हिन्दू परम्परामा नेपाली मौलिक विशेषताको चाड ‘बडादशैँ’

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
954 shares

घनश्याम कोइराला
दशैँ आयो, दशैँ लाग्यो । दशैँ नेपालीहरूको निकै ठूलो चाड हो । परम्परादेखि नै यसलाई नेपाली समाजले निकै ठूलो महत्व दिँदै आएको देखिन्छ । टाढा टाढा रहेका जेष्ठ श्रेष्ठ जनलाई भेटेर उहाँहरूबाट देवीको प्रसादस्वरूप टीका–जमरा थाप्ने र आशीष लिने यस चाडलाई निकै रमाइलो गरी मनाउने गरिन्छ । योे चाड धार्मिक, आध्यात्मिक र सांस्कृतिक दृष्टिले पनि साह्रै महत्वको चाड हो । यसलाई हाम्रो तराई–मधेसतिर दसहरा, विजया दशमी भन्ने गरिन्छ । यसले दिने अनेकौँ शिक्षा, ज्ञान र प्रेरणाले दशैँलाई महत्वपूर्ण बनाएको हो ।

हाम्रो चलन चल्तीमा दशैँ असोज शुक्ल पक्षको प्रतिपदादेखि प्रारम्भ हुन्छ । यसमा घटस्थापना गरी जमरा राखी नवदुर्गा स्थापना गरी यसको सुरुआत गरिन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीका नौ दिनलाई नवदुर्गा, नवरात्रि वा नवरात्र, नवरथा आदि भनिन्छ । यी नवदुर्गा यी हुन् ः
प्रथमं शैलपुत्री च द्वितीयं व्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् । पञ्चमं स्कन्दमाते तु षष्ठं कात्यायिनीति च । सप्तमं कालरात्रीति महागौरीति चाष्टकम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता । (पहिलो शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैठौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी, नवौँ सिद्धिदात्री हुन् । यिनै नवदुर्गाको नामले प्रसिद्ध छन् ।)

साह्रै ध्यान दिनुपर्ने कुरा के हो भने यी नामहरू देवीका नाम मात्र होइनन्, यी जीवनमा हामी सबैका लागि काम लाग्ने गुणविशेषता पनि हुन्, अर्थात् यी नाम फरक फरक गुणयुक्त छन् । यी नामले मानिसको जीवनमा हुने नौ प्रकारका भावरसहरूको प्रतिनिधित्व गर्दछन् । धार्मिक समुदायका हिसाबले यो पर्व हिन्दूहरूले मनाइन्छ । त्यसैले यसलाई हिन्दूहरूको महान् चाड पनि भनिएको पाइन्छ । तर, संसारका सबै हिन्दूहरूले दशैँलाई बुझ्ने र मनाउने विषयमा भिन्नता छ ।

सबै हिन्दूहरूले नवदुर्गा स्थापना गर्ने गर्दछन्, तर सबैले जमरा राख्दैनन् । देवीको प्रसाद सबैले लगाउँछन्, तर सबैले निधारभरि अक्षता लगाउँदैनन् । मन्दिरका पुजारी–पण्डितको हातबाट टीका लगउने र आशीर्वाद लिने अन्यत्र पनि हुन्छ, तर परिवारका ठूलाबडाको हातबाट टिका थाप्ने र आशीर्वाद लिने काम नेपालीले मात्र गर्दछन् । यद्यपि, विभिन्न कारणले सबै नेपालीले गर्दैनन् । मनाउने विषयमा भिन्नता हुनु भनेको नेपाली मौलिकता हो । यसलाई हिन्दूहरूको भनेर पुग्दैन, दशैँ नेपाली विशेषताको पर्व हो, जसलाई हामीहरू दस दिनसम्म मनाउने गर्दछौँ ।

शास्त्रका जानकारहरूका अनुसार प्रच्छन्न र अप्रच्छन्न (गुप्त र खुला) गरी नवरात्र चारवटा हुन्छन् । साउन र पुसका नवरात्र गुप्त मानिन्छन् भने चैत र शरद(असोज) को खुला मानिन्छ । यी सबैमध्ये यो शारदीय(शरद ऋतुको) नवरात्रलाई हामी दशैँ–बडादशैँ भनेर मनाउँछौँ । चैतमा ‘चैतेदशैँ’ मनाइए पनि अन्यको विषयमा खासै थाहा हुँदैन । यी ४ वटामध्ये ठूलो भएको हुनाले, नौ दिनसम्म मनाइने भएको हुनाले, कृषि प्रधान क्षेत्र भएकोले कृषिजन्य विशेषता हुने भएको आदि कारणले यो असोजको शुक्ल पक्षको दशैँलाई ‘बडादशैँ’ (ठूलो दसैँ) भनिएको हो ।

