बुटवल । रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
उद्धारका क्रममा बिहीबार बिहान ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । यसअघि १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको शव फेला परेको थियो ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ । पहिरोमा परी अझै ९ जना बेपत्ता छन् । पहिरो पन्छाएर उनीहरुको खोजी भइरहेको छ । बुधबार बेलुकी पौने ९ बजेतिर गाउँमाथिको डाँडाबाट पहिरो खसेर आधा दर्जन घरगोठ पुरेको थियो ।
पहिरोमा परी बेपत्ता हुनेहरुमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी र स्थानीयले रातिदेखिनै उद्धार सुरु गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घटनास्थलमा बिहीबार बिहानैदेखि ठुलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसहित जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओको टोली खटिएको छ ।
त्यसैगरी नेपाली सेनाको सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कालिप्रशाद चौधरीको कमान्डमा टोली घटनास्थलमा खटिएको छ ।
