‘महिलाको स्वास्थ्य संवेदनशीलता ख्याल गरौं’

मेचीकाली संवाददाता

२१ आश्विन २०७८, बिहीबार
681 shares

धनु श्रेष्ठ
धनु श्रेष्ठ अर्थात् सामाजिक अभियन्ताका रुपमा खटिएकी एक स्वास्थ्यकर्मी । बुवा रिमबहादुर श्रेष्ठ र आमा पार्बती श्रेष्ठको सन्तानका रुपमा जन्मिएकी उनी पेशाले स्वास्थ्यकर्मी हुन् । विगत १८ वर्षदेखि उनी यो पेशामा निरन्तर छन् । उनी आफूले अपनाएको पेशाका साथसाथै सामाजिक सचेतनाका काममा पनि समय दिने गरेकी छन् । खासगरी महिला स्वास्थ्य र त्यसका संवेदनशीलताका विषयलाई उनले विभिन्न फोरमहरुमा छलफलको विषय बनाउँदै सचेतना जगाउने पनि काम गर्दै आएकी छन् । सैनामैनाको बासगढीमा जन्मिएर स्कुल त्यहीँ पढेकी धनुले कपिलवस्तुको तौलिहमा हेल्थ एसिस्टेन्छ (एचए) को तीन वर्षे कोर्ष गरिन् ।

ल्याब असिस्टेन्टसम्मको अध्ययन गरेकी उनको ध्यान स्वास्थ्य समस्याले सताउने महिलाहरुको अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्नेमै केन्द्रित छ । कोरोना कहरको महामारीमा पनि उनी महिला र बालबालिकालाई कसरी जोगाउन सकिन्छ भन्नेमै विभिन्न सामाजिक संघसंस्था र स्वास्थ्यकर्मीहरुसँग परामर्श गर्दै आएकी छन् । स्वास्थ्य सेवाको पेशामा १८ वर्षदेखि आबद्ध उनको चासो र सरोकार भनेकै महिला स्वास्थ्यको संवेदनशिलता र सचेतना नै रहेको छ । उनी आबद्ध सामाजिक संघसंस्थाहरुमा पनि यहीँ विषयले प्राथमिकता पाउने गरेको छ । भिमसेन नेवा मयजु पूच ः बुटवलको अध्यक्षसँगै विभिन्न संघ संस्थामा आबद्ध छिन् । उनीसँग गरिएको कुराकानीलाई लेखका रुपमा यहाँ प्रस्तुत गरिएको छ–

घरकै औषधी पसलले बाल्यकालमा पारेको प्रभाव
घरमा रहेको औषधी पसल र त्यहाँ चेकजाँच गराउन आउने बिरामीमध्ये कतिपयका अवस्था देखेर मनमा कौतूहुलता उत्पन्न हुन्थ्यो । टाढाटाढाबाट उपचारका लागि बिरामीहरुमध्ये महिला र बालबालिकाहरुप्रति खास चासो जान्यो । सबैले यो पेशालाई गर्ने सम्मान र सेवा गर्दा उहाँहरुबाट पाउने आशिष मैले सुन्थँे । यस्तै पेशा गरेर समाज सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र त्यहीँ पेशामा अहिले जोडिन पाएकी छु । हाम्रो घरमा मेडिकल गर्नुभएको आदरणीय गुरु युवराज काफ्लेले मेडिकलको बारेमा स्वास्थ्य क्षेत्रको बारेमा धेरै कुराहरु सिकाउनुहुन्थ्यो । बाबाआमाले सामाजिक परिवेशका बारेमा जानकारी गराउनुहुन्थ्यो । अब मैले महिला स्वास्थ्यका संवेदनशीलतालाई बुझ्ने कोसिस गरेकी छु । आफू बसेको ठाउँबाट केही न केही सुधार गर्नुपर्ने अभियानमा सरिक भएकी छु ।