दशैँ सुरु भएपछि गाउँभरिका मानिसहरू मिलेर घरनजिकको बाटो सफा गर्ने चलन हो । ठाउँ ठाउँमा लिँगेपिङ, चर्खेपिङ बनाउने चलन हो । कोट र नजिकका देवीका मन्दिरहरूको सरसफाइ, लिपपोत गर्ने र सामुहिक पूजा स्थलका रूपमा नवदुर्गाको पूजा गर्ने व्यवस्था गरिने हो । आफ्ना घरहरू पनि सेतो, रातो र कालो माटोले मिलाएर लिप्ने चलन हो । नेपाली समाज मांसाहारीको संख्या बढी भएको समाज हो । यस कारण खसी, बोका, च्याङ्ग्रा, राँगा, हाँस, कुखुरा आदिको जोहो गर्ने चलन हो । सकेसम्म नयाँ लुगा लाउने चलन हो ।

सानो छँदा निकै भट्ट्याइन्थ्यो, ‘दशैँ आयो, खाउँला पिउँला….!’ आदि । अहिले पनि दशैँमा मात्र मिठोचोखो खाने अर्थात् कहिलेकाहीँ मात्र मिठोचोखो खानेहरूको संख्या ठूलो छ । यसका लागि मानिसहरूलाई दशैँ लाग्दथ्यो र अहिले पनि लाग्छ । दसैँ लाग्नु भनेको रमाइलो हो, रङ्गीचङ्गी हो, साथसाथै रमाइलो र रङ्गीचङ्गीमा लाग्ने ऋण पनि हो । यी सबै मिलाएर दशैँ लाग्ने हो । दसैँ सबैका लागि उत्तिकै सहज वा असहज हुँदैन । कसैका लागि सहजै सहज, कसैका लागि असहज र कसैका लागि मिश्रित हुन्छ । अरु पर्व र नियमित जीवन पनि त्यस्तै हो । यसरी हेर्दा मानिसका निजी पारिवारिक जीवनकै झल्को दशैँमा पाइने हो, फरक खालि मात्राको हो । तर पनि परम्परा र संस्कृतिको खुसी दशैँको विशेषता हो । पाखण्ड र अन्धविश्वासले संस्कृति धमिलिन्छ । यथार्थता र सत्यबोधले संस्कृति समुन्नत हुँदै जान्छ । यो क्रम चलिरहेको छ, चलिरहन्छ । विशेषतः यो क्रम चाडपर्वमा बढी मुखरित हुन्छ । सबैभन्दा बढी अन्धविश्वास चाडपर्वमा देखिन्छ र सबैभन्दा सत्यबोधको अवसर पनि चाडपर्व नै हो ।

अहिले धेरैतिर बाटो पुगेको छ । समाज बाक्लिएको । धेरै गाउँ साना बजार बनेका छन् । गाउँमा चलेको विद्यालय, स्वास्थ संस्था, बैंकलगायतका वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू, गैरसरकारी विकासे अड्डाहरू आदि कारणले पनि गाउँ बाक्लिएको हो । गाउँमा त्यही गाउँका मात्र मानिस बस्दैनन्, अन्यत्रका मानिस पनि गाउँमा आएर बस्ने गर्दछन् । यसरी बाहिरी मानिसहरू थपिएको यथार्थसँगै शिक्षा तथा रोजगारीका लागि मानिसहरू गाउँबाट पलायन हुनुपरेको पीडादायी यथार्थ पनि छ । अब यसोभन्दा उपयुक्त होला–गाउँको संख्या घटेको छ र भएका गाउँ बाक्लिएर नगर उन्मुख भइरहेका छन् । सहर सानै भए पनि यस्ता ठाउँमा सहरी प्रभाव बढिरहेको छ ।

सहरले सितिमिति छिमेकी चिन्दैन । सहरले सितिमिति सार्वजनिक हितका लागि मिलेर काम गर्न जान्दैन । सहरले ऐँचोपैँचो, सरसापटी, अर्मपर्म जान्दैन । मिलेर घर छाउने, दाइँ हालिदिने गर्न जान्दैन । सहर त सबै किनबेच जान्दछ । मिलेर डहरबाटो सफाइ गर्ने, बाबियो काटेर पिङ बाट्ने काम पनि सहरमा खासै हुँदैन । यी कारणहरूले गर्दा सहरले मौलिक चाडबाड विकासे ढंगले मनाउँछ । त्यसैले दशैँको नेपाली मौलिकता कमजोर हुँदैछ । लाउने, खाने, रङ्ग—रमाइलो गर्ने, तर यसका अन्तर्वस्तुमा नछिर्ने हुँदैछ ।

नेपालीहरूको लागि दशैँ यस्तो पर्व हो जसमा सकेसम्मका आफन्त भेटिन्छ । हजुरबा–हजुरआमा, बाबा–आमा, सासू–ससुरा, दाइ–भाउजू, मामा–माइजू आदि जेठो नाताका व्यक्तिहरूबाट टीका–जमरा लगाएर आशीर्वाद लिने यो पर्व महत्वपूर्ण चाड हो । सकेसम्म यो पर्व मान्नबाट नछुटियोस् भन्ने सबैको मनसाय रहेको हुन्छ ।

