम्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । संस्थाको दिगो विकासका लागि सक्षम, जिम्मेवार र दूरदर्शी नेतृत्व आवश्यक रहेको अध्यक्ष ढकालको भनाई थियो । उनले व्यवसायीहरूबीच आपसी सहकार्य, समन्वय र नेतृत्व क्षमताको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रहसमेत गरे ।
राज्यको स्पष्ट नीति, नियम तथा प्रभावकारी निर्देशनको अभावका कारण व्यवसायीहरू विभिन्न समस्यामा परेको उनले गुनासो गरे । पछिल्लो समय अरुको देखासिकी गर्दै पर्याप्त अध्ययन र तयारीबिनै व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दा धेरै व्यवसायीको लगानी डुबेको र उनीहरू व्यवसायबाट पलायन हुन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानी गर्नुअघि सम्बन्धित क्षेत्रको पर्याप्त अध्ययन, बजारको अवस्था र सम्भावनाबारे राम्रोसँग बुझ्न आग्रह गरे ।

यस्तै, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले भौतिक रूपमा समृद्ध हुँदैमा मात्र मानिस खुसी हुन नसक्ने भन्दै वर्तमान समयमा बुद्धको शिक्षा र दर्शनको महत्व झन् बढ्दै गएको बताए । उनले आफ्नो व्यवसायलाई मात्र चलायमान बनाउने उद्देश्यभन्दा माथि उठेर नैतिकता, करुणा र मानवीय मूल्यलाई आत्मसात् गर्न सके समाजमा दिगो शान्ति र समृद्धि सम्भव हुने धारणा व्यक्त गरे ।
यस्तै, कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईले व्यवसायीहरूमा नेतृत्व विकास, व्यावसायिक दक्षता अभिवृद्धि र सदस्यहरूको हितमा काम गर्ने भावना सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । साथै, रुपन्देहीको समग्र व्यापार–व्यवसायलाई कसरी थप चलायमान र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा व्यवसायीहरूबीच अनुभव आदानप्रदान र छलफल समेत गरीएको उनले जानकारी दिए ।
कार्यक्रममा सहजकर्ता तथा संघका सल्लाहकार मुकुन्द ज्ञवालीले नेतृत्व तथा व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, समूह व्यवस्थापन, निर्णय क्षमता तथा संस्थागत सुदृढीकरणका विषयमा सहजीकरण गरेका थिए । उनले पछिल्लो समय व्यापार–व्यवसाय सुस्त बन्दै जाँदा धेरै उद्योगी–व्यवसायी निराश हुने र कतिपय मानसिक तनावका कारण आत्मदाहसम्म पुग्ने अवस्था देखिएको उल्लेख गर्दै व्यवसायसँगै आफ्नै मानसिक स्वास्थ्यप्रति पनि सचेत रहन आग्रह गरे । समयको परिवर्तनसँगै व्यावसायिक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले व्यवसायलाई डिजिटल माध्यमसँग जोड्न, नयाँ–नयाँ मार्केटिङ रणनीति अपनाउन तथा प्रभावकारी विज्ञापन शैली विकास गर्न आवश्यक रहेको बताए ।

ग्राहकले छिटो, सुलभ मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा खोज्ने भएकाले उनीहरूको आवश्यकता र चाहनाअनुसार सेवा तथा उत्पादन उपलब्ध गराउन व्यवसायी सक्षम हुनुपर्ने उनले बताए । आफ्नो लक्ष्यमा केन्द्रित भई स्पष्ट व्यावसायिक योजना बनाउने, लगानीको सुनिश्चितता गर्ने, समस्याको समयमै पहिचान गरी समाधानतर्फ अघि बढ्ने हो भने व्यवसायमा सफलता हासिल गर्न सकिने ज्ञवालीको भनाइ थियो ।
यस्तै, कार्यक्रमका अर्का सहजकर्ता सुबोध भट्टराईले व्यवसायीले ग्राहकसँग गर्ने व्यवहार र प्रयोग गर्ने शब्दले व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्राहक सन्तुष्टि र सम्मानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कुनै पनि व्यवसाय सुरु गर्नुअघि असम्भव जस्तो देखिने लक्ष्यलाई पनि सम्भव बनाउन स्पष्ट कार्ययोजना तयार गर्नु आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा सहभागी व्यवसायी तुल्सी शर्मा र अमृता भण्डारीले दुईदिने तालिमबाट व्यवसाय सञ्चालन, नेतृत्व विकास तथा ग्राहक व्यवस्थापनका विषयमा धेरै नयाँ कुरा सिक्न पाएको अनुभव सुनाए । संघका महासचिव प्रकाशराज पौडेलले व्यवसायीहरूको आवश्यकता र समयको मागअनुसार आगामी दिनमा पनि यस्ता तालिम तथा अन्य क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत उपसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको संघका कार्यकारी प्रमुख सरोज पोखरेलले जानकारी दिए ।