स्वास्थ्य सेवा प्रवाहका समस्याहरु र सम्भावना
हामीकहाँ स्वास्थ्य क्षेत्रमा धेरै नै काम गर्नुपर्ने छ । स्वास्थ्य क्षेत्रलाई सहज, सरल, सुलभ र व्यापक बनाउन जरुरी छ । यो पेशालाई सेवा कम व्यवसाय धेरै भइरहेको पेशाका रुपमा टिप्पणी पनि गर्ने गरेको सुनिन्छ । केही हदसम्म यो पनि सत्य हो । सेवामूलक क्षेत्र भएर पनि पछिल्ला समयमा यो क्षेत्रमा व्यवसाय धेरै नै देखिएको छ । व्यवसायका रुपमा फस्टाएको क्षेत्रलाई गुनासोरहित बनाउन जरुरी देखिन्छ । विशिष्टिकृत सेवाप्रदान गर्ने र त्यसलाई विस्तार गर्नेतर्फ राज्यका सञ्चालकहरुले ध्यान दिनुपर्ने छ । निजी क्षेत्रबाट भइरहेका प्रयास र पहलमा हौसला दिने, सुधारका लागि मौका दिने, प्रोत्साहन गर्नेभन्दा पनि जसरी हुन्छ सताउने भन्ने सोंच छ । यसलाई बदल्नुपर्ने छ ।

अनेक प्रकारका जटिल रोगहरु पनि देखिने गरेको अवस्था छ । अहिलेसम्म तन्दुरुस्त रहेको मानिस कतिबेला कहाँ के हुने हो कुनै ठेगान नहुने जोखिम छ । हाम्रा रहनसहन, खानपान र आनीबानीका कारणले पनि यो भइरहेको लाग्छ । नसर्ने रोगहरुका कारणले मानिसको अकालमा ज्यान जाने अवस्था बढिरहेको छ । यसमा पनि महिलाहरुमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर र अन्य जटिल रोगहरु देखिने गरेका छन् ।
बेलाबेलामा स्वास्थ्य चेकजाँच गर्ने र सावधानी अपाउने हो भने रोग लाग्नुअगावै नै सचेत बन्न सकिन्छ । महिलाको स्वास्थ्य संवेदनशीलता यसैमा पनि जोडिएर आउँछ । घरको काम, कार्यालयको कामबाट केहीक्षण फुसर्द निकालेर आफ्नो स्वास्थ्यलाई हेक्का राख्न आग्रह गर्दछु । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । अहिलेको यो व्यस्त समयमा यत्ति कुरामात्रै बुझे पनि काफी हुन्छ ।

स्वास्थ्य सेवाको व्यवसाय यसैपनि जोखिमपूर्ण र संवेदनशील पेशा हो । व्यवसायप्रति सचेत र गम्भीर हुन जरुरी छ । जो केही बिरामीले डाक्टरको सेवा लिनभन्दा पहिला फार्मेसी, औषधी पसल, औषधी लिन आउने हुँदा सामान्य रोगको बारेमा पनि उचित र सही सल्लाह दिन जरुरी हुन्छ । औषधीको सेवन गर्ने तरिका सही रुपमा बताउन सकिएन र सही औषधी दिन सकिएन भने त्यसले झन जोखिम बढाउँछ । यसर्थ हामी यसमा सचेत छौं, संवेदनशील छौं र सजग पनि छौं । स्वास्थ्य सेवा प्रवाहमा पाउने आशिष र स्याबासीले मनै खुशी हुने सम्भावना छ ।