यस पर्वका अनेकौँ इतिहास र आयाम छन् । यो पर्व पारम्परिक हो, सांस्कृतिक हो, धार्मिक हो, पारिवारिक हो । अहिले विस्तारै दशैँमा त्यो आत्मीयता घट्दो छ । त्यो मानसम्मान र मान्यता घट्दो छ । त्यो दायित्वबोध र विश्वास घट्दो छ । यो घट्ने विषयलाई कसै कसैले आधुनिकता आदि भन्दछन्, विकास मान्दछन् । तर कुनै आधुनिकताले, विकासले संस्कृतिलाई कमजोर पार्न नहुने हो । संस्कृतिले उच्च विकल्प स्थापित गर्नुृपर्ने हो । यसो नहुनुलाई हामीले आधुनिकता र विकास भन्यौ भने हामीले आधुनिकता र विकासबारे बुझ्न बाँकी रहेछ, संस्कृतिको महत्व नबुझिएको रहेछ, संस्कृति निर्माण र विकासबारे पुस्ता साह्रै कमजोर रहेछ भनेर बुझ्नपर्छ ।

नेपाली संस्कृतिको सार नबुझी दशैँ बुझिन्न, दशैँ नबुझी संस्कृतिको सार बुझिन्न । ‘…संस्कृति छन् विशाल…’ भनेर राष्ट्रगान गाउनेहरू सबैले नेपाली संस्कृतिको वैशिष्ट्यको रूपमा मनाइँदै आएको दशैँको सांस्कृतिक सार ठम्याउनै पर्छ । नेपाली संस्कृतिका विशाल पक्ष के के हुन् ? यसको जवाफ भेट्टाउन कम्तीमा दशैँ बुझ्नैपर्छ । यी सबै कारणले हामीले राम–रावण युद्धका र जय–पराजयका सार्थक र सकारात्मक पक्ष छैनन् भन्ने होइन, तर राम–रावण युद्धका र जय–पराजयका सन्दर्भमा मात्र दशैँलाई सीमिति पार्नु हुँदैन ।

यो युद्धसँग जोडिएको छ, शान्ति र प्रतिबद्धतासँग जोडिएको छ । यो त्याग र समर्पणसँग जोडिएको छ । यो कृषिसँग जोडिएको छ । अहिले त यसको जोडाइ देशको अर्थतन्त्रसँग छ । सबैभन्दा बढी व्यापार हुने, यातायातका साधनको सदुपयोग हुने हुनाले यो अर्थतन्त्रको महत्वपूर्ण पक्षका रूपमा रहेको छ ।

यी सबै त छन् नै, यसको बारेमा गरिने शब्दको प्रयोगमा केही सुधार गर्न आवश्यक छ । सबैलाई थाहा छ, असोज शुक्ल प्रतिपदाको दिन घटस्थापनादेखि दशैँ सुरु हुन्छ । कोट, देवीमन्दिर, घरका पूजा कोठामा कलश (घट÷घडा) स्थापना गरी त्यसैमा नौ दिनसम्म नौवटी देवीहरूको क्रमशः पूजा गरिन्छ । ती नौवटी देवीलाई नवदुर्गा र यी दिनलाई नवरथा वा नवरात्र (त्री) भनिन्छ । यस अवसरमा मातृशक्तिका कथा, देवीका गौरवगान, स्तुति आदि गरिन्छ । यो घटको स्थापना, नौवटी देवीको पूजाको गहकिलो दर्शन छ ।

वास्तवमा दशैँ हिन्दू धार्मिक समुदायले मान्ने भएकोले ‘हिन्दूहरूको’ भनिएको भए तापनि यो नेपाली विशेषताको चाड हो । सबैभन्दा धेरै हिन्दू त भारतमा छन्, तर नेपालमा जसरी भारतमा दशैँ मनाइँदैन । पछिल्लो समय हाम्रो दशैँमा पनि भारतीय प्रभाव परेको छ । रामले रावणलाई मारेको र लंका विजय गरेको भनिएको दशमीको दिनलाई ‘विजया दशमी’ भनिएको हो । तर हामीले त त्यसभन्दा नौ दिन अघिदेखि नै नवदुर्गा स्थापना गरी दसैँ सुरु गरेका हुन्छौँ । अझ कहीँकहीँ त असोज शुक्ल पूर्णिमासम्म पनि टीका–जमरा थापी आशीर्वाद लिने प्रचलन छ ।

त्यसैले यो पर्वलाई ‘विजया दशमी’ भनेर एक दिनलाई मात्र सम्बोधन गरेर हुँदैन, यसलाई ‘बडादशैँ’ भनेर सम्बोधन गर्नु सही हुन्छ । यसै पनि यतिबेलाका तिथिहरूलाई महासप्तमी, महाअष्टमी, महानवमी भनिएको हुन्छ र ‘महा’ भनेको ठूलो हो । ठूलोलाई ‘बडा’ भनिन्छ नै । १० दिनसम्म मनाइने सबैभन्दा ठूलो र महत्वपूर्ण पर्वलाई एक दिनको जस्तो गरी ‘विजया दशमी’ भनेर हुँदैन, ‘बडादशैँ’ नै भन्नुपर्छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)