स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने केही विषय

सबैभन्दा पहिला त असल स्वास्थ्यकर्मी हुन स्वयं व्यक्ति स्वस्थ्य हुन जरुरी छ । सञ्चालक पनि भैसकेपछि डाक्टरहरुको पनि मन जित्न पर्ने र बिरामीहरुको सेवामा कमि आउन दिनुहँुदैन । आफ्नो पेशाप्रति मन लगाउनु जरुरी छ । कुनै पनि व्यक्ति मानसिक, शारिरीक, रोगको पीडामा समस्या परेर आफ्नो स्वास्थ्यको उपचारको लागी आउनुभएको हुन्छ । राम्रो उपचारको लागी आफ्नो जीवन स्वास्थ्यकर्मीको हातमा सुम्पिनुहुन्छ भने आफैँ बुझ्नुहुन्छ कति संवेदनशिल पेशामा हामी छाँै भनेर ।

बिरामीहरुको समस्याहरुलाई राम्रोसँग सुन्ने, प्रेमपूर्वक व्यववहार गर्ने माया, सम्मानजनक व्यवहार गरियो भने स्वास्थ्यकर्मीप्रतिको बिश्वास र सम्मान अझै बढेर जान्छ भन्ने लाग्छ । यसो गर्दा बिरामीको पनि खास समस्या पहिचान गर्न सजिलो हुन्छ । हतारमा बेच्न पायौँ भनेर जे पायो त्यही औषधी सेवाग्रहीलाई दिनु हुँदैन यो विषयमा ध्यान दिन जरुरी छ । अहिले फार्मेसी सेवा, डाक्टरबाट स्वास्थ्या परिक्षण सुबिधा, ड्रेसिङ्ग, इसिजि, संगिनी सुई, टीटी भ्याक्सिीन, प्रयोगशालाका काममा दैनिक खटिने गरेकाले पनि यो क्षेत्रका संवेदनशिलता र जोखिमलाई बुझ्ने मौका पाएकी छु ।

कोभिड महामारीमा झनै खट्नुपर्ने अवस्था
कोभिडको कहर अहिले कम भएको छ तर, पूरा हटेको छैन । संक्रमण हुने क्रम अहिले पनि छ । सुरुको कहालीलाग्दो अवस्थामा हामीले हेमा फार्मेसीलाई निरन्तर नै सञ्चालन ग¥यौं । कोही न कोही विरामीलाई सेवा दिन पाउनु र स्वास्थ सावधानीका सुझाव दिन पाउनु भनेको आशिषको कुरा हो भन्ने ठान्छु । स्वास्थ्य बिपत्तिका बेलामा सीप भएका, ज्ञान भएका जोसुकैले पनि आफुले सकेको सेवा दिनुपर्छ भन्ने मलाई लाग्यो र त्यहीँ गरेँ ।

महिलाहरुमा स्वास्थ्य सचेतनाको खाँचो
महिलाहरु जति नै शैक्षिक डिग्री हासिल गरेपनि आप्mनो स्वास्थ्यप्रति जति सचेत हुनुपर्ने हो त्यो पाइँदैन । धेरैमा यो अति नै न्युन छ । हामीकहाँ आउनेमध्ये धेरैलाई मैले स्वास्थ्य संवेदनशिलताका बारेमा जानकारी गराउने गरकी पनि छु । महिलाहरुको शरीर प्रकृतिले नै अलि फरक खालको बनाएको छ । विभिन्न चरणहरु छन् । उमेरअनुसार फरक किसिमका स्वास्थ्य समस्याहरु महिलाहरु आउँछन् । महिलाहरुमा जटिल समस्या भए मात्रै चिकित्सककोमा जाने चलन छ यस्तै देख्दै आएको पनि छु ।

स्वास्थ्य चेकजाँचका विषयलाई समय समयामा आफैँले फुर्सद निकालेर गर्न जरुरी छ । सकिन्छ आफ्नो जन्मदिनकै अवसर पारेर भएपनि बर्षको एक पटक आफ्नो स्वास्थ्य परिक्षण गर्न आवश्यक छ । स्वास्थ्य सचेतनाका कार्यक्रमहरु पनि यसैमा केन्द्रित गराउन जरुरी छ । (स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता धनु श्रेष्ठसँग पत्रकार अस्मिना पाण्डेले गरेको कुराकानीमा आधारित सामग्री)